बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमाले–माओवादी एकतापछि साना कम्युनिष्ट दल अब के गर्छन् ?

बिहीबार, ०३ जेठ २०७५, १५ : २६
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रिया शुरु भएको ८ महिनापछि त्यसले औपचारिकता पायो । असम्भव जस्तो ठानिएको दुई दलबीचको एकता निश्चित भएपछि अहिले नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा तरंग सिर्जना भएको छ ।

देशका दुई ठूला कम्युनिष्ट पार्टी एकठाँउमा आएपछि अब साना कम्युनिष्ट दल के गर्छन त ? यसबारेमा उनीहरुको कस्तो प्रतिक्रिया छ ? हामीले साना कम्युनिष्ट दलका केही नेताहरुसँग कुरा गरेका छौँः 
 

प्रचण्डले एमालेमा लगेर बिलय गराइछोडे : सीपी गजुरेल (नेकपा क्रान्तिकारी माओवादी)

हामीले यसअघि देखि नै भन्दै आएको कुरा हो, यो दक्षिणपन्थीहरुको एकता हो । प्रतिक्रियाबादी सत्तालाई बलियो बनाउनका लागि गरिएको एकता हो । असोजबाट शुरु भएको यो प्रक्रियाले आज पूर्णता पाएको छ । हामी क्रान्तिकारीहरुको पार्टी दक्षिणपन्थी अवसरवादी पार्टीसँग मिसिने कुनै पनि संभावना छैन । अब सबै क्रान्तिकारीहरुबीच धु्रविकरणको समय आएको छ । हामी क्रान्तिकारी शक्तिहरु पनि अब एकताको प्रक्रियामा छौँ । यो प्रक्रिया बिस्तारै शुरु भइसकेको छ । माओवादी केन्द्रका साथीहरु अब एमालेसँग एकता हुँदैन भन्दै थिए । अध्यक्षले एमालेसँग एकता नगर्ने स्टन्ड लिइसक्नुभयो भन्दै थिए । तर, अब ती साथीहरुको पनि भ्रम साफ भयो । उनले पार्टीलाई एमालेमा लगेर बिलय गराइछाडे । 

अब एमालेसँग एकतामा नजाने साथीहरु र हाम्रो पार्टीबीच पनि एकता हुन्छ । एमालेमा नगएका कांग्रेसमा जाने कुरा भएन, राप्रपामा जाने कुरा भएन, अब हुने भनेकै क्रान्तिकारी शक्तिहरुको धु्रवीकरण र एकता हो । 

माओवादी केन्द्रका तल्लो तहका क्रान्तिकारी साथीहरु र हाम्रोबीचमा अब एकता प्रक्रिया अघि बढ्छ । 

बिप्लब नेतृत्वको पार्टीसँग पनि कार्यगत एकता भइरहेको छ । पार्टी एकता गर्नेबारेमा औपचारिक छलफल भने भएको छैन् । बैचारिक, राजनीतिक छलफल गरेर हामीबीचमा पार्टी एकता हुन पनि सक्छ । 

नेपालमा अब दुई धारका कम्युनिष्ट पार्टीः ऋषी कट्टेल, नेपाल कम्युनिष्ट पार्टी 

हाम्रो पार्टीको नामसँग मिल्ने गरी निर्वाचन आयोगमा पार्टी दर्ता गर्न लागेका छन् भन्ने सुनेको छु । आज मैले यस विषयमा धेरै कमेन्ट पनि गरेको छु । उनीहरुले यसो गर्नु संविधान, ऐन, कानुन विपरीत छ । २०७४ साल भदौं २२ गते निर्वाचन आयोगले निर्णय गरी पार्टी दर्ता गरेको थियो । 

आयोगले संविधानको धारा २ सय ७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार घन कोदालो चुनाव चिन्ह दिएको पत्र पठाएको थियो । यसरी कानुन अनुसार हाम्रो पार्टी दर्ता भएको हो आयोगले के गर्छ हेरौँ । 
उनीहरुसँग हाम्रो एकता हुने संभावना कम छ, उनीहरु कम्युनिष्ट आन्दोलनबाट बाहिर गइसकेका छन् । उनीहरुले कम्युनिष्ट नाममात्र राखेका हुन् । ५ बर्षको चुनावी सेरोफेरोसम्म उनीहरुले आफ्नो दलको नामबाट कम्युनिष्ट शब्द हटाउन पनि सक्छन् ।     

समाजबाट आँउने भनेको क्रान्तिको बाटोबाट मात्र हो । संसदीय ब्यवस्थाको बाटोबाट अहिलेसम्म संसारमा कतै पनि समाजवाद आएको छैन् । कि कांग्रेसको विपी कोइरालाले भनेजस्तो कि भारतका पूर्व प्रधानमन्त्री नेहरुले भनेको जस्तै समाजवाद होला । 

हामी पनि अहिले संसदवादका विरुद्धमा रहेका दलहरु बीचमा एकता गर्न खोजिरहेका छौँ । विप्लव, बैद्य, मोहनबिक्रम र हाम्रो  गरी चार पार्टी बीचमा एकता गर्नका लागि प्रक्रिया अगाडि बढेको छ । हामी २ कुरामा बैचारिक सहमतिमा पुगेका छौँ । राजनीतिक, बैचारिक बहस अघि बढाँउने सहमति भएको छ । अहिले विप्लवलाई सक्तापक्षले ब्यापक हमला गरेको छ । वारेन्ट जारी गरेको छ । कार्यकर्ताहरुलाई बाटोमा भेट्नेबिक्तिकै समाएर लैजान थालेको छ । त्यसकारण हाम्रो छलफलमा पनि ढिलो भइरहेको हो । १ हप्ताभित्र हामी चार पार्टीको पनि वार्ता हुन्छ । संयुक्त आन्दोलनलाई त हामीले अगाडि बढाइरहेका छौँ । 

नेपालमा अब कम्युनिष्टहरुको दुई धार शुरु भएको छ । एउटा संसदवादी कम्युनिष्ट पार्टी जुन एमाले र माओवादी भए । अर्को जनवादी गणतन्त्रको पक्षधर क्रान्तिकारी पार्टी । अब नेपालमा यी दुई धारका कम्युनिष्ट पार्टीबीच ध्रुवीकरण हुन्छ । संसदबादी कम्युनिष्ट पार्टीसँग हामी क्रान्तिकारीहको एकताको दूरी निकै लामो छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप