शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवन राष्ट्रिय निकुञ्जभित्रको कथाः सुरक्षामा खटेका सेनाबाट यसरी जन्मिन्छन् अवैध सन्तान, १४० छोराछोरीको विचल्ली

बुधबार, २६ वैशाख २०७५, १२ : ४४
बुधबार, २६ वैशाख २०७५

–नारायण अधिकारी 

चितवन– चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको प्रलोभनमा परी अवैध सम्बन्धबाट जन्मिएका बालबालिका र तीनका आमाले अझै न्याय पाउन सकेका छैनन् ।  निकुञ्ज आसपासमा बसोबास गर्ने न्यून वर्गका समुदायका महिला यसबाट पीडित बनेका हुन् । उनीहरुको न्यायका लागि लड्दै आएको मध्यवर्ती क्षेत्र जनअधिकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष छविलाल न्यौपानेका अनुसार पीडित ११६ जना महिलामध्ये २७ जनाको श्रीमान् पहिचान गरी कानूनी न्याय दिलाइएको छ । तीनका ३४ जना सन्तान रहेका छन् । बाँकी ८९ जना आमा र तीनका १४० छोराछोरीले अझै न्याय पाउन नसकेको उनले बताए । 

महासंघको अगुवाइमा नेपाली सेनाको मध्यपृतना हेटौँडामा निवेदन दिएका ५७ जनामध्ये २७ जनाले कानूनी न्याय पाई नागरिकता बनाउने, उपचार र पढाइको सुविधा पाएको न्यौपानेले बताए । 

नेपाली सेनाले वि.सं २०६८ मा महासेनानीको नेतृत्वमा छानबिन समिति समेत गठन गरी न्याय दिलाउनका लागि पहल थालेको थियो । तर पीडित भनिएका महिलाले आफूले सन्तान जन्माउँदा सम्बन्ध राखेको सेनाको पहिचान गर्न नसक्दा न्याय दिलाउन असहज बनेको न्यौपानेले बताए । निकुञ्जमा घाँस, दाउरा तथा निउरो टिप्न जाँदा सुरक्षामा खटिएका सेनासँग सम्बन्ध हुने र कतिपयले उनीहरुलाई विवाहको प्रलोभनमा पारेर शारीरिक सम्पर्क गर्ने गरेको पीडितको भनाइ छ । 

तीनै सम्पर्कबाट बच्चा जन्मने र केही समयसँगै बसेर सेनाले छाडेपछि उनीहरु बिचल्लीमा पर्ने गरेको देखिएको छ । पीडितको भनाइअनुसार दुई तीन महिनादेखि ६ वर्षसम्म सँगै बस्ने र त्यसपछि सम्पर्कविहीन हुँदा उनीहरुबाट जन्मिएका सन्तान र आमाको बिचल्ली हुँदै आएको पाइन्छ । एक पीडितका अनुसार कतिपय महिलाको त जबर्जस्ती करणीबाट सन्तान जन्मिएको र न्याय पाउन नसकेको पनि उदाहरण रहेका छन् । 

न्यौपानेका अनुसार मेघौलीकी एक महिलाको चारजना सैनिकसंगको सम्पर्कबाट ६ जना बच्चा जन्मिएका छन् भने अर्को एक महिलाको तीनजना सैनिकसँगको सम्पर्कबाट सातजना बच्चा जन्मिएका छन् । ती बच्चा हुर्किइसकेका छन् तर बाबुको पत्तो लाग्न सकेको छैन । 

यसरी जन्मिएका बच्चा ९ वर्ष देखि २३ वर्षसम्म पुगेको न्यौपानेले बताए । उनले भने “कतिपयको त बच्चाले पनि हुर्किएर विवाह गरी सन्तान जन्माइसकेका छन् तर बाबुको टुंगो लाग्न सकेको छैन ।” 

एउटै सैनिकबाट तीनजनासम्म सन्तान जन्मिएका पनि छन् । तर ती सैनिक कहाँ छन् भन्ने पत्तो लाग्न सकेको छैन । पीडित महिलामध्ये २१ जना विदेश गएको र अन्य माइती र आसपासका क्षेत्रमा ज्याला मजदूरी गरी परिवार पालिरहेको पाइएको छ । 

निकुञ्ज आसपासको हालको भरतपुर महानगरपालिकाको वडा नम्बर २२ देखि २८ सम्म र माडी नगरपालिकाका महिला पीडित भएका हुन् । न्यौपानेका अनुसार पीडित हुनेमा जनजाति समुदायका ८६ जना रहेका छन् भने दलितका १४ र अन्य जातिका १६ जना रहेका छन् । 

जगतपुरकी एक पीडित महिलाले भनिन् “आफू घाँस दाउरा गर्न जाँदा सम्पर्क बढेसँगै एक बच्चा भयो । पछि बच्चाका बाबु अर्को ठाउँमा सरुवा भएसँगै सम्पर्कविहीन भए । पछि मैले कानूनी न्याय पाएँ र अहिले नागरिकता बन्यो ।” 

माडी बगईकी एक महिलाका दुई सन्तान छन् । निकुञ्ज सुरक्षार्थ खटिएको सेनाकै संसर्गबाट ती बच्चा जन्मिएका हुन् । नाम नबताउने शर्तमा उनले भनिन् “विवाह गर्ने भनेर सम्पर्क भएको हो । सँगै पनि बस्यौँ । पछि उनी पनि सरुवा भए र बेवास्ता गरे । ” 

अहिले ती महिलाले पनि कानूनी न्याय पाएकी छिन् । बच्चाको जन्म दर्ता भई नागरिकता बनेको छ । कानूनी न्याय पाउन नसकेका अन्यले न त नागरिकता नै पाउन सकेका छन् न त बाबु कोहो भन्ने पहिचान नै गर्न सकेका छन् । 

निकुञ्जमा वि.सं २०३४ देखि सुरक्षाका लागि नेपाली सेना खटेको हो । त्यसअघि गैँडा गस्तीमार्फत वनको सुरक्षा गरिन्थ्यो । पछिल्लो समय निकुञ्ज सुरक्षामा खटिएका सेनालाई विशेष निगरानी राखेपछि यस्ता घटना नभएको बताइएको छ । महासंघले पीडितलाई न्याय तथा सहयोग जुटाउँदै यस्ता खालका समस्या आउन नदिन जनचेतना जगाउने काम पनि गर्दै आएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप