बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

समृद्धि जनताका लागि दिइएको अर्को नशा होः सीके लाल

सोमबार, २४ वैशाख २०७५, १३ : ३९
सोमबार, २४ वैशाख २०७५

भारतको अलिगढ मुस्लिम विश्वविद्यालयबाट इन्जिनियरिङ गरेका स्तम्भकार तथा टिप्पणीकार सिके लालले आफ्नो औपचारिक पढाइको क्षेत्रलाई भन्दा राजनीति विज्ञानको क्षेत्रलाई आफ्नो कर्मथलो बनाए । ०४६ यताबाट उनी नियमित स्तम्भ लेख्ने तथा राजनीतिक टिप्पणी गर्ने काममा लागिरहेका छन् । यसैबीच उनका ह्युमन राइट्स गभर्नेन्स एन्ड डेमोक्रेसी इन साउथ एसिया, नेपालीय हुनलाई र मिथिला मन्थन प्रकाशित भइसकेका छन् । उनै सिके लालसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको विषयमा रहेर रातोपाटीका लागि नरेश ज्ञवालीले गरेको कुराकानी ।

भारतीय नाकाबन्दीविरुद्ध अर्थात भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी विरुद्ध उभिएका भनिएका केपी शर्मा ओली अन्ततः तिनै मोदीसँग कुम मिलाएर, कदमताल गर्दै हिँडेको देख्न पाइँदैछ । यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?

हामीले उनको राष्ट्रवादी छविको मूल्याङ्कन गर्दा १६ बुँदे षडयन्त्रबाट हेर्नुपर्ने हुन्छ । किनभने त्यति बेला खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री नरहे पनि प्रमुख भूमिकामा थिए । त्यो त्यही समय थियो, जतिबेला पुष्पकमल दाहालले अब हाम्रो (ओलीसँग) मन मिली सक्यो र अब पार्टी एकता टाढा छैन भनेका थिए । दाहालको त्यो मन मिल्ने कुरा देशमा सांस्कृतिक राष्ट्रवादको अवश्यकतातर्फको स्पष्ट सङ्केत थियो । सांस्कृतिक राष्ट्रवादका अवयवहरूमा पहिलो भाषा, दोस्रो धर्म, तेस्रो ‘राष्ट्रवादी अर्थतन्त्र’ समाहित हुन्छ । 

सांस्कृतिक राष्ट्रवाद भने राजनीतिक लाभ हानिको दृष्टिकोणले ओलीले अङ्गीकार गरेका हुन् । उनले यसको राजनीतिक लाभ धेरै छ भन्ने भेउ पाइसकेका थिए । संयोग के भयो भने त्यति बेला नै सीमामा ‘नाकाकसी’ सुरु भयो । राजनीतिक लाभ हानिमा उनी बाठो भएको हुनाले उनले भारत विरोधी भावनालाई भजाएमा भयङ्कर राजनीतिक लाभ हुने देखे । तर उनले भित्रभित्रै भारतसँग– तिमीहरू मधेसको मामिलामा नबोल, तिमीहरूको कुरा हामीले मान्नु त छँदैछ पनि भनिरहे । त्यसैको परिणाम स्वरूप मधेस मुद्दाको सम्बोधन नभई टुङ्गियो । 

उनको राष्ट्रवादी छवि निर्माणमा तत्कालीन विचार निर्माताहरू, पत्रकारहरूले सत्ताको भजनमण्डलीका रूपमा काम गरेका थिए । मलाई के लाग्छ भने उनको राष्ट्रवादी छवि निर्माण भए पनि उनी कुनै राष्ट्रवादी मान्छे होइनन् । उनी व्यावहारिक राजनीतिकर्मी हुन् । उनी नाफा–घाटाको हिसाब गरेर मात्रै काम गर्छन् । अहिले आएर उनले के देखे भने राष्ट्रवादी छविबाट जति राजनीतिक लाभ लिनुपर्ने थियो, त्यो त पूरा भइसक्यो । 

यो बीचमा उनले मधेसीलाई ठाउँमा ल्याउन सके, माओवादीलाई झुकाउन सके, काँग्रेसलाई एक्ल्याउन सके र आफ्नो पार्टीभित्रका विरोधीलाई चुप लगाउन सके । भन्नुको अर्थ, राष्ट्रवादबाट जति लाभ लिनुपर्ने थियो लिइसकियो । अब के कुराबाट लाभ छ भने अन्तर्राष्ट्रिय परिस्थिति हेरेर नजिकको छिमेकी भारत जहाँ बालियो नेताका रूपमा मोदी देखा परेका छन्, उनैसँग सहमति गरेर अर्को चरणको व्यावहारिक राजनीतिको अर्थात सिद्धान्तविहीन राजनीतिको निरन्तरता कायम गर्ने । 

ओलीको कुनै राजनीतिक नैतिकता छैन । उनको कुनै राजनीतिक आस्था छैन । उनी शुद्ध व्यावहारिक राजनीति गर्छन् । त्यो भनेको सत्तामा रहन गरिने अधिकतम सबै कामहरू । म चाहिँ राधाकृष्ण मैनालीको तर्कसँग सहमत छु । उनले आफ्नो पुस्तकमा ओलीलाई– कहिले काहीँ आफ्नो आस्थामा अडिन खोजेका जस्तो नेताका रूपमा देखिए पनि उनी विशुद्ध लाभ–हानिको हिसाब गरेर अगाडि बढ्ने व्यावहारवादी राजनीतिज्ञ हुन् भनेका छन् । 

ओलीको राष्ट्रवादी छवि निर्माणमा प्रचण्डको कतिको हात देख्नु हुन्छ ? किनभने प्रचण्डले त मोदीसँग पनि आफ्नो क्यामेस्ट्री मिलेको बताएका थिए । 

जब क्रान्ति असफल हुन्छ । क्रान्तिका असफल नायकको तीनवटा परिणती हुन्छन् । पहिलो, कि त ऊ सहिद हुन्छ । दोस्रो, कि त ऊ आत्मसमपर्ण गर्छ । तेस्रो, कि उसले लाभ–हानिको हिसाब गरेर समर्थकलाई अलमल्याउने, विरोधीलाई चुप लगाउने र यथास्थितिमा आफ्नो ठाउँ जसरी भए पनि सुरक्षित गर्न चाहने हुन्छ । नेपालको इतिहास हेर्नुभयो भने नेपालको पहिलो असफल क्रान्ति २००७ सालको हो । हामीले ध्यान दिनुपर्ने कुरा के छ भने क्रान्ति कहिलै पनि अर्धसफल भयो भन्न मिल्दैन । राणाको विस्थापन र शाहको प्रतिस्थापन भनेको एक हिसाबले क्रान्तिको असफलता नै हो । 

दोस्रो असफल क्रान्ति भनेको झापा विद्रोह हो । क्रान्ति सफल नभएपछि उनीहरू सबै व्यावहारिक राजनीतिकतर्फ मोडिए । मदन भण्डारी, सीपी मैनाली र ओली त्यसैका उपज हुन् । आखिर उनीहरूले यथास्थितिको मूल प्रवाहमा आआफ्नो ढुङ्गा धार भएतिर बगाइदिए । तेस्रो असफल क्रान्ति भनेको माओवादीको हो । माओवादीको असफल क्रान्तिमा कतिपय सहिद भए, कतिपय अरबमा छन् । तर एउटा चलाख समूह आफू सुरक्षित हुनतर्फ लाग्यो । आफू सुरक्षित हुने नीतिअन्तर्गत दाहालले राजनीतिमा जो हाबी हुन्छ, त्यसैसँग मिलेर (काँग्रेस अथवा एमाले) आफूले टेकेको धर्ती सुरक्षित गर्ने रणनीति लिए । 

बाबुराम भट्टराईले के नीति लिए भने सिद्धान्त परिवर्तन गर्ने तर मूलधारमा पूरै समाहित नहुने । त्यस्तैगरी मोहन वैद्य र विप्लवले चाहिँ सिद्धान्त नीति नछोड्ने र विद्रोह पनि नगर्ने नीति लिए । यो सबै असफल क्रान्तिबाट उत्पन्न विकृतिहरू हुन् र एउटा यस्तै विकृत भँगालोका नायक पुष्पकमल दाहाल हुन् । 

प्रधानमन्त्री ओलीका दुःख के छन् भने उनलाई मन पराउनेले पनि राष्ट्रवादी भन्छन् र मन नपराउनेले पनि राष्ट्रवादी भन्छन् । राष्ट्रवाद के हो ? यसको दार्शनिक पक्षका बारेमा केही स्पष्ट पारिदिनुस न । 

व्यावहारिक ढङ्गले हेर्दा नेपाली समाज अताल्लिएको समाज थियो । माओवादी विद्रोहको व्यवस्थापनको नाममा उनीहरूलाई आत्मसमर्पण गराइयो । त्यसपछि दुईवटा मधेस विद्रोहलाई पनि आत्मसमर्पण गराइयो । तेस्रो मधेस विद्रोहकै बेलामा शासकहरूलाई के लाग्यो भने यदि नृजातीयता (इथ्नो नेस्नालिजम)लाई स्थापित गर्न सकियो भने बाँकी अल्पसङ्ख्यकहरूलाई पनि चुप लगाउन सकिन्छ । यो नृजातीयताको अवधारणाले सबै पार्टीहरूको सीमा नाघ्यो । नृजातीयताले गर्दा राजनीतिक विचारधारा, त्यसप्रतिको प्रतिबद्धता कमजोर हुँदै गयो । 

बाबुराम भट्टराईले के नीति लिए भने सिद्धान्त परिवर्तन गर्ने तर मूलधारमा पूरै समाहित नहुने । त्यस्तैगरी मोहन वैद्य र विप्लवले चाहिँ सिद्धान्त नीति नछोड्ने र विद्रोह पनि नगर्ने नीति लिए । यो सबै असफल क्रान्तिबाट उत्पन्न विकृतिहरू हुन् र एउटा यस्तै विकृत भँगालोका नायक पुष्पकमल दाहाल हुन् । 

तर नृजातीय राजनीति अथवा ‘इथ्नो नेस्नालिजम’ नै के हो भनेर हामीले त्यसको सैद्धान्तिक पाटोमा हेर्नुपर्ने हुन्छ । इतिहास हेर्नुभयो भने तपाईंले पाँच किसिमका राष्ट्रियताको प्रारूप पाउनु हुन्छ । पहिलो, ‘वेस्टेफालियन सेटेलमेन्ट’ । युरोपमा १७औँ शताब्दीको मध्यतिर एउटा लामो युद्धपछि सार्वभौमसत्ताको अवधारणा आयो । त्यसअघिसम्म सार्वभौमसत्ता भन्ने हुँदैन्थ्यो । सार्वभौमसत्ताको अवधारणाले चार कुरालाई स्थापित ग¥यो । (क) राज्यको राजनीति र धर्मको शासन बेग्लै हुन्छ । त्यसलाई मिसाएर हेर्न मिल्दैन । (ख) सार्वभौमसत्ताको स्थानीयता हुन्छ । अर्थात एउटा राजाको क्षेत्रमा अर्को राजाले हस्तक्षेप गर्न पाउँदैन । (ग) वैधानिकता जुन हो त्यो ईश्वरीय वैधानिकता हो । अर्थात शासन गर्न ललाटमा लेखेर ल्याउन पर्छ । (घ) राजा सांस्कृतिक रूपले पनि प्रमुख हुन्छ । अर्थात सांस्कृतिक रूपमा पुजारी प्रमुख नभएर राजा नै प्रमुख हुन्छ । सांस्कृतिक रूपले यी चार आधारमा जसरी राष्ट्रवादको स्थापना भयो, त्यसलाई हामीले सांस्कृतिक राष्ट्रवाद अथवा सार्वभौम राष्ट्रवाद भन्न सक्छौँ । जुन रुसमा जारको र फ्रान्समा लुई राजाहरूको राष्ट्रवाद थियो । 

दोस्रो, १८औँ शताब्दीको अन्त्यतिर फ्रान्सेली क्रान्तिले के भन्यो भने होइन, राजा यदि अन्यायी भयो भने उसँग त विद्रोह गर्नुपर्छ । राजासँग विद्रोह गर्नु राष्ट्रद्रोह होइन । राजद्रोह र राष्ट्रद्रोहलाई ‘वेस्टेफालियन सेटलमेन्ट’ले समानार्थी शब्दको रूपमा स्विकारेकोमा फ्रान्सेली क्रान्तिले त्यसलाई खारेज गरिदियो । उसले राजद्रोह बेग्लै कुरा हो भन्दै राजा अन्यायी भएमा क्रान्ति गर्ने जनताको अधिकार हो भनेर भन्यो । फ्रान्सेलीहरूले विभिन्न चार मान्यताबाट अलग्गिएमा मात्र राष्ट्रद्रोह हुन्छ भने । त्यो चारवटा मान्यता के थिए भने, (क) ‘लिबर्टे’ भने अर्थात स्वतन्त्रता । (ख) ‘इजालिटे’ भने अर्थात बराबरी । (ग) ‘फ्याटर्निते’ भने अर्थात एक्यबद्धता । (घ) ‘लैसिते’ भने अर्थात धर्म मान्नु वा नमान्नु व्यक्तिको स्वतन्त्रता हो । धर्मलाई राज्यसँग जोडेर हेर्नु हुँदैन । यी चारवटा आधारस्तम्भमा उभिएर उनीहरूले जुन राष्ट्रियताको स्थापना गरे त्यसलाई गणतान्त्रिक राष्ट्रियता भनियो । 

तेस्रो, यसको विपरीत जर्मनीमा के भयो भने ‘वाइमर क्लासिसिज्म’ र ‘जर्मन रोमान्टिसिजम’बाट ज्योहान गडफ्रिड हर्डर भन्ने विद्वानले राज्यले राष्ट्रियता हुन्छ भन्ने कुरा फ्रान्सेलीहरूले गलत भन्दै छन् भन्दै त्यस्तो नहुने मत अघि सारे । उनले पहिलो पटक ‘फोक जीस्ट’ भन्ने जर्मन शब्दको प्रयोग गरेर जनभावनाको परिभाषा गरे । जसको धर्म, भाषा, उद्भवीय नश्ल एउटै हो, जो एक अर्कोसँग आत्मीय छ र जसको ठाउँ पनि जोडिएको छ, त्यो मात्रै राष्ट्रियता हुन सक्छ र त्यो मात्रै राष्ट्रवाद हो भने । यो राष्ट्रवाद भनेको ईश्वरीय सृजना हो यो मान्छेले बनएर राष्ट्र बन्दैन । त्यसैको प्रभावबाट डेनमार्क, नर्वे, जापानमा त्यो भवना गयो । त्यसपछि जापानमा ‘जापनिज युनिकनेस’ भन्ने अवधारणा आयो । 

चौथो, त्यसको प्रभाव बेलायतमा पनि केही हदसम्म गयो । तर बेलायतमा संसदीय व्यवस्था भएको हुनाले तिनले अलिकति ‘वेस्टेफालियन सेटलमेन्ट’लाई लिए अर्थात राजद्रोह र राष्ट्रद्रोह एउटै भन्ने पनि लिए र अलिकति फ्रान्सको नागरिक सार्वभौम हो भन्ने अवधारणा पनि लिए र सँगसँगै जर्मनको भाषा एउटै हुनुपर्छ भन्ने अवधारणा पनि लिए । त्यसैले अङ्ग्रेजीमा नागरिकता र राष्ट्रियतालाई समानार्थी रूपमा प्रयोग गरिन्छ । यी सबैलाई मिसाएर बेलायतीहरूले आफ्नो अलग किसिमको राष्ट्रवादी राष्ट्रियता भनेर निर्माण गरे । राष्ट्रियता फ्रेन्चहरूको थियो भने राष्ट्रवाद जर्मनहरूको । 

नेपालमा चन्द्रशमशेर हुँदै महेन्द्रसम्मको राष्ट्रवाद ‘जापानिज युनिकनेस’ र जर्मन राष्ट्रवादबाट सापटी लिइएको हो । तर महेन्द्र शासकको रूपमा निकै चलाख थिए । नेपालमा आरएसएसको अवधाणाले प्रभाव पार्न थालेपछि प्रजातन्त्रको नारा दिएर यो अवधारणा बेलायतको जस्तो छ है भनेर देखाउन खोजे । तर उनले अभ्यास गरेको अवधारणा फासीवादी राष्ट्रवाद नै थियो । 

पाँचौँ, रसियन क्रान्तिपछि २०औँ शताब्दीको सुरु ताका पहिलो पटक लेनिनले समावेशी राष्ट्रियताको कुरा ल्याए । उनले राष्ट्र भनेको नृजातीयता होइन कि राष्ट्र भनेको राजनीतिक प्रतिबद्धता हो भने । राजनीतिक प्रतिबद्धता भनेको विचारधारात्मक प्रतिबद्धता हो भन्ने उनको मत थियो । उनले त्यसका लागि आफ्नो नृजातीयता परित्याग गर्नु नपर्ने बताए । त्यसैको अधारमा स्वसाशित क्षेत्रको अवधारणा तत्कालिन सोभियत संघले अंगिकार ग¥यो । यी पाँच राष्ट्रियताका अवधारणाहरू नै हामीले संसारभर देख्न सक्छौँ । 

अब जाउँ भारतमा, भारतको स्वतन्त्रता आन्दोलनको बेलामा गान्धी नेतृत्वको जुन भारतीय राष्ट्रिय काँग्रेस थियो, त्यो बेलायतको संसदीय मोडेलको थियो । त्यसैका आधारमा नै उनीहरूले आफ्नो पार्टीको नाम पनि भारतीय राष्ट्रिय काँग्रेस राखे । भन्नुको अर्थ, त्यहाँ एउटा भाषा र धर्मको बाहुल्यतालाई स्वीकार गरिएको थियो । तर दोस्रोमा सुभाषचन्द्र बोस जसले सशस्त्र क्रान्तिको कुरा गरिरहेका थिए । उनमा भने जर्मन र जापानी अवधारणाको प्रभाव रह्यो । बोस जापानी भाषामा ‘निहोन निन्जोन’ भनिने ‘जापनिज युनिकनेस’बाट प्रभावित थिए । हामीले माथि भनेझैँ जर्मन राष्ट्रवाद जर्मन रोमान्टिसिजमबाट आएको थियो । यसलाई फासीवादमा जान धेरै बेर लागेन । फासीवादमा जाने पहिलो खुड्किलो जर्मन रोमान्टिसिज्मबाट आएको हर्डरको राष्ट्रवाद थियो भने दोस्रो खुड्किलो हिटलरको उदय थियो । जुन जापानमा पनि मिल्न जान्छ । ‘जापानीपन’ भनेर ल्याइएको अवधारणा त्यहाँको सैन्यवाद उदयको प्रथम चरण थियो जुन फासीवाद उन्मुख थियो । 

भारतीय राष्ट्रवादको तेस्रो अवधारणा भनेको हिन्दुवादी गुरु गोल्वाल्कर र हेडगेवेयरबाट प्रभावित थियो । जसलाई हामीले राष्ट्रिय स्वयम् सेवक सङ्घ (आरएसएस) भन्छौँ उनीहरू भने इटालीको अर्को किसिमको फासीवादी प्रारूप, जसले बलियो शासकको परिकल्पना गर्छबाट प्रभावित छ । मुसोलिनीको फासीवाद हिटलरको फासीवाद भन्दा अलिक भिन्न छ । हिटलरले जर्मन मान्छेको कुरा गरेका थिए । इटालीको फासीवाद के मानेमा फरक थियो भने त्यसले एउटा बलियो शासक परिकल्पना गर्दथ्यो । त्यसो त जर्मनमा ‘फ्युरर’ भन्ने अवधारणा पनि त्यसैसँग मिल्दो हो । भारतका गोल्वाल्करहरूमा भने इटालीको जस्तो सङ्गठन र सिद्धान्त चाहिँ जर्मनको जस्तो हुनुपर्छ भन्ने मान्यता राख्दथे । त्यहाँबाट हिन्दुवादी राष्ट्रवादी अवधारणाको जन्म भएको देखिन्छ । जसलाई आजको दिनमा आरएसएसले बोक्ने गर्छ र भाजपा त्यसको कर्ता हो । 

आरएसएसले कस्तो खाले राष्ट्रवादलाई आदर्श मान्छ भन्ने विषयमा लामो समय अध्ययन गरेका हैदरावाद विश्वविद्यालयका राजनीतिशास्त्री जोतिर्मय शर्माको यस विषयमा लेखिएको ‘टेरिफायिङ भिजन’ भन्ने पुस्तक निकै महत्वपूर्ण छ । आरएसएसले त्यसलाई लागू गराउन जे गर्नुपर्छ, बलियोसँग त्यो कुरा गर्ने भनेको छ । नेपालमा चन्द्रशमशेर हुँदै महेन्द्रसम्मको राष्ट्रवाद ‘जापानिज युनिकनेस’ र जर्मन राष्ट्रवादबाट सापटी लिइएको हो । तर महेन्द्र शासकको रूपमा निकै चलाख थिए । नेपालमा आरएसएसको अवधाणाले प्रभाव पार्न थालेपछि प्रजातन्त्रको नारा दिएर यो अवधारणा बेलायतको जस्तो छ है भनेर देखाउन खोजे । तर उनले अभ्यास गरेको अवधारणा फासीवादी राष्ट्रवाद नै थियो । 

त्यसो त जर्मनीमा फासीवाद ल्याउने हिटलरले पनि समाजवादकै नारा दिएका हुन् नि । 

हिटलरले जर्मनमा समाजवादको आवरण दिए, नेपालमा महेन्द्रले प्रजातन्त्रको आवरण दिए । तर आवरणमा जे भए पनि भित्र नृजातीय राष्ट्रवाद जुन फासीवादको पहिलो खुड्किलो हो, त्यसैको अभ्यास गरिरहेका थिए । महेन्द्रले दोस्रो खुड्किलो उक्लने आँट गर्न सकेनन् । उनले अभ्यास गरिरहेको शासन अधिनायकवाद थियो तर उनी सर्वसत्तावादतर्फ जान सकेनन् । इच्छा त थियो होला तर उनी त्यहाँ पुग्न सकेनन् । अन्तर्राष्ट्रिय परिवेशमा सर्वसत्तावाद चलाउन सक्ने सम्भावना कम थियो । पछि राजा वीरेन्द्रले गाउँ फर्कको नाममा फेरि कोशिस गरे तर उनले पनि सकेनन् । 

अहिले अन्तर्राष्ट्रिय परिदृश्य बदलिएको छ, चीनमा सी जिङ फिङ आजीवन राष्ट्रपति हुने सम्भावना छ भने भारतमा नरेन्द्र मोदी गुरु गोल्वाल्करको सिद्धान्तमा हिन्दु फासीवादको अभ्यास गर्ने क्रममा छन् । अमेरिकामा नश्लीय सोच राख्ने व्यक्तिको उदय भएको छ । 

अहिले ओलीको जुन राष्ट्रवाद हो, त्यो गणतन्त्रको आवरणमा मुख्यतः नृजातीय राष्ट्रवाद हो । यसमा उनले के देखेका छन् भने यसको केही नोक्सान हुँदाहुँदै पनि यसका फाइदा धेरै छन् । मलाई लाग्छ यो संविधानको मूल काम नृजातीय राष्ट्रवादको रक्षा गर्नु हो अन्य कुरा आवरणमा देखिने कुरा हो । 

सैद्धान्तिक रूपमा ओली फासीवादी अभ्यासमा छन् भन्न खोज्नु भएको ?

एउटा भूराजनीतिक अवस्थितिको असर हुन्छ । दुर्भाग्यवस नेपालको दुवै छिमेकीमा त्यो प्रवृत्ति देखिँदैछ । महेन्द्र र पछि वीरेन्द्रले चाहेर पनि फासीवादमा पुग्न सकेनन्, उनले अधिनायकवादमा सन्तोष गर्नु प¥यो । तर, अहिले अन्तर्राष्ट्रिय परिदृश्य बदलिएको छ, चीनमा सी जिङ फिङ आजीवन राष्ट्रपति हुने सम्भावना छ भने भारतमा नरेन्द्र मोदी गुरु गोल्वाल्करको सिद्धान्तमा हिन्दु फासीवादको अभ्यास गर्ने क्रममा छन् । अमेरिकामा नश्लीय सोच राख्ने व्यक्तिको उदय भएको छ । 

बेलायत फर्केर त्यतै गएको छ । जर्मनीमा पनि एउटा ‘कोलिसन अफ कम्प्रमाइज’ मार्फत दक्षिणपन्थीहरूको उदय भएको छ । फ्रान्समा दक्षिणपन्थी शक्ति बलियोसँग सत्तामा आएको छन् । भन्नुको अर्थ, अन्तर्राष्ट्रिय परिदृश्यमा जसरी फासीवादी शक्ति अगाडि आएका छन् त्यस परिदृश्यमा कुरा गर्ने हो भने तर व्यक्तिगत रूपमा ओली आफ्नो विचारमा बदनाम नभई गणतन्त्रको आवरणमै सबै अभ्यास गर्न पाउँछन् भने उनले अरू गर्नुपर्ने कारण देखिँदैन । ओली व्यवहारवादी व्यक्ति हुन्, उनको ठाउँमा अर्को कोही कडा व्यक्ति आउन सक्छ ।

दक्षिणपन्थी सोच राख्ने नेतालाई उसैको विरोधमा उभिएको भनेको सरकार प्रमुखले नागरिक अभिनन्दन गर्ने कुरालाई यहाँले कसरी हेर्नुभएको छ, साथै मधेसको कुरा गर्ने हो भने जसले उनीहरूलाई रछ्यानमा पु¥याइदियो उसैको सेवामा खटिनु विरोधाभाष होइन र ?

नेपालमा सिक्किमको कुरा धेरै हुन्छ, तिब्बतको कुरा हुँदैन । तर जो सत्तामा पुग्छ उसलाई दुवै डरले उत्तिकै सताउने गर्छ । दुवै डरले सताएपछि दक्षिण र उत्तरलाई सन्तुलमा राख्नुपर्छ भन्ने सोच आउँछ । त्यो पदको बाध्यता हो । यसलाई सिद्धान्तसँग जोडेर नहेर्नु । सायद ओलीलाई के महसुस भयो होला भने उनको सर्वसत्तावादी अभिलाषाका लागि जति सजिलो हिन्दुत्वको राजनीति हुन्छ । चीनको दृष्टिकोणमा ओली जस्ता पुरेतवादीहरूका लागि ठाउँ हुँदैन । किनभने चीनको सर्वसत्तावाद पुँजीको सर्वसत्तावाद हो । तर हिन्दुत्वको सर्वसत्तावादमा पुरेतका लागि प्रशस्त ठाउँ हुन्छ । किनभने मोदी त्यही प्रक्रियाबाट आएका हुन् । त्यसैले मोदीसँग नजिक महशुस भएको हुन सक्छ । 

नृजातीय राष्ट्रवाद तपाईंले स्वीकार गरिसकेपछि ३–४ वटा कुरा मोदीसँग मिल्छ । आफूलाई प्रधानमन्त्री ओलीको ठाउँमा राखेर हेर्नुस् त मोदी जातीयता स्वीकार्छन् । मोदी एकल धार्मिक राज्य स्वीकार्छन । मोदी एकल भाषाको प्रभुत्व स्वीकार्छन् । मोदी एकल नेतृत्व स्वीकार्छन् । मोदी अर्ध सैनिक शासन व्यवस्था स्वीकार्छन् । मोदी सङ्घीयताभित्र पनि केन्द्रीयता स्वीकार्छन् । उनलाई सीसँग भन्दा मोदीसँग मन मिलेको महसुस हुँदो हो । पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री मोदीसँग मेरो क्यामेस्ट्री मिल्छ भनेको त्यही नृजातीय राष्ट्रवाद मिल्यो भनेको हो । अब तपाईंले त्यो नृजातीय राष्ट्रवादको माला घाँटीमा झुण्ड्याएपछि निधारमा टीका लाउनु के लाज ? त्यसैले भ्रमण पूजाबाट सुरु गरेका हुन् । 

साझेदारी गर्न आफ्नो वजन पुग्दैन, त्यसैले मोदीको समर्थन पाइन्छ भनेर लाज पचाएर मोदीको शरणमा जान उनीहरू तयार भए । नभए मोदीले त मधेसलाई धोका दिएका हुन् । उनले रूख चढ्न लगाएर फेदबाटै रूख काटेको स्पष्ट छ त । त्यति हुँदाहुँदै पनि अरूको मुख ताक्ने विकल्प मधेसका नेताहरूसँग छैन ।

अर्को महत्वपूर्ण कुरा भनेको मोदीका लागि जनकपुर र मुक्तिनाथ धार्मिक रूपले महत्वपूर्ण ठाउँ हो । त्यो कुरा ओलीले बुझेका छन् । रामानन्दी सम्प्रदाय भने हिन्दु धर्ममा एउटा सम्प्रदाय छ । त्यसको प्रभाव उत्तर प्रदेश, बिहार, गुजरात र दक्षिण भारतमा छ । भर्खरै कर्नाटकमा चुनाव हुँदैछ । यो सम्प्रदायसँग मेरो भावनात्मक सम्बन्ध छ भनेर देखाउने यो उनका लागि ठूलो अवसर हो । कर्नाटकको लिङ्गायत सम्प्रदायलाई भारतीय राष्ट्रिय काँग्रेसले आफूसँग अल्झाइसकेको छ । अब अर्को ठूलो एउटा सम्प्रदायलाई अल्झाउने पालो मोदीको हो । मोदीले यति बेला सकेजतिको माइलेज लिउँ भन्ने सोचेको हुनुपर्छ । यसमा ओलीलाई पनि त्यति नै फाइदा छ । मधेसमा खुट्टा टेक्न नसकेका ओली मोदीको बाहानामा आफ्नो खुट्टा टेक्न र फैलाउन पाउँछन् । 

अब दोस्रो कुरामा जाउँ । मधेसीहरूले नैतिक जिम्मेवारी लिन नाकाकसी हामीले गरेका हौँ भन्न पाए तर त्यतिले मात्र नाकाकसी सम्भव हुने थिएन । प्रत्यक्ष वा परोक्ष रूपमा भारतले समर्थन दियो होला । तर भारतमै त्यसको विरोध पनि थियो । त्यसबेलासम्म मधेसी राजनीतिकर्मीहरूलाई दिल्लीमा काँग्रेसको सरकार जति नै समय रहे पनि कसैले नैतिक, भौतिक समर्थन गरेनन् तर भाजपा सरकारले कम्तीमा नैतिक समर्थन त दिएको छ भन्ने भयो होला । तर नयाँ दिल्लीले पानी र जवानी पाउने त काठमाडौंबाट हो । त्यसैले पछि समर्थन फिर्ता भयो । भारतको समर्थन फिर्ता हुनासाथ तेस्रो मधेस विद्रोह असफल विद्रोहमा परिणत भयो । विद्रोह असफल भएपछि नेतृत्वका अघिल्तिर आउने त्यही तीन विकल्प हुन्– 

पहिलो, पूर्ण आत्मसमर्पण । दोस्रो, काठमाडौसँग मिलौँ र दिल्लीबाट दबाब दिन लगाऊँ । तेस्रो, अहिले असफल भयौँ तर धैर्यतापूर्वक समय र परिस्थिति फेरिनेसम्म अडान लिइरहने । तर मधेसका राजनीतिकर्मीहरूले दोस्रो विकल्प रोजे र संविधान जारी भएपछिको निर्वाचनमा भाग लिँदै एउटा प्रान्तमा मात्रै भए पनि सरकार बनाए । उनीहरूलाई के लाग्यो भने अब हाम्रो पुस्ताले क्रान्ति गर्न सक्दैन । क्रान्ति नसकेपछि सम्मानको राजनीतिलाई बिराम दिऊँ र साझेदारीको राजनीति गरौँ । साझेदारी गर्न आफ्नो वजन पुग्दैन, त्यसैले मोदीको समर्थन पाइन्छ भनेर लाज पचाएर मोदीको शरणमा जान उनीहरू तयार भए । नभए मोदीले त मधेसलाई धोका दिएका हुन् । उनले रूख चढ्न लगाएर फेदबाटै रूख काटेको स्पष्ट छ त । त्यति हुँदाहुँदै पनि अरूको मुख ताक्ने विकल्प मधेसका नेताहरूसँग छैन । त्यसैले मधेसी राजनीतिकर्मीले मोदीका अगाडि तोम शरणम गरेका हुन् । जहाँसम्म अभिनन्दनको कुरा छ, त्यो औपचारिकता हो । अभिनन्दनलाई बेफ्वाँकमा ठूलो मुद्दा बनाउन जरुरी छैन । 

अब के हुने देख्नु हुन्छ ?

राष्ट्रवाद ओलीजीले चुनाव र संविधानलाई स्थापित गर्नका लागि रणनीतिका रूपमा उपयोग गरेका थिए । नेपालमा अर्को चुनाव भनेको तीन–चार वर्षपछि हुने हो । त्यसैले त्यो राष्ट्रवादको उनलाई त्यति चिन्ता छैन । उनको आयु लामो होस् तर एउटा राजनीतिकर्मीले सोच्ने भनेको अर्को निर्वाचनसम्मका लागि मात्र हो । ओली ‘स्टेट्सम्यान’ होइनन् कि ‘पोलिटिसियन’ हुन् । त्यसैले उनी आफ्नो राष्ट्रवादी छविका लागि त्यति चिन्तित छैनन् । दोस्रो चिन्ता किन गर्नु परेन भने नेपालको विचार निर्माण गर्ने मिडियामा उनको दलको एकछत्र साम्राज्य छ । तपाईंले उनको कहीँ विरोध देख्नुभएको छ ? सेल्फ सेन्सरसिप यति बलियो छ कि उनको भजन गाउनेबाहेक अखबार टेलिभिजन, रेडियोमा तपाईंले केही हेर्न, पढ्न र सुन्न पाउनु हुन्न । राष्ट्रवादी छवि कायम गर्न मिडिया लागेकै छ । अर्को कुरा भनेको उनले राष्ट्रवादको पुनव्र्याख्या अब आर्थिक उन्नति र समृद्धि मार्फत गर्न सक्छन् । 

समृद्धिको राजनीति गर्नका लागि उनलाई उत्तर, दक्षिणको सहयोग चाहिन्छ । दक्षिणसँग धेरै आर्थिक कारोबार भैरहने हुनाले दुई–चार विकासे प्रोजेक्ट ल्याउन सके भने विकासे राजनीतिमा हुर्केको नेपालको पुस्तालाई त्यति भए पुग्छ । त्यसका साथै अब उनले शक्तिको केन्द्रीकरण गर्न कस्तो रणनीति र कार्यनीति अख्तियार गर्छन्, त्यो हेर्नु रुचिकर हुन्छ । उनले कानुनहरू कसरी बनाउन लगाउँछन् । संसदबाट ऐनहरू कस्ता पारित हुन्छन् । यो बीचमा उनले संस्थाहरूको केन्द्रीकरण गर्न थालिसकेका छन् । पुँजीपतिहरूलाई दबाब बनाउनका लागि सम्पत्ति शुद्धीकरण विभाग आफूले लिइसकेका छन् । निजामती सेवा ऐन संशोधन हुने कुरा छ, त्यसलाई संशोधन गरेर कसरी निजामती सेवामा आफ्नो कडा नियन्त्रण कायम गर्नेछन्, सेनालाई कसरी आफ्नो हातमा लिनेछन्, प्रहरी र सशस्त्र प्रहरीलाई त उनले पहिले नै पूर्णरूपमा आफ्नो नियन्त्रणमा लिइसेकका छन् । त्यसैले शक्तिको केन्द्रीकरणले कुन दिशा लिन्छ, त्यो रुचिकर हुन्छ ।

त्यसले नै ओली राष्ट्रवादको घोडा चढेर इटालीको फासीवादमा, जर्मनको फासीवादमा अथवा जापानको मोडेलमध्ये कुनमा जान्छन् भन्ने तय गर्नेछ । यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने जति पनि मुलुकमा फासीवाद अथवा सर्वसत्तावाद आयो, त्यहाँ पनि विकास र समाजवादकै नारा दिइएको हो । ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने नारा ट्रम्पले त्यसै दिएका होइन । चीनले विश्वको नेतृत्व गर्नुपर्छ त्यसै भनिएको होइन । १६औँ शताब्दीमा धर्म जनसमुदायका लागि नशा थियो भने २१औँ शताब्दीमा समृद्धि जनताका लागि दिइएको अर्को नशा हो । त्यसले लठ्ठिएको मान्छे मत्ता हात्ती भन्दा पनि घातक हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेश ज्ञवाली
नरेश ज्ञवाली

नरेश ज्ञवाली रातोपाटीका अन्तर्वार्ताकार तथा विचार पृष्ठका संयोजक हुन् । अन्तर्वातासँगै उनी लेख, फिचर र समाचारमा कलम चलाउँछन् । @GyawaliNaresh 

लेखकबाट थप