शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोदी भ्रमणलाई लिएर खोक्रो राष्ट्रवादको कुरा गरेर हुँदैन – मन्त्री जितेन्द्र सोनलको अन्तर्वार्ता

बिहीबार, २७ वैशाख २०७५, १० : ४४
बिहीबार, २७ वैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि दुई दिने राज्यकीय भ्रमणका लागि नेपाल आउँदैछन् । भारत विहारको पटना हुँदै सीधै जनकपुर आउने प्रधानमन्त्री मोदीको स्वागतका लागि जनकपुर उपमहनगरपालिका र प्रदेश २ सरकारले सबै तयारी पूरा गरेको छ । लगभग एक घण्टा जनकपुरमा विताउने मोदीको स्वागतका लागि प्रदेश सरकारले के के तयारी गरेका छन् र, यस भ्रमणको प्रभावलगायतका विषयमा प्रधानमन्त्री मोदीको भ्रमण तयारीमा जुटेका प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री एवम् राजपा नेपालका महासचिव जितेन्द्र सोनलसँग रातोपाटीले गरेको छोटो कुराकानी :

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि जनकपुर आउँदै हुनुहुन्छ । त्यसका लागि कस्तो तयारी भइरहेको छ ?

–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा भोलि आउँदै हुनुहुन्छ । त्यसक्रममा उहाँ जनकपुर पनि आउनु हुनेभएको छ । त्यसका लागि हामी निकै उत्साहित भएका छौं । सोहीअनुसारको तयारीमा पनि लागका छांै । लगभग तयारी पूरा भएको छ । बाह्रबिघामा उहाँलाई अभिनन्दन दिनका लागि ठूलो मञ्च तयार भएको छ । ठाउँठाउँमा प्रवेशद्वारको निर्माण गरिएको छ । जनकपुरलाई सरसफाइ गर्नुको साथै रङरोगन पनि गरिएको छ । एक महिनाको पहिला हेर्नुभएको जनकपुर र अहिले हेर्ने जनकपुरमा आकाश जमिनको फरक पाउनुहुन्छ । जनकपुरलाई केसरिया रङले रङ्ग्याइएको छ । बाह्रबिघा रङ्गभूमिलाई पनि केसरिया रङले सजाइएको छ । मित्रताका प्रतीक दुवै देशका झण्डा ठाउँठाउँमा झुण्ड्याइएको छ । नेपालको इतिहासमा यति ठूलो मञ्च सायद पहिलो होला । ३० वर्षदेखि म पनि सक्रिय राजनीतिमा छु तर मैले यस्तो भव्य मञ्च नेपालमा कहिल्यै पनि देखेको छैन । यो अभूतपूर्व र ऐतिहासिक तयारी हो । 

उहाँको स्वागतका लागि के–के तयारी गर्नुभएको छ । कसरी स्वागत गर्नुहुन्छ ?
–प्रधानमन्त्री नरेन्द्र मोदी हेलिकप्टरबाट जनकपुर एयरपोर्टमा ल्यान्ड गर्नुहुनेछ । हामी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरू तथा सङ्घीय मन्त्रीहरू उहाँलाई स्वागत गर्छौं । त्यहाँ मधेसका झाँकी, मिथिला संस्कृतिका झाँकी प्रस्तुत हुन्छ । त्यसपछि त्यहाँबाट उहाँ जानकी मन्दिर जानुहुन्छ । त्यहाँ उहाँलाई अद्भूत प्रकारको अनुभूति हुनेगरी भव्य स्वागतको व्यवस्था छ । साथै उहाँले त्यहाँ विशेष पूजा सम्पन्न गर्नुहुनेछ । जानकी मन्दिरबाट निस्केपछि अरगज्जा पोखरी नजिक फेरि विभिन्न विभिन्न झाँकीले स्वागत गर्नेछ । त्यसपछि उहाँ बाह्रविघामा जानुहुन्छ । त्यहाँ उहाँलाई प्रदेशसभाका सदस्यहरूले स्वागत गर्नुहुन्छ । त्यहाँ लाखौँको जनसहभागितामा उहाँको भव्य नागरिक अभिनन्दन हुनेछ ।

नागरिक अभिनन्दन कसरी गर्दै हुनुहुन्छ ? सुनिन्छ चार भाषामा उहाँलाई अभिनन्दन गर्दै हुनुहुन्छ, त्यस्तो किन ?
–हेर्नुस् नेपाल भाषाको धनी देश हो । यहाँ विभिन्न भाषा बोलिन्छ । हामी भाषाको उल्झनमा पर्दैनाँै । अतिथि देवो भवका संस्कार हो हाम्रो । त्यो संस्कारले हामी स्वागत गर्छौं । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहका हातबाट उहाँको नागरिक अभिनन्दन गरिनेछ । भाषाभन्दा नागरिक अभिनन्दन कार्यक्रममा जति धरै नागरिकको उपस्थिति हुन्छ, त्यति नै राम्रो हुन्छ र अभिनन्दन भव्य हुन्छ । त्यसमा भाषाले कुनै अर्थ राख्दैन । लाखाँै नागरिकका बीचमा हामीले शक्तिशाली देशका प्रधानमन्त्रीलाई अभिनन्द गर्छौं । देश सङ्घीयतामा गइसकेपछि प्रदेश सरकार गठन हुँदा कुनै देशको कार्यकारी आएको यो पहिलो हो । त्यसैले यसलाई ऐतिहासिक बनाउने हाम्रो सोच हो ।  त्यहीअनुसार काम पनि भइरहेको छ । 

केन्द्र सरकारले भनेको हरेक निर्देशन मान्ने अवस्था छैन । कार्यक्रमका लागि केन्द्रीय सरकारसँग समन्वय गर्छौं तर भनेको हरेक कुरा मान्न बाध्य हुँदैनौँ । प्रधानमन्त्रीजीलाई संविधानमा अधिकार प्राप्त प्रदेश सरकारहरू बनेका छन् भन्ने थाह हुनुप¥यो ।

तपाईं भन्नुहुन्छ, भाषा त्यति महत्वपूर्ण छैन तर चार भाषामा अभिनन्दन गराउँदै हुनुहुन्छ, त्यस्तो किन ?
–चार भाषामा अभिनन्दन गराउने विषय मलाई थाह छैन । कहाँबाट आयो चार भाषाको कुरा मेरो जानकारी छैन । मेयर लालकिशोर साहले अभिनन्दन गर्नुहुन्छ । उहाँले जुनसुकै भाषामा गराउन सक्नुहुन्छ । मलाई लाग्छ यसमा विवाद गर्नुहुँदैन । मैथिलीमा पनि गराउन सक्नुहुन्छ । हिन्दीमा पनि गराउन सक्नुहुन्छ । भोजपुरीमा पनि गराउन सक्नुहुन्छ, नेपाली भाषामा पनि गराउन सक्नुहुन्छ । यो उपमहानगरपालिकाको अधिकारको कुरा हो । मेरो विचारमा भाषालाई विवादमा आउन दिनु हुँदैन जस्तो लाग्छ ।

मेयर लालकिशोर साहले स्वयम् सञ्चारकर्मीसँग भन्नुभयो, हामीले चार भाषामा अभिनन्द गर्छौं, तपाईं भन्नुहुन्छ मलाई थाह छैन, किन त्यस्तो ?
–यो उपमहानगरपालिकाको विषय हो । यो विषयमा प्रदेश सरकारलाई कुनै जानकारी गराएको छैन । त्यसैले यसबारेमा टिप्पणी गर्नु त्यति सान्दर्भिक हुँदैन । मलाई थाहभएसम्म  लालकिशोर साहले एउटा भाषामा पढेर मोदीलाई अभिनन्दन गर्नुहुन्छ । 

केन्द्रले त अभिनन्दन कार्यक्रममा जे गर्दा वा बोल्दा नेपाल भाषा प्रयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीबाट निर्देशन गएको भनी चर्चा सुनिएको छ, सत्य के हो ?
–अब त्यो दिन धेरै टाढा गइसक्यो । केन्द्र सरकारले भनेको हरेक निर्देशन मान्ने अवस्था छैन । कार्यक्रमका लागि केन्द्रीय सरकारसँग समन्वय गर्छौं तर भनेको हरेक कुरा मान्न बाध्य हुँदैनौँ । प्रधानमन्त्रीजीलाई संविधानमा अधिकार प्राप्त प्रदेश सरकारहरू बनेका छन् भन्ने थाह हुनुप¥यो । त्यसले पनि आफ्नो अधिकार प्रयोग गर्न पाउनुपर्छ । भाषा चयन गर्नका लागि स्वतन्त्र छ । यो कुनै विदेशी भाषा होइन । मैथिली भाषा पनि नेपाली भाषा नै हो । नेवारी भाषा पनि नेपाली भाषा नै हो ।  भोजपुरी भाषा पनि नेपाली भाषा नै हो । अर्थात नेपालमा बोल्ने सबै भाषा नेपाली भाषा हो भने यसमा यो भाषा वा त्यो भाषा गर्नुहुँदैन । भाषाको कुनै सीमा हुँदैन । भाषा मुख्य होइन, भाव मुख्य हो । 

प्रदेश २ मा जुनखालको राजनीतिक अवस्था रहेको छ, यो भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले त्यसमा केही प्रभाव पार्छ कि ?
–कुनै प्रभाव पार्ला जस्तो लाग्दैन । यो पूरै अफिसियल राजकीय भ्रमण हो । धर्मकर्म, पूजाआजासँग भ्रमण जोडिएको हो । राजनीतिसँग कुनै सम्बन्ध रहेको छैन । राजनीतिक अनवरत चलिरहेको विषय हो । हामीले आफ्नो विवाद आफै आन्तरिक रूपमा समाधान गर्छौं । त्यसमा यो भ्रमणले कुने प्रभाव पर्दैन । 

तपाईंहरूले प्रदेश २ मा मोदीको स्वागतका लागि यत्रो तयारी गरिरहनुभएको छ, तर नाकाबन्दीको विषय उठाएर अहिले काठमाडौँमा उहाँको निकै विरोध भइरहेको छ यसलाई तपाईंले कसरी लिनुभएको छ ?
–काठमाडौंका मान्छे कहिल्यै थानकोट कट्दैनन् । काठमाडौँमा बसेर नेपाल हेर्ने प्रयास गरिरहेका हुन्छन् । त्यस्तै नजरले उनीहरू मधेसलाई हेरिरहेका छा् । बागमतीमा धेरै पानी बगिसकेको छ । अब पुरानो विषयलाई लिएर विरोध गर्नु वा विवाद झिक्नुको कुनै अर्थ रहँदैन । 

भारतसँग मधेसको सम्बन्ध र नेपालको सम्बन्ध फरक फरक हो कि एउटै हो ?
–नेपालभित्रकै एउटा मधेस हो । जहाँ एउटा छुट्टै प्रदेश बनेको छ । दिल्ली र काठमाडौँबीच एउटा कूटनीतिक सम्बन्ध रहेको छ । तर नेपाल र भारतबीच एउटा कूटनीतिक सम्बन्धका साथै समाजिक, आर्थिक, सांस्कृति सम्बन्ध रहेको छ । बेटीरोटीको सम्बन्ध रहेको छ । भाइचाराको सम्बन्ध रहेको छ । बुद्धको जन्म नेपालमा हुन्छ र बुद्धत्व बोधगायामा प्राप्त गर्छन् । सीताको जन्म जनकपुर नेपालमा हुन्छ र बिहे अयोध्या भारतमा हुन्छ । भारत र नेपालबीच यस्तो सम्बन्ध रहेको छ । जहाँ मधेस पनि पर्छ । यो सम्बन्धलाई काठमाडौँ र दिल्लीको नजरले हेर्नसक्दैनौँ ।

जसरी तपाईंहरू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मधेसमा स्वागत गर्नुहुन्छ । त्यस्तै काठमाडौँमा विरोध पनि भइरहेको छ, यस हिसाबले भारतसँग मधेसको सम्बन्ध र काठमाडौंको सम्बन्ध फरक फरक हो कि एउटै हो ?
–विरोध गर्नेहरूको बारेमा म केही भन्न सक्दिनँ । काठमाडौँमा केही यस्ता व्यक्ति छन् जसलाई भारतलाई जति गाली ग¥यो, त्यति राष्ट्रियता बलियो हुन्छ भन्ने लाग्छ । त्यो मानसिकताले राष्ट्रियताको बलियो हुनसक्दैन । त्यो खोक्रो राष्ट्रवाद हो, त्यसको कुने अर्थ रहँदैन ।

अन्त्यमा, जनकपुरमा विकास कार्य ठप्प थियो । जताततै फोहोर थियो तर मोदी आउने कुरा लिएर रातारात जनकपुरमा विकास भयो र जनकपुर सफा भयो, यो चमत्कार कसरी भयो ?
–यो चमत्कार होइन । प्रदेश सरकार गठन भएपछि विकासका कार्यहरू गर्ने तयारी भइरहेको थियो । स्थानीय सरकार पनि त्यसको तयारीमा जुटेको थियो । यसैबेला प्रधानमन्त्री मोदी भ्रमणमा आउनुभयो । हाम्रो संस्कार नै यस्तो हो, घरमा कुनै विशेष पाहुना आउन लाग्नुभएको छ भने हामीले घर आँगन सफा गर्छौं । टुटेफुटेका घर छन् भने मिलाउने काम भइरहको हुन्छ । हामीले जनकपुरमा त्यस्तै गरेका छौँ । भारतका प्रधानमन्त्री हाम्रो पाहुना नै हुनुहुन्छ । उहाँका लागि हामीले सरसफाइ गरेका छौँ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप