बझाङ- तिब्बत कनेक्सनः यसरी करोडौँको जडीबुटी चोरी निकासी हुन्छ
बझाङ– जिल्लाको उत्तरतर्फ रहेको साइपाल गाउँपालिका तिब्बत्सँग जोडिएको छ । ताक्लाकोट नाकालाई वैधानिक रुपमा खोल्न नसक्दा वर्सेनि करोडौँ राजश्व चुहावट भइरहेको छ ।
व्यापारीले बहुमूल्य जडीबुटी र वन्यजन्तुको चोरी निकासी गर्दैआएका छन् । जिल्लाको कूल भू–भागको झण्डै आधा क्षेत्रफल ओगटेको साइपाल गाउँपालिकासँग जोडिएको यस नाकाबाट वर्सेनि रु तीन करोडभन्दा बढीको यार्सागुम्बालगायत बहुमूल्य जडीबुटीको कारोबार हुने गरेको छ ।
सीमामा नेपालको उपस्थिति नहुँदा करोडौंको जडीबुटीको राजश्व छली भइरहेको छ । नेपाल र चीन सीमा क्षेत्रमा भन्सार कार्यालय स्थापना हुन नसक्दा करोडौँ मूल्यका सामान आयत र निर्यात भए पनि राजश्व संकलन गर्न सकिएको छैन । जिल्लाबाट यार्सागुम्बा, वन लसुन, कटुकी, सतुवा, पाँचऔंलेलगायत जडीबुटी ठूलो परिमाणमा निकासी हुने गरेको छ । ताक्लाकोटबाट नुन, कपडा, जुत्ता र ठूलो परिमाणमा तिब्बती मदिरा आयात हुने गरेको छ ।
नेपाली बजारमा भन्दा चिनियाँ बजारमा जडीबुटीको मूल्य चार गुना बढी भएका कारण व्यापारीले उरै भञ्ज्याङहुँदै ताक्लाकोट नाकाको प्रयोग गर्दैआएका छन् । कुन सामान कति मात्रामा आयात हुन्छ यकिन तथ्यांक भने छैन । साइपाल गाउँपालिका, दहबगर, तल्कोट गाउँपालिकालगायत ठाउँमा लत्ताकपडा र इलेक्ट्रोनिक सामान यस नाका भएर भित्रिने गरेको साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पनादेवी बोहरा बताउँछन् ।
जडीबुटी संकलनबाट आफ्नो जीविका चलाउँदै आएका उक्त क्षेत्रका बासिन्दाले ताक्लाकोटबाट फर्कदा आवश्यक लत्ताकपडाका साथै इलेक्ट्रोनिक सामान ल्याउने गरेका छन् । सीमा प्रहरी चौकी छल्दै तस्करले सो नाकाको प्रयोग गरी अखेटोपहार, रक्तचन्दन, चरेसलगायत सामग्री तस्करी गर्दैआएका छन् ।
तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंहले स्थानीयवासीको श्रमदानबाट चैनपुरदेखि ताक्लाकोटसम्म घोरेटो बाटो निर्माण गरेपछि ताक्लाकोटसँगको व्यापारिक सम्बन्ध स्थापना भएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको समस्या व्यवस्थापनका लागि कर्जा सूचना केन्द्र स्थापना गरिने
-
सरकारद्वारा अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्न कार्यदल गठन
-
उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण
-
सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
-
टीआरसीको बहानामा देउवा–प्रचण्ड भेटले जन्माएको आशङ्का !