शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘मैले माओवादी सिद्धियो भनेको प्रचण्डजीले मलाई पनि अब एमाले सिद्धियो भन्नुभयो’

बिहीबार, ०३ जेठ २०७५, १९ : २७
बिहीबार, ०३ जेठ २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अन्तरघुलित भएर एउटै पार्टी बनेको बताएका छन् ।

नवगठित नेपाल कम्युनिष्ट पार्टीको घोषणा गर्दै प्रम ओलीले दुई पार्टी मिसिएको नभएर अन्तरघुलित भएको बताएका हुन् । ‘हिन्दको महासगरमा कोशीको पानी खोजेर पाइँदैन,’ उनले भने ।

प्रम ओलीले केही समयअघि सम्म एमाले र माओवादी भन्ने गरेकोमा अब दुवै पार्टी विघटन भएर एउटा नयाँ पार्टी बनेको उद्घोष गरे ।

केन्द्रीय समितिको बैठकको एक प्रशंग निकाल्दै ओलीले भने, ‘केन्द्रीय कमिटी बैठकमा मैले प्रचण्डजीलाई तपाईंको पार्टी सिद्धियो भनेको थिएँ, वहाँले अब तपाईंको एमाले पनि सिद्धियो भन्नुभयो । हो, मैले त्यही सुन्नका लागि भनेको थिएँ । अब एमाले–माओवादी रहेन, नयाँ पार्टी बनिसक्यौँ ।

उनले यो एकता एकअर्कालाई निल्न खोजेको वा बिलय गर्न नभएको बताउँदै दुवै मिसिएर एकीकृत पार्टी बनेको जिकिर गरे ।

उनले इतिहासमा कम्युनिष्टहरु जुट्न जान्दैनन् फुट्न मात्र जान्दछन् भन्ने कुरा उल्लेख भएको बताउँदै अब इतिहास परिवर्त भएको पनि दाबी गरे । ‘अब कम्युनिष्टहरु फुट्न जान्दैनन् अब जुट्छन्,’ उनले भने । 

उनले एउटा महाअभियान चलाउनका लागि दुई शीर्ष नेताले सल्लाह, विचार विमर्श र विश्लेषण गरेर अगाडि बढाउने अठोट गरेको बताए ।

प्रम ओलीले आजको दिन उनको जीवनका खुसीहरु मध्ये सबैभन्दा खुसीको दिन भएको जिकिर पनि गरे ।

‘अध्यक्ष भएको हुनाले श्रेय आउँछ भनेर होइन । ड्राइभर सिटमा बसे पनि मुख्य चक्का हो । चक्का भनेका जनता र कार्यकर्ता हुन् जो चर्को घाम घस्सिएर कुदेका छन् । त्यसकारण सबैभन्दा बढी धन्यवाद नेपालको

भलो चाहने, नेपालको जनताको शासन चाहने देश र विदेशमा सबैलाई धन्यवाद दिन चाहन्छु र कार्यकर्तालाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

उनले आज एकताको विरुद्धमा कोही पनि नभएको र सबै एक जुट भएको पनि दाबी गरे ।

एकता घोषणा सभामा ओलीः टेप्पो चलाएकाे हाेर ? जेट विमानमा दुई जना पाइलट हुन्छन्

ओलीले  नेपाल कम्युनिष्ट पार्टी ‘जेट प्लेन’ जस्तो भएको बताएका छन् । उनले जेट प्लेन चलाउन दुई जना पाइलट चाहिने पनि बताए । 

‘कतिलाई किन दुई जना अध्यक्ष चाहियो  भन्ने लाग्ला ।  टेप्पो चलाएकाे हाेर ?  जेटमा प्लेनमा दुई जना पाइलट नै हुन्छन्’ ओलीले भने । 

उनले  आवश्यकताले दुई अध्यक्षको व्यवस्था गरिएको बताउँदै भने, ‘हामीले महाअभियान चलाएका छौ । त्यसका लागि हामीले सल्लाह र विचार विमर्श गरीकन अगाडि बढाउने अठोट र संकल्प गरेका छौं ।’
उनले  पुष्पलालले ००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेकै कारण आफूहरु यहाँसम्म आइपुगेको बताए । 

‘पुष्पलालजीले त्यतिबेला कम्युनिष्ट पार्टीको स्थापना नगरेको  भए आज एकीकरणको चर्चा गर्ने सायद ठाउँ पनि हुँदैन थियो’, ओलीले भने, ‘ पुष्पलाल अहिले भइराखेको भएको भए उहाँ खुसीले नाच्नु हुन्थ्यो ।’

ओलीले   दुई तिहाई सामान्य जोडघटाउको मात्रै भएको भन्दै अर्को चुनावमा तीन चौथाई जित हासिल गरिने पनि दाबी गरे ।   

उनले अब पार्टी एकतासँगै आफूहरु विकास र समृद्धि तर्फको यात्रामा अघि बढेको पनि बताए ।  

कम्युनिष्ट सत्तामा छन्, तर साथीहरु सुतली बम पड्काएर हिँडेका छन्ः प्रधानमन्त्री ओली

त्यस्तै ओलीले सबै साना कम्युनिष्ट पार्टीहरुलाई एकताका लागि आह्वान गरेका छन् । एकीकरण घोषणासभालाई सम्बोधन गर्दै उनले भने, ‘आउनुहोस्, सबै मिलेर देश विकासमा लागौं, कुनामा बसेर टेडा कुरा गर्ने कम्युनिष्ट सिद्धान्त होइन ।’ 

प्रधानमन्त्री ओलीले कम्युनिष्टहरुले सत्ता चलाइरहेको बेला कुनामा बसेर बम पड्काउन सुहाउने कुरा नभएको समेत बताए । उनले भने, ‘कम्युनिष्टहरु यसरी सत्तामा छन् तर साथीहरु सुतली बम पड्काएर हिडिरहनुभएको छ । उहाँहरुले कुन माक्र्सवाद पढेर आउनुभो ?’

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसलाइ पनि देशभक्त र लोकतान्त्रिक बाटोमा आफुहरुसँगै हिड्न आग्रह गरे । उनले भने,  कांग्रेसलाई पनि म प्रमुख प्रतिपक्षको रुपमा मात्र पनि हेरिरहन चाहान्न । आउनुहोस्, राष्ट्रनिर्माणको यो महाअभियानमा सहभागी हौं, निर्वाचन हार्ने वित्तिक्कै नआतिऔं ।

उनले आफुहरुले तानाशाही चलाउन, अहंकार देखाउनका लागि होइन, शालिनतापूर्वक देश चलाउनका लागि यो एकता गरेको दाबी गरे ।

अब कम्युनिष्टहरुलाई ढाल्न सक्ने कोही छैनः प्रधानमन्त्री ओली

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य कम्युनिष्ट पार्टीहरुलाई पनि एकजुट भएर देश बनाउन आग्रह गरे । 

कार्यक्रममा ओलीले भने, ‘होच्चयाउन खोजेको होइन्, अब के स–साना पसलहरु थापेर बस्ने ? आउनुहोस् एकजुट भएर देश बनाऔं ।’ 

प्रधानमन्त्री ओलीले अफ्ठ्यारा–अफठ्यारा समस्या सिर्जना गरेर कुनामा बस्ने कम्युनिष्ट सिद्वान्त होइन् भन्दै छरिएर होइन, एक भएर अगाडि बढ्न आग्रह गरेका छन् । 

उनले विप्लव माओवादीप्रति लक्षित गर्दै भने, ‘जिद्दी भएर सुतली बम पड्काउँदै होइन्, यत्रो सम्भावना भएको बेला आउनुहोस् राष्ट्रको संकल्पमा रहेर अगाडि बढ्यौं ।’ 

‘अब कम्युनिष्ट पार्टी अगाडि बढ्ने कुरा कुनै शंका छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘आजको दिनसम्म कम्युनिष्ट पार्टीसँग बहुमत थिएन, अब एक्लै बहुमत छ ।’
 
ओलीले भने, ‘यसअघि मिलीजुली ६ वटा प्रदेशमा सरकार थियो । अब एउटै पार्टीको ६ वटा प्रदेशमा सरकार छ । हामीसँग स्थानीय निकायमा एक्लै बहुमत पुग्दैनथ्यो अब पुग्छ ।  केन्द्रीय सरकारदेखि प्रदेश सरकार र स्थानीय सरकार हाम्रै हातमा छ ।’

प्रधानमन्त्री ओलीले अब हामीलाई ढाल्न सक्ने कोही नभएको बताए । उनले भने, ‘अब हामी सहि नीतिका साथ अगाडि बढ्नेछौं ।’

‘तानाशाही प्रवृति देखाउनको लागि हामीले पार्टी एकता गरेर बहुमत पुर्याएको होइन । भ्रष्टाचार रोक्नको निम्ति पार्टी एकता गरेर बहुमत पुर्याएका हौं ।’ ओलीले भने । 

ओलीले एकचोटी चुनाव हार्दैमा नेपाली कांग्रेस आत्तिएको समेत बताए । उनले भने, ‘प्रतिपक्षमा रहेर वैचारिक भूमिका खेल्नुस्, आफ्नो प्रतिष्ठा किन झार्नुहुन्छ ?’

अन्त्यमा ओलीले छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्छौं । सुमधुर सम्बन्ध राखेर मात्र सहयोगको लागि अपिल गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप