शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

होला त जेठ ७ गते अगाडि एमाले-माओवादी एकता ?

बुधबार, ०२ जेठ २०७५, ११ : ३५
बुधबार, ०२ जेठ २०७५

काठमाडौं– एमाले र माओवादीबीच बढेको दूरी अचानक कम हुँदै गएको देखिएको छ ।

नाटकीय रूपमा घटनाक्रमहरू विकसित भएनन् भने यसै साता एमाले र माओवादीबीच एकताको कोर्स पूरा हुन सक्छ । 

एकताको तयारीकै लागि आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच ‘वान टु वान’ संवाद पनि भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भोलि १० बजे एकता संयोजन समिति बैठक बोलाउने सहमति भएको छ ।

सरकारको नीति तथा कार्यक्रम आउनुपूर्व नै पार्टी एकताको कोसिस भइरहेको नेताहरूले बताएका छन् । 

सरकारको नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत हुँदैछ ।

‘नीति तथा कार्यक्रम अगाडि नै एकताका लागि गृहकार्य भएको छ । छलफल जारी छ र सम्भावना पनि छ ।’ माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले रातोपाटीसँग भने । बाहिर आए जस्तो दुई पार्टीबीचमा विवाद थिएन । पार्टी एकताका लागि हाम्रा सबै तयारी पूरा भएका छन् । यही हप्ता पार्टी एकता हुने सम्भावना धेरै छ, नेता श्रेष्ठले भने । 

दुवै पार्टीका शीर्ष नेताहरू एकीकृत पार्टी बनाएर नीति तथा कार्यक्रम ल्याउने सहमतिमा पुगेको दाबी गरिएको छ । 

‘यसअघि विवादमा रहेका विषयहरूबारे एमाले र माओवादी शीर्षनेताबीच सहमति भएअनुसार आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गराउने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर अगाडि बढ्ने तयारी छ ।’ कार्यदलमा बसेर काम गरेका एक नेताले भने । आज साँझ वा भोलि एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको छ । 

एमालेले एकताका विषयमा छलफल गर्न आज चार बजे नै स्थायी समिति बैठक बोलाएको छ । चार बजे एमाले स्थायी समिति बैठक बालुवाटारमा बस्दैछ । 

मङ्गलबार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले एक कार्यक्रममा एकताका विषयमा जानकारी लिन पत्रकारलाई आज चार बजे बालुवाटार आउन भनेका थिए । 

युवा सङ्घ नेपालको २८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भनेका थिए, ‘दुई पार्टीका नेताहरूलाई दुईतिर फर्केको तस्बिर राखेर गलत प्रचार गर्नेहरूलाई अहिले सन्तोष मान्न दिऊँ तर हामी दुई, तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौँ । पत्रकारहरू भोलि बालुवाटारमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दैछौँ ।’ 

ओलीले त्यहाँ ‘अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा नेकपा (माओवादी केन्द्र) सँग एकता हुने’ बताएका थिए । आफूहरूको एकता भाँड्न खोज्नेहरूलाई जवाफ दिँदै कुनै पनि दिन एकता हुन सक्ने भएकाले त्यसको तयारीमा रहन आह्वान गरेका थिए । 

सोही कार्यक्रममा ओलीले एकतापछि समृद्धि, सुशासन र राष्ट्रिय स्वाधीनताका लागि देशव्यापी अभियान सञ्चालन गरेर दुनियाँलाई देखाउने दाबी गरेका थिए । प्रधानमन्त्री ओलीले चुनावी घोषणापत्रअनुसार समृद्धि र न्यायपूर्ण समाज अनुकूल संयुक्त नीति कार्यक्रम र बजेटको तयारीमा सरकार रहेको पनि बताएका थिए । 

अर्का वरिष्ठ नेता माधवकुमार नेपालले छिट्टै पार्टी एकता गरेर समृद्धि र स्थायित्वको अभियान दिशामा मुलुकलाई लगिने बताएका थिए । 

मङ्गलबार नै एमालेका नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पार्टी एकता चाँडो गर्ने विषयमा छलफल भएको थियो । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दुई नेताबीच भएको छलफलका क्रममा छिटोभन्दा छिटो एकता संयोजन समिति बैठक राखेर रोकिएको एकता प्रक्रियालाई अगाडि बढाउनका लागि छलफल भएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका थिए । 

ओली–प्रचण्ड अचानक नजिक देखिएका भए पनि यसअघि एकताका लागि विवादमा रहेका भनिएका विषय कसरी टुङ्गिए भन्नेबारे नेताहरूले स्पष्ट पारेका छैनन् । तर ओली–प्रचण्डबीचको दूरी कम गर्न दोस्रो तहका नेताहरूले नियमित प्रयास कामय राखेका थिए, जसले पालैपालो ओली र प्रचण्डलाई भेटेर दुई नेताबीच रहेको अविश्वास हटाउन भूमिका खेलेका थिए । 

तीन विवादित विषयमध्य जनयुद्ध भन्ने शब्द विधानको प्रस्तावनामा राख्ने, प्रतिशतका आधारमा नभई बराबरीको सिद्धान्तका आधारमा केन्द्रीय समिति बनाउने, आलोपालो बैठकको अध्यक्षता गर्ने र सरकारको नेतृत्व आलोपालो गर्नेजस्ता विषयमा अझै लिखित सहमति चाहिँ बनेको छैन । यद्यपि सबै कुरा मिलिसकेको नेताहरूको दाबी छ । 

पछिल्लो पटक वैशाख ९ गते पार्टी एकता गर्ने भनिए पनि टरेको थियो । त्यसपछि नेताहरूबीच दूरी बढ्दै गएको थियो ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि एकता थप भाँडिएको सन्देश नजाओस् भनेर दुवै पार्टीका नेताहरूले एकतामा जोड दिएका छन् । मोदी दुई दिने भ्रमण सकेर फर्केपछि दुई पार्टीका अध्यक्ष ओली प्रचण्डबीच एकताका विषयमा कुराकानी भएको बताइएको छ । सकेसम्म जेठ ६ मा एकता गर्ने ओली र प्रचण्डको सोच छ । नेताहरूले अब पार्टी एकतामा सप्र्राइज दिने भन्ने खालको अभिव्यक्ति दिँदै आएका थिए । 

यद्यपि यसअघि पटक–पटक उनीहरूले एकताको नजिक पुगेको बताए पनि अन्तिम समयमा केही न केही समस्या वा विवाद देखिने गरेको थियो । 

पछिल्लो पटक प्रधानमन्त्री केपी ओलीले गरेको एक ट्विटले ओली र प्रचण्डबीच देखिने गरी दूरी बढेको थियो । 

वैशाख २३ गते प्रधानमन्त्री ओलीले ‘हामी विकास र सवृद्धिको एजेन्डामा हिँडिरहेका छौं,  आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुचि हुन सक्छ । लोकतन्त्रमा  जनता बलिया हुन्छन् र त्यसको प्रतिविम्ब सरकारका काममा देखापर्छ । किनकि सरकारले जनताबाटै कार्यदेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामै थियो र छ ।’ भन्ने ट्विट गरेका थिए ।

उक्त ट्विट आफूलक्षित रहेको प्रचण्डको बुझाइ थियो । 

प्रचण्डले नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग तीन चरणसम्म भेटवार्ता गरेका थिए । त्यसपछि ओलीले ट्विटरमार्फत प्रचण्डलाई लक्षित गर ट्विट लेखेका थिए । यद्यपि यस्तो भेट भट्टराई र यादवसँग ओलीले पनि गरेका थिए । मङ्गलबार मात्रै माओवादी नेता नारायणकाजी श्रेष्ठले यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पर्साले मङ्गलबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा     नेता श्रेष्ठले फोरमलाई चाँडै सरकारमा सहभागी गराइने जानकारी दिएका थिए । 

सरकार सञ्चालनमा प्रधानमन्त्रीको एकल कार्यशैली देखिएको भन्दै माओवादी मन्त्रीहरूले प्रचण्डसँग गुनासो गरेका थिए । यसले पनि प्रधानमन्त्री ओली र प्रचण्डबीच दूरी देखिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप