मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मोदी भ्रमणबारे जनता : मोदीले फेरि नाकाबन्दी नगरून्, हाम्रो सीमा नमिचियोस्

शुक्रबार, २८ वैशाख २०७५, १२ : २२
शुक्रबार, २८ वैशाख २०७५

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने नेपाल भ्रमणका क्रममा छन् । आफ्नो ५ बर्षको कार्यकालमा प्रधानमन्त्रीको हैसियतले तेश्रो पटक नेपाल भ्रमणमा रहेका मोदीप्रति पहिलो र दोश्रो भ्रमणका बेला वाह वाही गरेका सर्वसाधारण अहिले नकारात्मक बनेका छन् । २०७२ सालको भूकम्पको पीडामा रहेका नेपाली जनतालाई असोजमा नयाँ संविधान जारी भएपछि त्यसप्रति विमती जनाँउदै मोदी नेतृत्वको सरकारले नाकाबन्दी गरेको थियो । छ महिनाभन्दा लामो नाकाबन्दीका कारण राजधानी सहित देशको ठूलो भूभागमा सर्वसाधारणको दैनिकी चौपट बनेको थियो । त्यो पीडालाई सर्वसाधारणले सहजै भूल्न सकिरहेका छैनन् । जुन मोदीको यसपटको भ्रमणका बेला उनीहरुले विभिन्न माध्यमबाट अभिब्यक्त गरिरहेका छन् ।  

यतिबेला चिया पसल, चौतारो, दुई चार जनाको जमघट स्थलमा मोदी सरकारले गरेको नाकाबन्दीको चर्चा चलिरहेको छ । नाकाबन्दीका बेला भोगेको समस्यालाई उनीहरुले पुनःस्मरण गर्दै मोदी सरकारको उक्त कदम गलत भएको भन्दै उनले नेपाली जनतासमक्ष माफी माग्नुपर्ने चर्चा समेत चलिरहेको छ । 

मोदीको यो तेश्रो भ्रमण सर्वसाधारणको असन्तुष्टि नाकाबन्दीको बिषयमा मात्र छैन । उनी सिधै राजधानी आएर अन्य भूभागमा जानुपर्नेमा खासगरी सिधै जनकपुरको जानकी मन्दिर गएको कुरा पनि कतिपयलाई चित्त बुझेको छैन । अर्कोतिर प्रधानमन्त्री मोदीले काठमाडौंमा आएर गर्ने भनिएको भेटघाट स्थलको बारेमा पनि सर्वसधारणले प्रश्न उठाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री मोदीलाई काठमाडौंको एक होटलमा गएर भेटवार्ता गर्ने कार्यतालिका प्रति पनि खेद जनाएका छन् । उनीहरुले छिमेकी देशको राष्ट्राध्यक्षसँग प्रधानमन्त्रीले आफ्नै कार्यकक्षमा भेटवार्ता गर्नुपर्ने आवाज उठाएका छन् । 

अर्कोतिर प्रधानमन्त्री मोदीको सुरक्षाका लागि भारतीय सेना नेपाल ल्याइएको प्रति पनि सर्वसाधारणहरुले आक्रोस ब्यक्त गरेका छन् । उनीहरुले नेपाली सेना उनको सुरक्षाका लागि कमजोर थियो र भन्ने प्रश्न पनि गरेका छन् । उनको नेपाल भ्रमणको विषयलाई लिएर काठमाडौैंका विभिन्न ठाँउमा भेटिएका सर्वसाधरणहरुले रातोपाटीसँग यस्तो प्रतिक्रिया ब्यक्त गरेका छन् ।  

हरिबहादुर केसी : अब फेरि भारतले दुःख नदिओस् 

हिजो जे गरे गरे अब आउने दिनमा मोदीले सकारात्मक दृष्टिकोण अपनाए हुन्थ्यो । जस्तो अहिले रेलमार्ग भन्छन्, जलमार्ग भन्छन्, खाली मुखले मात्र भनेर त भएन नि । काम गर्नुपर्यो । उनले यसैको बाहानामा फेरि राजनीतिक हस्तक्षेप नगरून् अरू त तिनलाई केही भन्नु छैन । 

नाकाबन्दीको बेला त भोग्नु समस्या भोगियो नि । महँगी पनि त्यतिकै भो । बजारमा केही नपाइने भो । यहाँका बजारियाहरूले नाकाबन्दीको नाम देखाएर उपद्रो पनि गरे । खाना पकाउने ग्याँस मुस्किलले पाइयो, लाइन बस्नु पर्यो । अब त्यस्तो फेरि नहोस् भन्ने मेरो कामना छ । भनेको ठाउँमा भनेको बेला जान पाइएन । म पनि काँग्रेस समर्थक हुँ तर त्यस्तो दुःखलाई पनि काँग्रेसले नाकाबन्दी भन्न सकेन । त्यसको नतिजा काँग्रेसले भोगी पनि सक्यो । अब फेरि भारतले त्यसरी नेपाललाई दुःख दिने काम नगरोस् । 

पदमबहादुर खड्का : आठ नौ दिन दाउरामा पकाएर खानुप¥यो

भारतका प्रधानमन्त्री नेपाल आए के नआए के । हामीले बोलेको कसले सुन्छ र ? नाकाबन्दी गरेर दुःख दिए । हरेक सामानको भाउ बढाए । एक केजी दाउराको सय रुपियाँ तिर्नुप¥यो । आठ नौ दिन दाउरामा पकाएर खाएँ । चौरमा गएर भात पकाउनुप¥यो । त्यसपछि छोरीले कहाँबाट ग्याँस ल्याइदिई र सजिलो भयो । सिन्धुपाल्चोकमा भूकम्पले घर भत्काएपछि काठमाडौंमा आएको थिएँ । घरहरू रङ्ग लगाउने काम गर्थे तर ज्याला गरेको पैसाले दुई छाक पकाएर खान पनि मुस्किल प¥यो । नेपाल आए पनि नआए पनि अब फेरि त्यस्तो नाकाबन्दी नगरून् । 

सिर्जना गौतम : नाकाबन्दीको दुःख सम्झिएर सकिँदैन

मोदी फेरि नेपाल आँउदैछन् रे भन्ने सुनेको छु । हाम्रा लागि त किन आउँथे र ? उनकै के स्वार्थ छ, त्यसकै लागि होला । नाकाबन्दी गरेर खाना खान नपाएर त्यति धेरै मान्छे प्याक प्याक्ती परे । हाम्रा नेताहरू पनि खराब, हाम्राभन्दा उताका झन् चार सय बीसका । 

ग्याँस पाइएन, तेल पाइएन, बिरामीलाई समयमा हस्पिटल पु¥याउन पाइएन । कोही सुत्केरीलाई हस्पिटल पु¥याउन लैजादा गाडी नपाएर बाटैमा सुत्केरीसमेत भए । सुत्केरीलाई समयमा भात खुवाउन पाइएन । यो काठमाडौंमा कहाँबाट दाउरा ल्याउनु के । नेपालसँग मित्रता गास्नु थियो भने त्यो समयमा त्यसरी दुःख दिनु हुन्थेन, मैले जानेको । म राजनीति गर्दिनँ, आफ्नो घर व्यवहार हेर्ने मान्छे परेँ ।  अब त्यो नाकाबन्दी पनि हाम्रा नेता र मोदी मिलेर गरेका हुन् कि ? समस्या त कति भोगियो कति । मुटुको अप्रेसन गरेको मुटु रोगी म । धुवाँमा बस्नुहुँदैन, बस्न नहुने मान्छे म । घर हुनेले त एउटा कुनामा चुल्हो बनाए भात पकाएर खाएँ । एउटा मात्र कोठा हुनेले त कहाँ पकाएर खाने । कत्तिले त सधैँ चिउरा र दालमोठ मात्रै खाए । त्यतिबेला समस्या भएर खसी काट्ने अचानो चिरेरसमेत भात पकाएर खाए । त्यतिबेलाको दुःख सम्झिएर सकिँदैन । बरु चाइनाले दियो नि । टाढा भयो, महँगो पर्ने भयो, ल्याउन गाह्रो पर्ने भएर त हो नि ल्याउन नसकेको । विदेशी आउन लागेको छ । खुसी नै लाग्यो, के स्वार्थ लिएर आएको हो त्यो थाहा छैन । नाकाबन्दी गरिस् भनेर रिसाएर ढुङ्गामुडा गर्न भएन । नेताहरूको के साँठगाँठ हुन्छ हामीलाई थाहा हुँदैन् । 

भरत थापा : सानो देशलाई नहेपुन् 

मान्छेहरुले नाकाबन्दीलाई सम्झिएर उनको भ्रमणलाई राम्रो मानेका त छैनन् तर देखावटी रुपमा भएपनि सम्बन्धमा सुधार हुन लागेको हो कि जस्तो लाग्छ । अब केही होला भन्ने आसा पनि छ । उनी आएपछि शुरुमा काठमाडौं आँउनुपर्नेमा किन जनकपुर गएको भनेर सबैले भनिरहेका छन् । सांसदहरुले पनि बोलिरहेका छन् । राजनीति गर्ने मान्छेहरुलाई हम्मेसी बुझ्न गाह्रो हुने रैछ । छिनमा एउटा कुरा गर्छन, छिनमा अर्को कुरा गर्छन् । उनले गरेको नाकाबन्दीको बेला मुख्य रुपमा त खाना पकाँउने ग्याँस दुर्लभ भयो । कहीँ काम बिशेषले बाहिर जान पनि तेलको अभावले गाडी नपाइने, बिरामी हुँदा पनि कहिँ उपचार गर्न जान्छु भन्दा पनि नपाँउने, धेरै बाधा अड्न त भोगियो । 

मान्छेमा ज्यादै दुख परेको बेला अलि पछि थोरै सुख पायो भने अगाडिको दुख बिर्सिने बानी हुँदो रहेछ । वास्तवमा अब त्यो बिर्सिने कुरा त आँउदैन । किनभने यो बेलामा यसरी नाकाबन्दी गरेर दुख दिए भन्ने त सम्झना भइहाल्छ । 

अब छिमेकी देशको मान्छे आउदा नराम्रो मान्न पनि भएन । परम्परादेखि नै दुई देशबिच सम्बन्ध थियो । सानो देशलाई नहेपुउन, फेरी दुःख कष्ट नदिउन् । 

सुशिला मैनाली : फेरी नाकाबन्दी नहोस्, सिमा नमिचियोस्
मोदी आउदैछन रे । त्यतिबेला दिनुसम्म दुःख दिए, अहिले तिनलाई नै भनेर रातारात सडक बनाए । नाकाबन्दीमा कम्ता दुःख भोगिएन । त्यो बेला हामीले सबैभन्दा ठूलो कुरा ग्याँस पाएनौँ । दाउरामा पकाएर खानुप¥यो । अरु चिज पनि पाइएन । चाउचाउ चिउरा खाएर बस्यौ कति दिन त । आधा सिलिन्डरलाई पनि ५५ सय रुपैयाँ तिर्नुप¥यो । 

पानी परेको दिन जडिबुटीको साल्ट ट्रेडिङमा बिहान देखि बेलुकासम्म लाइन बसेर ग्याँस ल्याएको जिन्दगीमा कहिल्यै बिर्सन सकिँदैन । जति दुःख परेपनि एक छाक चाँही पकाएर खाइयो । अब चाँही नेता नेताको सानो कुरामा जनताले दुःख नपाउन । अब फेरी मोदीले त्यसरी नाकाबन्दी नगरुन । कञ्चनपुरतिर पनि हाम्रो साँध मिचेर झगडा भएको भिडियो मैले फेसबुकमा हेरेको थिँए । हाम्रो साँध पनि नमिचोस । यति सानो देश छ, त्यै पनि सिमा मिचि मिचि सिध्याउन लागिसके । सबभन्दा ठूलो कुरा जनतालाई दुख नदिइन र सिमा नमिचियोस । जति नै शत्रु भएपनि तपाई म कहाँ आएपछि स्वागत त गर्नुप¥यो नी ।  

भगवती भुजेल : सुरक्षालाई नेपाली सेना हुँदा हुँदै किन भारतीय सेना ? 

मोदी सरकारले दिएको दुख त कहाँ भुल्न सकिन्छ र । त्यो बेला ग्याँस नपाएर अर्को ब्रान्डको खाली सिलिन्डर साटेको नै हजार रुपैयाँ तिर्नुप¥यो । हाम्रो बाबा ब्रान्डको खाली सिलिन्डर नेपाल ग्याँसको खालीसँग हजार रुपैयामा साटेर ७ सय ५० मा आधा ग्याँस लिनुप¥यो । अहिले मोदीलाई सुरक्षा गर्न जनकपुर र मुक्तिनाथमा इन्डियन आर्मी ल्याएको छ रे । नेपाली आर्मीले सुरक्षा गर्न नसक्ने हो र ? उनको ज्यानको सुरक्षा नै छैन भने यहाँ किन आँउनुप¥यो ? नेपाली सेना छँदै थियो, हाम्रो विश्वास छैन भने उनी आँउनुपर्छ भन्ने कारण छैन नी । हाम्रो स्वार्थका लागि आँउन लागेका त होइनन् होला । उनको आवश्यकताले आएका हुन् नी । साँध मिचेको हामी सधै टिभीमा हेछौँ, तर सरकारले पनि केही गर्दैन । हामीले त के गर्न सक्ने हो र ? 

विद्यार्थी : मुक्तिनाथमा सर्वसाधारणलाई बन्देज गर्नु राम्रो हैन 

नाकाबन्दीको बेला त धेरै समस्या भोगियो नि । खाना बनाउन ठूलो सङ्कट भोग्नुप¥यो । नाकाबन्दीले पनि हामीलाई केही पाठ पनि सिकाएर गयो, हामी आफै उत्पादनशील हुनुपर्छ भनेर । एउटा राम्रो ज्ञान त दियो तर नरेन्द्र मोदीले चलाएको कदमले हामीलाई एउटा दुःख चाहिँ दिएकै हो । फेरि पनि आफ्नो छिमेकी देशसँग सम्बन्ध राख्नु त राम्रो कुरा पनि हो तर उनलाई जति ठूलो प्राथमिकता दिइएको छ, त्यो आवश्यक थिएन । मलाई त्यति राम्रो चाहिँ लागिरहेको छैन । 

नरेन्द्र मोदी आउने भनेपछि मुक्तिनाथमा सर्वसाधारणलाई बन्देज गरियो । निश्चय नै त्यो राम्रो हैन । जनतासँग नै डराउनुहुन्छ भने उहाँ आउनुको कुनै अर्थ छैन । नडराउने हो भने जनतासँग मिलिजुली दर्शन गर्नसक्नुपर्छ । 

पुरानो कुुरालाई बिर्सिएर नयाँ सम्बन्ध बनाउन खोजेको हो भने अब हामीले पनि स्वागत गर्नुपर्छ । यहाँ आएर फेरि पनि पहिलेकै जस्तो गर्ने हो भने कुनै काम छैन । मैले चाहेको त उहाँहरू आए पनि सर्वसाधारणले दुःख नपाउन्, दैनिक काम सहज रूपमा गर्न पाउन्, मैले चाहेको त्यत्ति हो । 

सुविन साउद : सडक बन्द नगरियोस् 

नाकाबन्दीको समस्या त मैले खासै भोग्नुपरेन । म धनगढीमा थिएँ । काठमाडौंमा भएको भए थाहा पाउँथे होला । हाम्रै नेताहरू पनि ठीक छैनन् । मोदी आउँदा जनताले सडकमा दुःख नपाउन् । विद्यार्थीहरू स्कुल क्याम्पस जानुपर्ने हुन्छ, अपिस लागेको हुन्छ । मोदी आउने भनेर सर्वसाधारणलाई दुःख दिने काम नहोस् ।  

कृष्णबहादुर ऐर : दुई देशका सरकार प्रमुखले गरेका प्रतिबद्धता पूरा हुनुप¥यो
छिमेकी देशको सरकार प्रमुख आउनु एक अर्थमा राम्रै कुरा हो । यस्ता उच्च स्तरका भ्रमणहरू यता उता दुवैतर्फ भइरहनुपर्छ । यसले सम्बन्ध बलियो बनाउन राम्रै गर्छ, सम्बन्धमा प्रगाढता आउँछ । अब भ्रमण गरेर मात्र पनि भएन, कहिलेकाहीँ दुई देशका सरकार प्रमुखले प्रतिबद्धता जनाएका कुराहरू लागू नभएका पनि छन्, तिनलाई लागू गर्नुप¥यो । अर्कोतिर सीमामा समस्या छ । सीमा मिचिएका, सीमा क्षेत्रमा बसेका नेपालीलाई उताका सीमा सुरक्षा बलले दुख दिएका, बेला बेला नेपालका सिमाभित्र आएर पनि दुःख दिएका कुरा छन्, त्यो हुनुभएन । 

अर्को वैदेशिक व्यापारको कुरा, भन्सारका कुरा, कर छुटका कुरा, यी कुराहरू पनि भारतले सोच्नुप¥यो नि, यहाँ उत्पादन भएका कुरा पठाउन । भूपरिवेष्ठित मुलुक हो हाम्रो, तेस्रो मुलुकबाट आउने सामान भारतको भूमि भएर निर्वाद रूपमा आउन जान दिनुप¥यो । कहिले के निहुँमा कहिले के निहँुमा यसमा पनि अवरोध भइरहेको छ । यस्तो पनि व्यवहार हुनुभएन नि त । असल छिमेकीको नाताले असल छिमेकीकै व्यवहार हुनुप¥यो नि । 

नेपाल र भारत भनेको धार्मिक पौराणिक रूपमा निर्वाध रूपमा आउने जाने भइरहेको हो । ३ वर्षअघि नाकाबन्दी भयो । नाकाबन्दीको मार त नेपालीले बिर्सेका छैनन् । हाम्रो आन्तरिक कुरालाई लिएर किन नाकाबन्दी गर्नुप¥यो । यो कुरालाई स्वीर्कान सकिँदैन । अब फेरि यस्तो हुँदैन भन्ने ग्यारेन्टी पनि हुनुप¥यो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप