शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंमा ४० देशका वामपन्थी युवाहरु जुट्दै

आइतबार, ०६ जेठ २०७५, १४ : १७
आइतबार, ०६ जेठ २०७५

काठमाडौं– नेपालमा ४० देशका वामपन्थी युवाहरुको भेला हुने भएको छ । विश्व प्रजातान्त्रिक युवा तथा विद्यार्थी संघको आयोजनामा जेठ २२ गते हुन गइरहेको (डब्लुएफडीवाई)को कार्यक्रममा विश्वका ४० देशका वामपन्थी युवाहरुको जमघट हुने भएको हो  ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रम प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा उद्घाटन गर्नेछन् ।  कार्यक्रमको लागि विश्व प्रजातान्त्रिक युवा तथा विद्यार्थी संघका अध्यक्ष निकोलस पापाडिमित्र्यु, उपाध्यक्षलगायत संगठनको मुख्यालय टोली आइतबार (आज) काठमाडौं आइसकेका छन् । 

विश्व प्रजातान्त्रिक युवा तथा विद्यार्थी संघमा आबद्ध ४० देशका कम्युनिष्ट अगुवाहरु नेपालको कम्युनिष्टहरुको संघर्ष, आन्दोलन, एकता र जनसम्बन्धका विषयमा जानकारी लिन काठमाडौं आएका हुन् । विश्व प्रजातान्त्रिक युवा संघमा अनेरास्ववियु, युवासंघ र स्ववियु सदस्य रहेका छन् ।

उनीहरुलाई स्वागत गर्न तत्कालीन अनेरास्ववियु अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नविना लामा, अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुन, युवा संघका सचिव सन्तोष रावल, युवा संघका केन्द्रीय सदस्य सुन्दर भुषाललगायत विमानस्थल पुगेका थिए । 

कार्यक्रममा विश्वका ४० देशका वामपन्थी युवाहरुको सहभागिता रहने अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले जानकारी दिए । कार्यक्रमबारे विस्तृत जानकारी दिन सोमबार पत्रकार सम्मेलन गरिने उपाध्यक्ष पुनले बताए ।

कम्युनिष्ट आन्दोलनमा लागेका कतिपय व्यक्तिहरु मुलतः सिद्दान्तको पक्षमा भन्दा नेतृत्व र शक्तिका पछाडि लाग्ने वा नेतृत्वको दलाली गर्ने र आफू अगाडि जाने प्रवृत्तिहरु देखापर्ने गरेका कारण कार्यक्रममा विश्व कम्युनिष्ट आन्दोलनलाई कसरी अगाडि लैजाने भन्नेबारे चर्चा हुने सांसद नविना लामाले जानकारी दिइन् ।  यो भन्दा अघि रसियामा भ्लादमिर पुटिनले युवा कम्युनिष्टहरुको भेलाको उद्घाटन गरेका थिए । 

यस्तो छ संगठनको उद्देश्य ?
विश्व प्रजातान्त्रिक युवा तथा विद्यार्थी संगठन ‘डब्लूएफडीवाई’ एक अन्तर्राष्ट्रिय युवा संगठन हो । जसलाई संयुक्त राष्ट्रले अन्तर्राष्ट्रिय युवा गैरसरकारी संगठनको रुपमा मान्यता दिएको छ ।  यसले ऐतिहासिक रुपमा साम्राज्यवादको विरोध र आफूलाई वामपन्थीको रुपमा चित्रित गर्दै आएको छ । यसको स्थापना सन् १९४५ मा लण्डनमा भएको थियो । 

यस संगठनले स्थापना कालदेखि नै अन्तर्राष्ट्रिय युवा आन्दोलनको रुपमा काम गर्दै आएको छ । यो संगठनको उद्देश्य दोस्रो विश्वयुद्धको अन्त्यको लागि सहयोगी राष्ट्रका युवाहरुलाई एकजुट गराउनु, परमाणू युद्वको विरोध गर्नु, पूँजीवादी र समाजवादी राष्ट्रका युवाबीच भातृत्वको भावना पैदा गर्नु र शान्तिको आह्वान गर्नु  रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप