बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्लेअफबाट बाहिरिएपछि कोहली मिडल–अर्डरप्रति रुष्ट

आइतबार, ०६ जेठ २०७५, १० : २६
आइतबार, ०६ जेठ २०७५

बैंग्लोर । राजस्थान रोयल्ससँग ३० रनले पराजित हुँदै रोलच्यालेन्जर्स बैङ्ग्लोर इन्डियन प्रिमियर लिग (आइपीएल) २०१८ को प्लेअफ खेल्नबाट बञ्चित भएको छ ।

प्लेअफमा स्थान बनाउने सम्भावना जीवित राख्न जीतको आवश्यकता रहेको अवस्थामा बैङ्लोरसामु १६५ रन को चुनौती राजस्थानले प्रस्तुत गरेको थियो ।

तर, बैङ्ग्लोर जयपुरमा मात्र १३४ रनमा सिमित भयो । यो सिजन बैङ्ग्लोरले ६ जीत र ८ हारसहित प्रतियोगिताबाट बाहिरियो ।

‘एबी डि भेलियर्समाथि मात्र धेरै दबाब भयो,’ खेलपछि कोहलीले स्टार स्पोर्टसँग कुरागर्दै भने, ‘हामी जित्नका लागि सही स्थानमा थियौँ । एक विकेटको क्षतिमा ७५ रनको स्थितिबाट १३४ रनमा अलआउट हुनु सही थिएन ।’

‘चौका छक्का हान्न सक्ने एबीले बिस्तारै रन बटुलिनै रहेका थिए । अन्य खेलाडीहरुले पनि यस्तै बुद्धिमता देखाउनुपर्ने थियो । तर, उनीहरुले आफ्नो स्तर अनुसार खेल प्रदर्शन गर्न सकेनन् । एक दुई जनाले गल्ती गर्नु स्वभाविक हो । तर, पाँच–छ जनाले एउटै गल्ती गर्नु ठीक भएन,’ उनले भने ।

नवौँ ओभरमा बैङ्लोर एक विकेटको क्षतिमा ७५ रनको स्थितिमा थियो । एबी खुलेर ब्याटिङ गरिरहेका थिए । तर, त्यसपछि बैङ्लोर लेग स्पीनर श्रेयस गोपालविरुद्ध धरासायी बन्यो । रन रेट धेरै नहुँदा पनि बैङ्ग्लोरका खेलाडीहरुले आक्रामक बनेर खेल्न खोज्दा मध्यक्रम सस्तोमा समेटियो ।

पछिल्ला सिजनमा बैङ्लोर आफ्नो शीर्ष तीन ब्याटसम्यानमाथि निर्भर थियो । यो सिजन क्रिस गेलको अनुपस्थितिमा कोहली र डिभेलियर्सले मोर्चा सम्हाल्दै क्रमशः ५३० र ४८० रन बनाए । 

मध्यक्रमबाट मन्दीप सिंहले २५२ रन जोडे । शरफराज खानले ६ इनिङमा मात्र ५१ रन बनाउन सके ।

‘हाम्रो कमजोरीको रुपमा रहेको मध्यक्रमलाई हामी यो सिजन दह्रो बनाउन चाहन्थ्यौँ । अब अर्को सिजन हाम्रो यसैमा ध्यान हुनेछ । हाम्रो टोली छनौट गर्दा हामीहरु अलि चलाख हुनुपर्ने देखिएको छ,’ कोहलीले भने ।

‘मध्यक्रममा रन बनाउने जिम्मा सँधै एबीलाई मात्र दिन सकिँदैन । अन्य खेलाडीहरुले सही समयमा प्रदर्शन गर्न सक्नुपर्छ,’ उनले भने ।
उनले उमेश यादव लगायत बलरको भने खुलेर तारिफ गरे ।

कोलकाता प्लेअफमा
उता, हिजै भएको अन्य खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै कोलकाता नाइटराइडर्सले प्लेअफमा आफ्नो स्थानमा पक्का गरेको छ ।

हैदराबादले प्रस्तुत गरेको १७३ रनको लक्ष्य कोलकाताले २ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पछ्यायो ।

हैदराबाद चेन्नाई सुपरकिङग्ससँगै यसअघि नै प्लेअफमा छनौट भइसकेको छ ।

अब प्लेअफमा एक स्थानको निर्णय हुनमात्र बाँकी रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप