बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

चार लाख बढी लाभग्राहीको दोस्रो किस्ता प्रमाणीकरण

बुधबार, ०२ जेठ २०७५, १३ : २१
बुधबार, ०२ जेठ २०७५

काठमाडौँ– भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।  स्थानीय तहसँग सहकार्य, प्राविधिक जनशक्ति उपलब्ध र निजी आवास पुनःनिर्माणमा समयसीमा निर्धारण गरिएकाले घर बनाउनेको संख्या बढेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए । 

मंगलबारसम्मको तथ्यांकअनुसार दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएकामध्ये रु चार लाख दुई हजार ७०३ लाभग्राहीको नाम प्रमाणीकरण भएको छ । 

निजी आवास पुनःनिर्माणले गति लिएसँगै एक लाख ५२ हजार १३० घर पुनःनिर्माण भएको छ । पछिल्लो तथ्यांङअनुसार चार लाख ५३ हजार ६८३ घर पुनःनिर्माण भइरहेको छ । भूकम्प अति प्रभावित १४ जिल्लामध्ये दोलखा र सिन्धुपाल्चोकमा सबैभन्दा धेरै घर पुनःनिर्माण भएका हुन् । 

दोलखामा अहिलेसम्म २८ हजार ८०७ घर पुनःनिर्माण भइसकेको छ भने ४८ हजार २७१ घर पुनःनिर्माण भइरहेका छन् । अहिलेसम्मको तथ्यांक अनुसार सिन्धुपाल्चोकमा ६९ हजार ४१५ घर पुननिर्माण भइरहेको भने २० हजार ९७१ घर निर्माण भइसकेका छन् ।  कूल सात लाख ६७ हजार ७०५ लाभग्राही सूचीमा रहेकामा सात लाख दुई हजार ३९४ घरधुरीले पहिलो किस्ता लिइसकेका छन् । 

यसैगरी तेस्र्रो किस्ता भुक्तानीका लागि निवेदन दिने लाभग्राहीको संख्या एक लाख ४८ हजार ४८४ पुगेको छ । तेस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएको लाभग्राहीको संख्या एक लाख ४० हजार ५६० पुगेको प्राधिकरणले जनाएको छ । 

भूकम्पले घर क्षति भई लाभग्राही सूचीमा परेकाले पुनःनिर्माणका लागि पहिलो तीन किस्तामा अनुदान पाउँछन् । पहिलो किस्ता रु ५० हजार, दोस्रो किस्ता रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख दिने व्यवस्था गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप