बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पार्टी एकतामा ब्रेकथ्रु : एकता घोषणा गृहकार्यका २४ घण्टा

बिहीबार, ०३ जेठ २०७५, ११ : १९
बिहीबार, ०३ जेठ २०७५

काठमाडौँ । लामो समय सुस्त जस्तै देखिएको एमाले–माओवादी एकता प्रकृयाले बुधबार अचानक तीव्रता पायो र पार्टी एकतामा ब्रेक थु्र भयो । 
बुधबार एमाले अध्यक्ष ओली  र प्रचण्डबीचको छलफलले एमाले–माओवादी एकता बिहीबार नै गर्ने निर्णय ग¥यो । सबैभन्दा पहिला रातोपाटीले एमाले माओवादी एकता बिहीबार हुने भनेर समचार प्रकाशित गरेको थियो । बुधबार ११ बजेयता एकाएक यसरी भएका थिए राजनीतिक घटनाक्रमहरूको विकास  । 

१. बुधबार बिहान–ओली र प्रचण्डबीच वान टु वान । एकता घोषणा गर्न एकता समितिको बैठक बोलाउने निर्णय ।

२.बुधबार– ४ः ००  बजे– एमाले स्थायी समिति बैठक, पार्टी एकताका लागि भएको सहमति अनुमोदन ।

३. बुधबार– ४ः०० बजे– माओवादीको विस्तारित बैठक, एकता घोषणा अनुमोदन । 

४. बिहीबार ८ः०० बजे– २५औं मदन आश्रित स्मृतिमा पहिलो पटक ओली र प्रचण्ड सहभागी ।
बिहीबार– १०ः०० बजे– पार्टी एकता संयोजन समितिको बैठक ।

५. बिहीबार– ११ः०० बजे एमाले केन्द्रीय समिति बैठक ।

बुधबार बिहान एमाले अध्यक्ष केपी ओली तथा माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको झण्डै अढाइ घण्टा लामो छलफलपछि एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएसँगै दुई दल एकताको आन्तरिक तयारीमा जुटे ।

एमालेले बुधबार अपरान्ह ४ बजे स्थायी समिति बैठक बोलायो भने माओवादीले पनि उही समयमा पार्टीको कार्यालयको विस्तारित बैठक बोलायो । माओवादीले विस्तारित बैठक बोलाएको केही समयपछि एमालेले फेरि बिहीबार नै आकस्मिक केन्द्रीय समिति बैठक डाक्यो । 

पहिला ओली प्रचण्ड वान टु वान

एमाले माओवादी एकता हुँदैन कि भन्ने आशङ्का उब्जिरहेका बेला एमाले र माओवादी केन्द्रका अध्यक्षबीच बुधबार बिहान वान टु वान छलफल भयो । उक्त छलफलमा बिहीबार एकतालाई टुङ्गोमा पु¥याउन पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति भयो ।

 प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार बिहान छलफल गरेपछि पार्टी एकता संयोजन समितिको बैठक बिहीबार बिहान १० बजे बोलाउने तय भायो । वान टु वानमा प्रायः एक्लाएक्लै बस्ने दुई नेता बुधबार भने एमालेका विष्णु पौडेल र माओवादी नेता जनार्दन शर्मा पनि सहभागी भए । 

त्यसपछि एमाले स्थायी समिति... 

बालुवाटारमा ओली र प्रचण्डको वान टु वान वार्ता सकिएको केही बेरमै एमालेले बुधबारै बेलुका एकताबारे छलफल गर्न आकस्मिक स्थायी समिति बैठक बोलायो । नेकपा एमालले बुधबार अपरान्ह ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको बैठकले पार्टी एकताको प्रस्ताव अनुमोदन गरेको थियो भने पार्टी एकतापछि निर्माण हुने नयाँ पार्टीको केन्द्रीय समितिको खाका तयार गरेको छ । 

माओवादीको विस्तारित पनि बुधबारै

एमालेले स्थायी समिति बैठक बोलाएको केही बेरमा माओवादी केन्द्रले पनि सोही समयमा पार्टी कार्यालयको विस्तारित बैठक बोलायो । माओवादी बैठक भने प्रचण्ड निवास खुमलटारमा बस्यो । दुवै बैठकमा पार्टी एकतामा भइरहेका प्रगतिबारे छलफल भए र एकतालाई टुङ्ग्याउने विषय अनुमोदन गरियो । 

एमालेले बोलायो केन्द्रीय समिति 

एमालेको स्थायी समिति र माओवादीले विस्तारित बैठक बोलाएको केही क्षणमा एमालेले फेरि आकस्मिक केन्द्रीय समिति बैठक बिहीबार (आज) लाई बोलायो ।  बालुवाटारमा बस्ने बैठकले निर्वाचन आयोगमा एकीकृत पार्टी ‘नेपाल कम्युनिस्ट पार्टी दर्ता गर्ने निर्णय अनुमोदन गर्नेछ । नेताहरूका अनुसार ३ बजे आयोगमा पार्टी दर्ता गरिने र ५ बजे पत्रकार सम्मेलन गरेर पार्टी एकता घोषणा गरिनेछ । 
ओलीले मङ्गलबारै दिएका थिए सङ्केत

पछिल्लो समय एमाले माओवादी एकता टर्दै गएको जस्तो देखिएको थियो । यसरी पार्टी एकता हुँदैन कि भनेर बाहिर आएका अड्कलबाजीहरू सुनेका एमाले अध्यक्ष केपी ओलीले मङ्गलबारको एक कार्यक्रममा एकता कुनै हालतमा नरोकिने भन्दै बुधबार ४ बजे बालुवाटारमा हेर्न आउन भनेका थिए । सोही दिन प्रधानमन्त्री ओलीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकता फुट्नका लागि नभएर जुट्नका लागि भएको स्पष्ट पारेका थिए । 

मदन–आश्रित स्मृतिमा ओली प्रचण्ड

इतिहासमा पहिलो पटक एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा एकैसाथ सहभागी भए । २५औं स्मृति दिवसलाई उनीहरू दुवैले सङ्क्षिप्त सम्बोधन गरे । त्यसक्रममा अध्यक्ष ओलीले दुई पार्टीको एकतापछि गरिने नयाँ पार्टी दर्ताले नेपालको भविष्य निर्धारण गर्ने जिकिर गरे । ‘सबैले सोचेका होलान, आज पार्टी दार्ता मात्र हो,’ उनले भने, ‘नेपालको भविष्यको दर्ता गर्दैछौँ । यसले नेपालको कता जाँदैछ भनेर निर्धारण गर्नेछ ।’

माओवादी अध्यक्ष प्रचण्डले आजै पार्टी एकता घोषणा गर्नका लागि आफूले नै पहल गरेको जिकिर गरे ।

‘इतिहास नयाँ ढङ्गले निर्माण गर्दैछौँ,’ उनले भने, ‘सङ्घर्ष, रूपान्तरण एकता भएर एकता गरेका हौँ ।’

मदन भण्डारीबारे चर्चा गर्दै उनले भण्डारी नेपाली जनताले जन्माएको पात्र भएको जिकिर गरे ।

यस्तो हुनेछ एकीकृत पार्टीको केन्द्रीय कमिटी

दुई दलको कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने, माक्र्सवाद लेनिनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्नेलगायत विषयमा सहमति भएको छ । 

प्रस्तावित पार्टीको स्थायी समितिमा ४३ जना रहने निर्णय गरेको छ । जसमा एमालेको तर्फबाट २५ जना रहने र माओवादी केन्द्रको तर्फ १८ जना रहने निर्णय गरेको छ ।   त्यस्तै  केन्द्रीय समितिमा ४४१ जना रहने निर्णय गरेको छ, जसमा एमालेको तर्फबाट २ सय ४१ र माओवादी केन्द्रको तर्फबाट २ सय जना रहने निर्णय गरेको हो । पार्टीको चुनाव चिन्ह भने सूर्य रहनेछ ।

के थियो यसअघिको गृहकार्य ?

–एमाले र माओवादीले गत १७ असोजमा गठबन्धन बनाउँदै चुनाव लड्ने सहमति गरे । त्यसैअनुसार प्रदेश र प्रतिनिधिसभा चुनावमा ६० र ४० को भागवण्डाका आधारमा उम्मेदवार उठाएर विजयी भए । प्रतिनिधिसभामा बहुमत पाएको वाम गठबन्धनले ६ वटा प्रदेशमा सरकार गठन गरे ।

–केन्द्रमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा फागनु ३ मा सरकार गठन गरेलगतै ७ फागुनमा दुई दलका शीर्ष नेताहरूले पार्टी एकतासम्बन्धी सातबुँदे सहमति गरे । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र निर्देशक सिद्धान्त ‘माक्र्सवाद–लेलिनवाद’ हुने सहमाति गरे । 

–चुनावपछि पार्टी एकताका लागि दुई दलले कार्यदल बनाएर अन्तरिम राजनीतिक प्रतिवेदन र विधान बनाए । यो प्रतिवेदनमा केन्द्रीय समितिको भागवण्डालगायतमा सहमति हुन नसकेपछि त्यसमा सहमति जुटाउने जिम्मा ओली र प्रचण्डलाई दिइयो । त्यसपछि उनीहरूबीच पटक पटक वान टु वान वार्तामा बसे ।

–    एकता प्रकृया चलिरहेका बेलाबेला दुई दलबीच खटपट पनि देखियो । खटपट बढेपछि एकता नहुने हो कि भन्ने अड्कलबाजी बढ्न पुगे । तर दुई नेताले एकता कुनै हालतमा नरोकिने अभिव्यक्ति दिन छाडेनन् । जसका कारण वैशाख ९ मा गर्ने भनिएको एकता हुन नसके पनि अन्ततः २०७५ जेठ ३ मा पार्टी एकता गर्न दुवै दल तयार भए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप