केन्द्रीय संस्करण

महाभूकम्पको तीन वर्ष कट्यो तर क्षतिग्रस्त बीपी सङ्ग्रहालय बन्न सकेन

person explore access_timeबैशाख २९, २०७५ chat_bubble_outline0
लिलु डुम्रे

रातोपाटी

काठमाडौं– २०७२ वैशाख १२ मा आएको विनासकारी भूकम्पले क्षति भएको सुन्दरीजलस्थित बीपी सङ्ग्रहालय हालसम्म सुचारु हुन सकेको छैन । भूकम्पले सङ्ग्रहालयको भौतिक संरचना पूर्ण रूपमा ध्वस्त भएको थियो । भूकम्पका कारण सङ्ग्रहालयको चार करोड रुपियाँभन्दा बढीको क्षति भएको थियो ।

नेपाली काँग्रेसका संस्थापक  नेता बीपी कोइरालाले करिब १० वर्ष बन्दी जीवन बिताएको स्थानलाई विसं. २०६१ भाद्र २४ देखि सङ्ग्रहालयका रूपमा विकास गरिएको थियो । सङ्ग्रहालयको उद्घाटन तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले गरेका थिए ।

 नेपाली सेनाले प्रयोग गर्दै आएको स्थानलाई बन्दीगृह बनाउन १४ वर्षको मिहिनेत लागेको बीपी सङ्ग्रहालय समितिका संस्थापक अध्यक्ष तथा संरक्षक परशुराम पोखरेलले बताए । सेनाको अधिनस्थ भवन तथा जग्गाको स्वामित्व  सङ्ग्रहालयको नाममा ल्याउन त्यस समयमा कठिन भएको उनले बताए । सेनाबाट जीर्ण अवस्थामा प्राप्त गरेको भौतिक संरचनालाई बीपी सङ्ग्रहालय समितिले मर्मतपछि सञ्चालनमा ल्याइएको थियो ।    

नेपालका लागि राजनीतिक व्यक्तित्वका नाममा बीपी सङ्ग्रहालय पहिलो र एक मात्रै हो । बीपी सङ्ग्रहालयलाई राजनीतिक पुस्तकालयका रूपमा पनि विस्तार गरिएको छ । सङ्ग्रहालयका लागि मोरङ, सुनसरी र बनारसदेखि सामग्रीहरू जुटाइएको थियो । बीपीले प्रयोग गरेका सामग्री  धेरै समय लगाएर जुटाएको पोखरेलले बताए । 

 

२४ रोपनीमा फैलिएको बीपी सङ्ग्रहालयको भौतिक संरचना भूकम्पले पूर्ण क्षति भएको थियो । भूकम्पले बीपीलाई राखिएको भवन पनि पूर्ण रूपमा ध्वस्त भएको थियो । भौतिक संरचना नष्ट भएपछि शून्यबाट सुरु गर्नुपर्ने अवस्था आएको पोखरेलले बताए ।

सङ्ग्रहालयलाई सरकारले पुरातत्व विभागको मातहतमा निर्माण गरिरहेको छ । भूकम्पको एक वर्षपछिसम्म पुनः निर्माणको अन्योल रहेको पोखरेलले बताए । सङ्ग्रहालयको पुनः निर्माणका लागि रु. तीन करोड १४ लाख लागत अनुमान गरिएको छ । पुरातत्व विभागमार्फत निर्माणका लागि टेन्डर प्राप्त गरेको ठेकेदार कम्पनीले असार मसान्तसम्मको निर्माण अवधि पाएको छ । निर्धारित समयमा सङ्ग्रहालयको पुनः निर्माण नसकिने अवस्था छ । पुरातत्व विभागको तर्फबाट तीन तले नयाँ भवन निर्माणाधीन छ । जहाँ कार्यक्रम स्थल र प्रशासन रहने बताइएको छ । भूकम्पले क्षति पु¥याएका भवनलाई पुनःनिर्माण गरी अवलोकनका लागि सञ्चालनमा ल्याउने समितिले जनाएको छ । ०७३ को भाद्रमा काँग्रेस सभापति शेरबहादुर देउवाले भवन पुनः निर्माणको शिलान्यास गरेका थिए ।

भूकम्पपश्चात बचेका सामग्रीहरू सुरक्षित तरिकाले राख्न सरकारी तर्फबाट सहयोग नभएको समितिको गुनासो छ । बीपीले प्रयोग गरेका कपडा तथा उनका फोटो बचाउन गाह्रो भएको पोखरेलले जानकारी गराए । भित्तामा टाँगिएका फोटोहरू धेरै नष्ट भएको समितिले जनाएको छ । बीपीले लेखेका केही कागजातहरू पनि नष्ट भएका छन् ।


 
नेपाली काँगे्रसले ०३० जेठ २८ मा विराटनगरबाट अपहरण गरी भारत पु¥याइएको जहाज सङ्ग्रहालय परिसरमा राखिएको छ । ०७० फागुन ४ मा उक्त विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त भएको थियो । टुक्राटुक्रा भएको जहाजलाई दुई वर्ष लगाएर रूप दिएको पोखरेलले बताए । जहाजको पार्टपुर्जा जोडेर अवलोकन गर्नका लागि रु चार करोड ७९ लाख लागेको बताइएको छ । सङ्ग्रहालयमा २००७ मा नेपाली काँग्रेसले गरेको क्रान्तिमा प्रयोग भएका तोप र ट्याङक पनि राखिएको छ ।

राजा महेन्द्रले ०७१ पुस १ को कदमपछि काँग्रेस नेताहरूलाई बन्दी बनाएका थिए । सुन्दरीजल बन्दी गृहमा बीपीसँगै नेपाली काँग्रेसका तत्कालीन नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्र, दिवानसिंह राई, योगेन्द्रमान शेरचन, जमानसिंह गुरुङ र प्रेमराज आङ्दम्बेले जेल जीवन बिताएका थिए ।

राजाको ‘कू’ पछि बीपीले करिब दस वर्ष बन्दी जीवन विताएका सुन्दरीजलको बन्दी गृहमा विताएका थिए । बीपीले बन्दी जीवनमा साहित्यक यात्रालाई निरन्तरता दिएका थिए । बन्दी अवस्थामै बीपीले साहित्यिक कृतिहरू, ‘सुम्निमा’ ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’, ‘मोदी आइन’, ‘बाबु, आमा र छोरा’ एवम् ‘हिटलर र यहुदी’ लेखेका थिए । कथाको सङ्ग्रहहरू ‘जेल जर्नल’ ‘श्वेतभैरवी’, चर्चित, ‘फेरि सुन्दरीजल’ र ‘आफ्नो कथा’ लगायतका कृतिहरू पनि जेल बस्दा लेखेका थिए ।

सङ्ग्रहालय पुनः सञ्चालनको निश्चित पुरातत्व विभागको निर्माणमा निर्भर हुने पोखरेलले बताए ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ