शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मानवअधिकारकर्मी कृष्ण पहाडीको जीवन : मलाई सनक चढ्यो पहेँलो लुगा लगाएँ

आफूलाई गलत लाग्यो भने मानवअधिकारकर्मी कृष्ण पहाडी विरोध गर्न कुनै आइतवार कुर्दैनन् । मानवअधिकारकर्मी पहाडी पूर्वराजा ज्ञानेन्द्रभन्दा सीके राउतबाट मुलुकलाई खतरा देख्छन् । केही समयअघि राष्ट्रपति विद्या भण्डारी पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयन्द्रको व्रतवन्धमा आयोजित भोजमा होटल सोल्टी पुग्दा उनले चर्को विरोध गरे । मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि क्रियाशील स्वयम्सेवी संस्था मानवअधिकार तथा शान्ति समाजसम्बद्ध मानवअधिकारकर्मी कृष्ण पहाडीसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
शनिबार, ०६ जेठ २०७४, १४ : २२
शनिबार, ०६ जेठ २०७४

मेरो खाना

मेरो भोजन सीमित छ । म दालभात, आलु, गेडागुडीमा चना र मटरमात्रै खान्छु । दाल नभई हुँदैन । दाल र आलु धेरै खान्छु । कार्बोहाइड्रेड बढी छ, प्रोटिन कम छ । स्वास्थ्यमा समस्या छ । औषधि सेवन गर्दै आएको छु । मन नपर्नेभन्दा नखाने खाना धेरै छ । पछिल्लो समय दूध खान छाडें । चीज, पनिर, मिठाइ, कोल्डड्रिङ्क्सलगायत खान्न ।

खानका लागि शाकाहारी रेष्टुरेन्ट जान्छु । आलु मन पर्ने स्न्याक्स हो । विद्यार्थीकालमा आफैंले खाना पकाएँ । संवत् २०४१ यता खाना पकाएको छैन ।


मेरो पोसाक

पहेंलो रङको पोसाक लगाउन थालेको २० वर्ष भयो । एक वर्ष सेतो लगाएँ । त्यसअघि जस्तो उपलब्ध हुन्थ्यो त्यस्तै लगाउँथें । मैले लगाउने लुगा नातेदारलाई थाहा छ, उहाँहरूले विदेशबाट पठाइदिनुहुन्छ ।

मैले लगाउने जुत्ता पनि नेपालमा पाइँदैन । बाहिरबाट पठाइदिएका हुन् । म छालाको जुत्ता लगाउँदिनँ । लुगा लगाउँछु भने पनि नेपालमा पाइँदैन । ज्याकेट पाइए किन्छु । मैले लगाएको जुत्ता जापानको मल्टिनेसनल कम्पनीमा बनेकोे हो । मलाई हड्डीको समस्या छ । मैले हिलप्याड लगाउनुपर्छ । त्यो जुत्तामै हुन्छ । पहेँलो लुगा लगाउँदैमा पुण्य हुने होइन । यस्तो लुगा लगाउनु भनेको मेरो जाने बाटो स्मरण गराउँछ । मलाई सनक चढ्यो पहेंलो लुगा लगाएँ । केही समयअघि दरबारमार्गमा पहेंलो ज्याकेट भेट्टाएपछि नौ हजारमा किनें ।

मेरो फिटनेस

दुईपटक गरेर आठ महिना जेल बसें । त्यतिबेला काम थिएन । त्यसताको योगा गर्थें । विपश्यना, प्राणायाम गर्थें । जेलबाहिर आएपछि मैले लत्तो छाडें । तपार्इंलाई जतिखेर निद्रा लाग्छ सुत्नुस् । जतिसुकै महत्वपूर्ण काम÷कार्यक्रम भए पनि निद्रा लाग्यो भने म सुतिहाल्छु । निद्रा राम्रो पर्यो भने दिन रमाइलो हुन्छ । स्वस्थ भइन्छ । निद्रा परेन भने दिनभरि खचमच हुन्छ । म कम्तीमा आठ घन्टा सुत्छु । बेलुका सुत्ने ठेगान हुँदैन । कहिले बिहान चार बजेसम्म जागै हुन्छु । कहिले १२ बजे सुत्छु । बिहान ढिलो उठ्छु ।

मैले खान हुने खानेकुरा सीमित भएकाले स्वतः डाइटिङजस्तै भएको छ । म बिहानै उठ्दै नउठ्ने भएकाले मर्निङवाक निस्कने कुरै भएन । मैले शारीरिक व्यायाम गर्नुपर्छ, स्वस्थ रहनुपर्छ भनेर कहिल्यै सोचिनँ ।

मेरो अध्ययन

हिजोआज अखबार पढ्छु । त्योबाहेक केही पनि पढेको छैन । आत्मकथा पढ्न जाँगर चल्छ । नेपालका प्रसिद्ध व्यक्तिले लेखेका आत्मकथा पढ्न आनन्द लाग्छ । आत्मकथाले इतिहास बुझ्न सघाउँछ । लेखकको शैली बुझ्न सकिन्छ । त्यो एउटा चलचित्रभन्दा कम हुँदैन । आत्मकथा र यात्रावृत्तान्त प्रायः पढ्छु ।

लेखक सबैलाई माया गर्छु । कसैलाई बढी त कसैलाई कम गरिएला । जीवनका कालखण्ड धेरै पढे पनि हिजोआज एकदमै कम छ । मेरा २६ कृति प्रकाशित भए । ८२ कविता समेटेर कवितासंग्रह प्रकाशित गर्ने तयारीमा छु । २७औं कृति एक/डेढ महिनामा प्रकाशित हुन्छ । २८औं किताब नदीबारे छ ।

निजी पुस्तकालयमा चार÷पाँच सयभन्दा बढी किताब राख्दिनँ । किताब सालिन्दा छाँट्दै जान्छु । मतलब किताब बाँड्ने गर्छु । मसँग भएका किताब पनि अरूलाई दिने पक्षमा छु । आफूलाई ४०/५० भन्दा बढी किताब राख्दिनँ ।

किताबमा खर्च गरे जति पनि हुन्छ । नगरे कति पनि हुँदैन । किनकि म अरूमा आश्रित छु । मेरो एक पैसा कमाइ छैन । जीवनमा एक पैसा कमाइनँ । कहींबाट तलब लिइनँ । म पैसा खाने ठाउँमा पुगिनँ र बिचौलिया भएर कसैको पैसा खाइनँ तर म अरूको आश्रयमा बसेको छु । यदि पैसा भइहाल्यो भने संस्थाहरूलाई दिन्छु । गोरखा भूकम्पका बेला धेर/थोर बाँडेको थिएँ ।


मेरो घुमफिर
पछिल्लो समय घुमफिरमा रुचि जागेको छ । नदीकिनार घुम्छु । कोसी, गण्डकी, भेरी, कर्णाली र बागमतीकिनार धेरै डुलें । बागमतीकिनारमा मध्यरातमा समेत डुलेको छु । नदी जीवन र जगत्सँग सम्बन्धित छ । जल भनेको जीवन हो । जीवनको स्रोत हो ।

६९ जिल्ला टेकेको छु । २७ देश पुगेको छु । नेपालभन्दा राम्रो देश कहीं लागेन । हामी साह्रै भाग्यमानी, हामीले नेपालमा जन्म लिन पायौं । नेपालका कतिपय ठाउँ अद्वितीय छन् । हिजोआज दैनिक दुई घन्टाभन्दा बढी हिँड्न मिल्दैन । त्यसैले ४० वर्षअघि घुम्नुपर्छ ।

नेपालका हरेक ठाउँ राम्रा छन् । इलाम त्यत्तिकै राम्रो छ । घान्द्रुक, मुक्तिनाथ, जोमसोम उस्तै राम्रो छ । नदीकिनारैकिनार त्यत्तिकै राम्रो । नेपालमा हरियाली छ । नेपाल रसमय छ ।

मेरो फुर्सद

हिजोआज फुर्सदै फुर्सदमा छु । आफूलाई कति व्यस्त राख्ने भन्ने हो । बिहान नौ/दस बजेपछि आफ्नो कर्म सुरु हुन्छ । चार/पाँच बजेसम्म मानवअधिकार तथा शान्ति समाजमा बस्छु । कार्यक्रम छ भने जान्छु नत्र सिधै घर फर्कन्छु । टीभी हेर्छु । इन्टरनेटमा रमाउँछु ।

मन लागे किताब पढ्छु । टीभीमा मन लागेको कुरा हेर्छु । प्रविधिमा धेरै झुन्डिनुभयो भने मानसिक रूपमा उद्दिग्न भइन्छ । उद्दिग्न भनेको आफूले आफैंलाई डिस्टर्ब गर्नु हो ।

मेरो खेलकुद

भारतको म्याच छ भनेमात्रै क्रिकेट हेर्छु । अरूको हेर्दिनँ । क्रिकेटको मामलामा म भारतको समर्थन गर्छु । भारतले गरेको नाकाबन्दी विरोधमा म गिरफ्तारीमा परें । भारतीय सत्ताले गरेको गलत कामको विरोध गर्छु तर क्रिकेटमा भारतीय खेलाडीले रन बनाउँदा खुसी हुन्छु ।

कसैको पक्ष लिइएन भने म्याचमा स्वाद हुँदैन भन्छन् । सत्यको अभ्यास गर्दा कहिलेकाहीं दुःख पनि हुँदोरहेछ, आफ्नो टिमले हार्दा । तर, म उद्दिग्न बन्दिनँ । हार्यो भने हार्यो । जितिदिए हुन्थ्यो भन्ने लाग्नु अस्वाभाविक होइन ।

फुटबल त्यस्तै स्वादको हुन्छ । तर, म ‘एडिक्ट’ होइन । जीवनको कुनै कालखण्डमा टापटिपे तालले खेलें । जुन खेल उल्लेख गर्न लायक छैन ।


मेरो मोबाइल

म मोबाइल बोक्दिनँ । तर, विदेश जाँदा तीनपटक प्रयोग गरेको छु । सन् २००० मा निर्वाचन अनुगमन गर्न श्रीलंका जाँदा चार÷पाँच दिन मोबाइल प्रयोग गरेको थिएँ । उसले मोबाइलमात्रै होइन, दोभाषे, गाडी पनि दियो । त्यतिबेला नेपालमा धेरैले मोबाइल बोकेकै थिएनन् । कार्यक्रम सकिएपछि फिर्ता गरें ।

सन् २००५ मा जेलबाट छुटेपछि अमेरिका पुगें । अमेरिकामा कार्यक्रम संयोजन गर्दा कार्यक्रम आयोजकले मोबाइल दिएका थिए । १२/१४ दिन प्रयोग गरें । कार्यक्रम सकिएपछि फिर्ता गरें । ०६२ माघमा पुनः पक्राउ परें । प्रहरी प्रशिक्षण दुई नम्बर गणमा राखेपछि नातेदारको मोबाइल प्रयोग गरें । कतिलाई भ्रम होला त्यो नम्बर कृष्ण पहाडीकै हो भनेर । जेलबाट छुटेपछि मोबाइल आफन्तलाई फिर्ता गरें ।

घरमा टेलिफोन छ । कार्यालमा पनि छ । कामविशेषले विभिन्न जिल्ला पुग्दा त्यहाँका साथीहरूको मोबाइल हुन्छ । म प्रविधिको विरोधी होइन । तर, उपचार गर्न भारत जाँदा साह्रै दुःख पाएँ । मोबाइल भएको भए केही सहज हुन्थ्यो । यात्रामा मोबाइल चाहिँदोरहेछ । तर पनि प्रयोग गरेको छैन । म सामाजिक सञ्जाल फेसबुक, ट्वीटर पनि प्रयोग गर्दिनँ । इमेलमात्रै छ ।

मेरो टेलिभिजन

टीभी असाध्यै हेर्छु । विशेषतः क्रिकेट हेर्छु । च्यानल खोज्दै जाँदा जुन मन लाग्छ, त्यही हेर्छु । फुर्सदको बेला टीभी हेर्छु । सामान्यतः साँझ ५/६ बजेपछि टीभी हेर्ने साइत जुर्छ । घरमा एलजीको २४ इन्चको टीभी छ ।

मेरो चलचित्र

२०५०/०५१ मा हलसम्म पुगेर एउटा फिल्म हेरेको थिएँ । हेरेको फिल्मको नाम सम्झना छैन । टीभीमा प्रसारण हुने हिन्दी र अंग्रेजी फिल्म आक्कलझुक्कल हेर्छु । टीभीमा हेरेकामध्ये अंग्रेजी फिल्म ‘अवतार’ अभूतपूर्व लाग्यो ।


मेरो रोग

ज्यानलाई ठीक छैन । लामो समयदेखि हड्डीको समस्या छ । हातको ट्युमरको अप्रेसन गरेको हो । प्रोस्टेटको ‘लङ ट्रम’ औषधि सेवन गर्दै आएको छु । थाइराइड बढिसकेको छ । औषधि लिने कि नलिने भन्नेमा छु । भिटामिन ‘डी’ कमीका कारण औषधि सेवन गर्दै छु । होलबडीभन्दा ब्लड टेस्ट नियमित गराइरहनुपर्छ ।

शरीर भनेको रोगका घर हुन् । ५० वर्षपछि नाघेपछि रोगले गुँड लगाउँछ । रोग भनेको शरीर क्षयीकरणको प्रक्रिया हो । यसले सम्बन्धित मानिसको अन्त्यलाई सहज बनाउँछ ।

मेरो भाषणशैली

आफूले आफ्नै भाषणशैली मूल्यांकन गर्दा समय कटाउने उपायजस्तो लाग्छ । तर, मलाई जे लाग्छ, त्यो बोल्छु । मैले बोल्दा सोच्ने र बोल्ने गति मिल्नुपर्छ । नत्र सोचेको कुरा हराउन सक्छ ।

भाषण गर्दा थेगो प्रयोग गरेको सम्झना छैन । मेरा भाषण अन्तरआत्मको आवाज हो । तपाईं आन्दोलन गर्नुहुन्छ भने पहिले आफू आन्दोलित हुनुपर्छ । नक्कली कुरा गरेर सकिँदैन । तपाईं आन्दोलित हुनुभयो भने त्यही आवाज मुखरित हुन्छ । तपाईंको मन आन्दोलित भयो भने भाषण गर्नुअघि तयारी गर्नुपर्दैन ।

मेरो मापसे

२५ वर्षअघि धेरै बियर पिउँथें । रक्सी/वाइन पनि पिइन्थ्यो । ब्रान्डभन्दा पनि जे पायो त्यही पिइन्थ्यो । विद्यार्थी जीवनमा पैसा हुँदैनथ्यो, जसले खुवाउँथ्यो, खाइन्थ्यो । त्यतिबेला दुई बोतलभन्दा बढी बियर खान सकिनँ । २५ वर्ष लाग्दा नलाग्दै मादक पदार्थमात्रै होइन, माछामासुलगायत धेरै खानेकुरा छाडें ।


मेरो संगीत

गीत/संगीत सुन्छु । मलाई मन लागेको गीत आयो भने नेटमा सुन्छु/हेर्छु । दार्शनिक प्रकृतिका गीत मन पर्छ । कहिलेकाहीं संगीत सुन्न मन लागे नेटमा सर्च गर्छु । सबै गायकगायिकाप्रति श्रद्धा छ । म बाथरुम सिंगर हुँ । जीवन रसमय हुनुपर्छ । मैले गीत गाए सबैभन्दा घटिया हुन्छ ।

मेरो भूल

२५ वर्षपहिले मेरो जीवनचक्र अर्कै थियो । त्यसपछि पश्चाताप लाग्नेगरी गल्ती गरेको छैन । मैले गल्ती गरेको अनुभूति गरें भने राति १२ बजे पनि फोन गरेर माफी माग्ने गर्छु । नत्र छटपटी हुन्छ । तसर्थ, आत्माग्लानि हुने काम गर्दिनँ ।

२५ वर्षअघि किशोर अवस्थामा झुटो बोलिन्थ्यो । गफ दिइन्थ्यो । माछामासु खाँदै हिँडियो । म निर्णय कार्यान्वयन गर्ने ठाउँमा बसिनँ । त्यसैले ग्लानि र गर्वभन्दा माथि कर्म गरें ।

मेरो राशी

मेरो राशी वृष हो । प्रत्येक मानिस विरासत, वृत्त र वृत्तिबाट वशीभूत हुन्छन् । सम्बन्धित मानिसले हजारौं वर्षअघि आमाबाबुपट्टिबाट विरासतमा एउटा गुण ल्याएका हुन्छन् । एउटा वृत्तमा उसको जन्म हुन्छ । ग्रहदशा भनेको त्यही हो । त्यसले वृत्ति विकास गर्छ । वृत्ति कस्तो छ ? ऊ गम्भीर स्वभावको हो कि । हँसिमजाकमा अल्मलिन्छन् कि ? वृत्ति, वृत्त र विरासतको संगम नै मानव जीवन हो ।

म ज्योतिषीकहाँ जान्न । मणि/माणिक्य लगाउँदिनँ ।

मेरो सौन्दर्यचेत

कहिलेकाहीं कपालमा तेल लगाउँछु । वर्ष दिन भयो केस नकाटेको । कपाल पालेर सन्न्यासी भइँदैन । नराम्रो हुँदाहुँदै पनि केस नकाट्ने निर्णय गरेको छु । फेसियल कहिल्यै नगरे पनि काखीमा गन्धनिरोधक प्रयोग गर्छु । हड्डीको बिरामी हुँदा चिकित्सकीय दृष्टिकोणले एकपटक मसाज गरेको छु ।

मेरो सपना
म दिन कटाउँछु । राम्रो भए राम्रो हुन्छ । नराम्रो भयो भने पनि व्याकुल हुन्न । प्रयास भइरहेको होला भन्ठान्छु । भ्रान्तिमाझ हामीले धेरै घमन्ड गर्नुहुँदैन ।

मेरो मृत्यु

जन्म सत्य हो भने मृत्यु परम् सत्य । यसलाई सहज बनाउनुपर्छ । मलाई कुनै कुरासँग डर लाग्दैन । आफूले गल्ती गरेँ भनेमात्रै डर लाग्ने हो ।

म सत्याग्रहमा गएँ । पाँचपटक आमरण अनशन बसें । बढीमा सात दिन, कम्तीमा तीन दिनसम्म । त्यतिबेला एकप्रकारको बेहोशीको अनुभूति हुन्छ । जब लामो समय अनशन बसिन्छ, तब शरीरका अवयवले संकेत गर्छ– शरीरले ठाउँ छाड्न थाल्यो है भन्ने थाहा हुन्छ । त्यतिबेला निद्रा लाग्दैन, लागिहाल्यो भने पनि तन्द्राजस्तो हुन्छ । भोक लाग्दैन तर क्षोभको पीडा भयानक हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोपाल सिग्देल
गोपाल सिग्देल

सिग्देल राजनैतिक विषयमा दख्खल राख्दछन् ।

लेखकबाट थप