बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसिया रोजगारीमा लुटधन्दा : भीएलएन नेपाल र वान स्टप सेन्टरले यसरी असुल्दै छ रकम

शुक्रबार, २१ वैशाख २०७५, १२ : ४०
शुक्रबार, २१ वैशाख २०७५

स्पेसल इन्भेस्टिगेटिभ टिम

अहिले कुनै कामदारले मलेसिया जान चाह्यो भने ऊ आफै मलेसियाको एम्बेसी जान पाउँदैन । किनभने यहाँ मलेसिया जाने कामदारहरूलाई लुट्नका लागि विभिन्न स्थानमा बल्छी थापिएको छ ।

बल्छी पनि यस्तो कि शिकार पर्ने ग्यारेन्टी भएको । त्यस्तै बल्छीहरू हुन्, लैनचौरको मेट्रो पार्कमा रहेको भीएलएन नेपाल र वान स्टप सेन्टर । पहिले भीएलएन नेपालका नाममा प्रतिव्यक्ति ३ हजार २ सय लिँदै आएको भीएलएन नेपालले २०७२ सालबाट अर्को एक संस्था पनि खडा गरी प्रतिव्यक्ति ६ हजार रुपियाँ लिन थालेको थियो । 

अझ २०७४ सालबाट त त्यसमा पनि मूल्य अभिवृद्धि कर लागू गरेर प्रतिव्यक्ति ६ हजार ७ सय ८० रुपियाँ लिन थालिएको छ । मलेसियाको दूतावासलाई भिसा प्रोसेसिङमा सघाउ गर्नेगरी भीएलएन नेपाल नामक निजी कम्पनी दर्ता गरी अहिले त्यसै संस्थामा वान स्टप सेन्टर थप गरेर यसरी रकम लिन थालिएको छ । 

मले भाषामा भिजा लुअर नेगेरी भनेको विदेशी भिसा भन्ने हो । त्यही मलेसियन भाषाको भिजा लुअर नेगेरीलाई छोटकरीमा भीएलएन भनिएको हो ।

मलेसिया सरकारले विदेशबाट आउने व्यक्तिहरूलाई यो पद्धति लागू गरिएको थियो । तर अहिले भीएलएन सिस्टम हटिसकेको छ । भीएलएन सिस्टम हटिसके पनि नेपालमा भने अहिले पनि भीएलएन नेपालकै नाममा बिल काटिन्छ र प्रतिव्यक्ति ६ हजार रुपियाँ असुल गरिन्छ । 

भिसा प्रोसेसिङ शुल्क त भइहाल्यो, कामदारहरूले भिसाका लागि अर्को ७ सय रुपियाँ तिर्नुपर्छ । जुन रकम चाहिँ नेपालस्थित मलेसियन राजदूतावासलाई बुझाउने शुल्क हो । 

संस्था दुई, मालिक एक

भीएलएन नेपाल र वान स्टप सेन्टर फरकफरक संस्था भए पनि त्यसको मालिक भने एउटै व्यक्ति हुन् । दुवै संस्थाको कार्यालय पनि एकै स्थानमा छ र एकै स्थानबाट यी दुई काम भइरहेको छ । यी दुवै संस्थाका मालिक हुन्, रामप्रसाद श्रेष्ठ । म्यानपावर व्यवसायदेखि ट्राभल तथा टुरिजममा पनि हात हालेका श्रेष्ठको पाँचवटा कम्पनी छन् । उनी वाइड स्पेस म्यानपावर, पीस एन्ड ह्यावेन ट्राभल्स, हार्भेस्ट मुन ट्राभल्स र भीएलएन नेपाल तथा वान स्टप सेन्टरका सञ्चालक हुन् । हालसालै उनी ट्राभल तथा टुर व्यवसायीहरूको छाता सङ्गठन नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्टस् नाट्टामा कोषाध्यक्षसमेत बनेका छन् । 

दुई संस्था, दुई काम तर एउटै बिल

भीएलएन नेपालको काम विदेशी कामदार वा विदेशी पर्यटकलाई भिासाको प्रोसेसिङ गर्ने हो । त्यसैगरी वान स्टप सेन्टरको काम पनि एकै स्थानमा पासपोर्ट सङ्कलन गर्नेदेखि भिसा लगाएर पासपोर्ट दिने काम हो । यी दुई काम एउटै प्रकृतिको एकै काम भए पनि दुईवटा संस्था दर्ता गरेर दुवै संस्थाको नाममा यतिबेला पैसा असुलिँदै छ । यद्यपि बिल भने अहिले पनि एउटै संस्था मलेसिया भीएलन नेपाल प्राइभेट लिमिटेडको नाममा जारी गरिँदै छ । अहिले मलेसिया भीएलएन नेपालले भीएलएन शुल्क भनेर ३ हजार २ सय रुपियाँ र वान स्टप सेन्टर अर्थात् ओएससी शुल्क भनेर २ हजार ८ सय रुपियाँ लिने गरेको छ । यी दुई सर्भिस दिएबापत त्यो सर्भिसमा पनि भ्याट लगाएर ६ हजार ७ सय ८० रुपियाँ लिने गरिएको छ । 

हेर्नुहोस् मलेसिया भीएलएन नेपालले जारी गरेको बिल । 

भीएलएन नेपाल र वान स्टप सेन्टरबारे बुझ्न यसका सञ्चालक रामप्रसाद श्रेठलाई सम्पर्क गर्दा उनले यो मलेसिया सरकारको कार्यक्रम भएकाले यसबारे धेरै बोल्न नमिल्ने बताए । मलेसिया सरकारले आफूलाई नेपालको एजेन्टका रूपमा राखेको भन्दै धेरै बुझ्न परे मलेसियन राजदूतावासमै सम्पर्क गर्न आग्रह गरे । यी दुवै काम मलेसिया सरकारको काम भएको र त्यसमा आफूले सहजकर्ताको काम मात्रै गरेको श्रेष्ठको दाबी छ । वार्षिक करिब १ लाखको हाराहारीमा नेपाली कामदारहरू मलेसिया जाने गरेका छन् । जसबाट एउटै व्यक्तिको ६ हजारका दरमा यी दुई कम्पनीले वार्षिक करिब ६० करोड रुपियाँ सङ्कलन गर्ने गरेको छ । तर यो पैसा कहाँ जान्छ, कसरी जान्छ त्यसको लेखाजोखा छैन र यो लुट धन्दामा सरकारले मौन सहमति र स्वीकृति दिएको छ । 

वैदेशिक रोजगार व्यवसायी भने भीएलएन नेपाल र वान स्टप सेन्टरले अवैधरूपमा रकम सङ्कलन गरिरहेको दाबी गर्छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङ यो ठगी गर्ने काइदा मात्रै हो भन्छन् । उनी भन्छन्, ‘मलेसिया सरकारको सम्पत्ति वा काम भए त मलेसिया दूतावासभित्रै हुन्थ्यो । तर विदेशका प्राइभेट कम्पनीसँग सम्झौता गर्ने र नाफामूलक कम्पनी चलाउने अनि मलेसिया सरकारको सम्पत्ति र काम हो भन्ने ? यो त केवल लुट्ने र झुक्याउने काइदा मात्रै हो ।’

भीएलएन नेपाल र यसको काम मलेसिया इमिग्रेसन र सरकारको वेभसाइटमा कहीँ पनि उल्लेख भएको भेटिँदैन । भीएलएन र वान स्टप सेन्टरको काम पनि एउटै प्रकृतिको छ । तर दुईवटा संस्था बनाएर दुवै संस्थाका नाममा रकम लुट्ने काम भइरहेको छ । यसमा मलेसियन कम्पनी, मलेसियाको राजदूतावास र नेपाल सरकारका केही जिम्मेवार निकायहरूको पनि संलग्नता देखिएको छ । 

मलेसिया सरकार भन्छ, प्रोसेसिङ शुल्क रोजगारदाता कम्पनीले तिर्ने हो

मलेसिया सरकारले सन् २०१५ को जुनमा वान स्टप सेन्टर सञ्चालनमा ल्याउने भन्दै गर्दा त्यसबापत लाग्ने शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने भन्ने उल्लेख गरेको थियो । तर मलेसियामै रहेका विभिन्न कम्पनीहरूले त्यसको विरोध गरेपछि त्यसको शुल्क कसले तिर्ने भन्ने स्पष्ट उल्लेख गरेको छैन । मलेसियाबाटै प्रकाशित समाचारहरूमा पनि यसबारे स्पष्ट उल्लेख गरेको छैन । 

विपक्षी दलको विरोध कायमै

मलेसिया सरकारले देशको सुरक्षा र डाटासँग जोडिएको विषयमा निजी क्षेत्रसँग सहकार्य गर्न थालेपछि मलेसियाको संसद्मै यसबारे व्यापक विरोध सुरु भयो । मलेसियाको विपक्षी दल डीएपीका सांसद तथा विपक्षी दलका नेता स्टेभेन सिमले पटक पटक मलेसिया सरकारले इमिग्रेसनका चलखेल र भ्रष्टाचार गरेको आरोप लगाएका छन् । सांसद् सिमले सन् २०१५ देखि नै मलेसियाको इमिग्रेसनमा निजी कम्पनीलाई भाडामा लिएर भीएलएन, ओएससी र आईएससी लगाएकामा विरोध गर्दै देशको सुरक्षासँग जोडिएको विषय निजी क्षेत्रको जिम्मामा दिनु नहुने बताएका थिए । साथै उनले इमिग्रेसनमा निजी क्षेत्र ल्याएर गृहमन्त्रीले अर्बाैंको भ्रष्टाचार गरेको आरोप लगाइएका थिए । 

http://dappg.org/media-statement-by-steven-sim-mp-of-bukit-mertajam/

https://stevensim.com/2017/08/09/al-jazeera-expose-on-immigration-four-questions-for-home-minister/
 

यसरी यो वा त्यो बाहाना बनाएर अहिले भीएलएन नेपाल र वान स्टप सेन्टरका नाममा कामदारहरूबाट थप रकम असुल भइरहेको छ । मलेसिया सरकारले कामदार ल्याउने कम्पनीले नै यी दुई कामको पैसा असुल गर्ने भने पनि नेपालमा भने नेपाली कामदारहरूबाटै यी रकम सङ्कलन भइरहेको छ । 

हेर्नुहोस् रातोपाटीमा प्रकाशित समाचार

बायोमेडिकल भित्र्याउने पदाधिकारी मालामाल, अरूको बेहाल !

वैदेशिक रोजगारीको अर्को पाटो : हुण्डीमार्फत् वार्षिक ३५ करोड रुपैयाँ मलेसिया जान्छ

मलेसिया भिसा ‘धन्दा’ : सिन्डिकेटदेखि हुण्डीसम्म

यसरी लुटिन्छन् मलेसिया जाने नेपाली कामदार

मलेसिया रोजगारीमा लुटधन्दा : नेपालको प्राइभेट कम्पनीलाई मलेसियन इमिग्रेसनको अधिकार !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप