बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२ लाख ५० हजार घुससहित नापी कार्यालयका प्रमुख अख्तियारको नियन्त्रणमा

बुधबार, १९ वैशाख २०७५, २० : १४
बुधबार, १९ वैशाख २०७५

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय साँखुका कार्यालय प्रमुख भागवत साहलाई २ लाख ५० हजार घुससहित पक्राउ गरेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. २ नयाँपाटीमा ३६ रोपनी जग्गा कित्ताकाट गरिदिने भन्दै कार्यालय प्रमुख साहले प्लटिङ व्यवसायी सुजन पौडेलसँग उक्त रकम घुस लिएको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले रातोपाटीलाई जानकारी दिए । अख्तियारले बुधबार दिँउसो साढे २ बजे कार्यालयबाट घुस रकम सहित प्रमुख साह र  घुस लिन सहयोग गर्ने कार्यालय सहयोगी खेमराज भण्डारीलाई पनि पक्राउ गरेको छ ।

सप्तरी बोधेलाइन नगरपालिका वडा नं.१ घर भई काठमाडौंको शान्तिनगर १० मा बस्ने साहले शान्तिनगरस्थित मिठाई पसलमा सेवाग्राहीलाई बोलाएर घुस रकमको मोलमोलाई गरेका थिए । शुरुमा ३ लाख घुस मागेका उनले २ लाख ५० हजारमा सहमति जनाएका थिए । उनले कार्यालय सहयोगीमार्फत घुस लिएर कार्यालयको स्टोरमा पैसा राख्न लगाएको प्रवक्ता मैनालीले जानकारी दिए । उनले यसअघि पनि कार्यालय सहयोगी मार्फत घुस लिन लगाएर स्टोरमा गएर लिने गरेको अख्तियारको भनाई छ । पक्राउ परेका दुबै जनालाई अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।  

 यसैबीच जिल्ला समन्वय समिति सप्तरीका नायब सुब्बा युगेश्वर यादव १ लाख ३५ हजार घुस सहित पक्राउ परेका छन् । माहुली खोला पुल निर्माणको फरफारक भएपछि धरौटी फुकुवाको चेक निकाशा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग कुल धरौटी रकमको पाँच प्रतिशत रकम घुसबापत माग गरेको सुचनाका आधारमा इटहरी कार्यालयबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको अख्तियारले जनाएको छ । उनीमाथि पनि अनुसन्धान भइरहेको छ ।
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप