बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्नाटक चुनाव : काँग्रेसले चलाएको भाजपा विरुद्ध भाजपाकै हतियार

आइतबार, ०६ जेठ २०७५, १४ : ३१
आइतबार, ०६ जेठ २०७५

“तपाईं के गर्ने विचार गरिरहनुभएको भन्ने कुरा अरूलाई थाहै नहोस्, दिमाग लगाएर यसलाई गोप्य राख्नुस् र लक्ष्यसम्म पुग्नका लागि दृढ रहनुस् ।”

केही गर्न चाहनेहरूका लागि चाणक्यले दिएको मन्त्र हो यो ।

पछिल्लो चार वर्ष सानातिना राजनीतिक जितमा सन्तोष गरिरहेको काङ्ग्रेसले यस मन्त्रलाई निक्कै गम्भीरताले लिनु आवश्यक थियो । कर्नाटकको निर्वाचनको सन्दर्भमा उसले यस्तै नीति लिएको देखिन्छ ।

यसको नतिजा सबैसामु आएको छ । मुख्यमन्त्रीको शपथसमेत लिइसकेका बी.एस. येदियुरप्पा कुर्सीसम्म पुग्नै सकेनन् । सिट सङ्ख्यामा ऊभन्दा पछाडि रहेको काङ्ग्रेसले बाजी मारेको छ ।

यो दाउ जित्नका लागि निश्चय नै काङ्ग्रसले मुख्यमन्त्रीको कुर्सीलाई तिलान्जली दिनुप¥यो तर कमसे कम एक ठूलो राज्यबाट भाजपालाई टाढा राख्न सफल भयो ।

अमित शाहलाई भाजपाको साथसाथै राजनीतिको ‘चाणक्य’ भन्न थालिएको थियो तर चाणक्यको उपरोक्त भनाइ यो पटक काङ्ग्रेसले ज्यादा तेजीसँग समात्यो ।

भारतीय काङ्ग्रेसले सिकेको पाठ 

पछिल्लो समय भारतीय काङ्ग्रेस राजनीति सक्रियताका लागि चिनिने पार्टी होइन । बितेको केही समयदेखी ऊ निक्कै सुस्त भएको गुनासो छ ।

तातो दूधले पोलेको काङ्ग्रेसले यो पटक दूध फुकेर पियो, त्यो पनि छोटो समयमा । यो पाठ उसले गोवा र मणिपुरमा पाएको थियो ।

दुवै राज्यहरूमा भएको विधानसभा चुनाव कुनै एउटै पार्टीले बहुमत ल्याउन सकेन तर काङ्ग्रेस सबैभन्दा ठूलो पार्टीको रूपमा उदायो । यसको बाबजुद त्यहाँ भाजपाले सरकार बनायो ।

कसरी ? परिणामको समय जब काङ्ग्रेस दिल्लीमा सङ्ख्यामा घोत्लिरहँदा भाजपाले आफ्नो वार्ताकारहरूलाई अन्य दलहरूसँग वार्ताका लागि राज्यहरूमा पठायो । वार्ताहरू सकारात्मक भएर सम्झौता गरियो र केही घण्टाभित्रै राज्यपालसँग भेटेर सरकार बनाउने दाबी प्रस्तुत गरियो ।

काङ्ग्रेस नेता त्यहाँ पुग्दासम्म निक्कै ढिलो भइसकेको थियो । लोकतन्त्रको हत्या भयो जस्तो कुरा गरियो, सबैभन्दा ठूलो दललाई मौका नदिइएको आरोप लगाइयो तर यी खेल काङ्ग्रेसको हातबाट फुत्किसकेपछिको रोइलो मात्र थियो ।

यो पटक कर्नाटकमा ठीक उल्टो भयो । चुनावअघि भएका मत सर्वेक्षणले कुनै पार्टीको बहुमत नआउने देखाइसकेको थियो र काङ्ग्रेसले परिणामलाई पखेर बसेन पनि ।

राजनीतिक मौका 

जब परिणाम आयो तब भाजपाले १०४, काङ्ग्रेसले ७८, जनता दल सेक्युलरले ३७ र अन्य दलले ३ सिट ल्याए । त्यति बेलासम्ममा काङ्ग्रेस आफ्नो रणनीतिमा सक्रिय भइसकेको थियो ।

वरिष्ठ पत्रकार र राजनीतिक विश्लेषक निरजा चौधरी भन्छन्– “काङ्ग्रेसले यो पटक आफ्नो सबै वरिष्ठ नेताहरूलाई काममा लगाएको थियो । गुलाम नबी आजाद र अशोक गहलोतलाई यो कामको जिम्मा दिइएको थियो ।”

“भाजपाले मणिपुर र गोवामा प्राप्त गरेजस्तो सफलता कर्नाटकमा प्राप्त नगरोस् भनेर काङ्ग्रेस निक्कै सक्रिय रह्यो । यो पटक काङ्ग्रेसले एक हिसाबले भाजपलाई चक्मा दियो ।”
खासमा काङ्ग्रेस मत सर्वेक्षणपछि नै सक्रिय भएको थियो ।

उनले भने– “मङ्गलबार चुनाव परिणाम आउनेवाला थियो । काङ्ग्रेसले आइतबार नै आफूले ९० सिटभन्दा कम पाएमा जनता दल–एसका कुमार स्वामीलाई मुख्यमन्त्री पदमा प्रस्तुत गर्ने निश्चित गरिसकेको थियो ।”

यसको चौबीस घण्टाभित्र देवेगौडा–कुमार स्वामीलाई कसरी मिलाउने, रणनीति कसरी बनाउने, के कदम उठाउने सबै निश्चित गरिएको थियो ।

मुख्यमन्त्री पद बन्यो हतियार

निरजाले भने– “नतिजा आएको केही घण्टाभित्र काङ््ग्रेस जनता दल–एसबीचमा गठबन्धन घोषणा गरियो ।”

खासमा कसैले बहुमत नआएकाले भाजपा र काङ्ग्रेसबीचमा किङमेकर बनेको थियो– जनता दल सेक्युलर । परिस्थितिले उसलाई किङमेकरको साथसाथै ‘किङ’ पनि बनाइदियो ।

काङ्ग्रेसले मुख्यमन्त्री पद छाडेर ठूलो दाउ खेल्यो । यस्तो प्रस्ताव भाजपाले गर्न सम्भव थिएन ।

भाजपाले बी.एस. येदियुरप्पालाई पछाडि राखेर कुमार स्वामीलाई मुख्यमन्त्री बनाउने कोसिस गर्दा यसले उसलाई झन बढी नोक्सानी हुन्थ्यो ।

जानकारहरूको भनाइअनुसार यो पटक काङ्ग्रेसले पुरानो काङ्ग्रेस जस्तो कमाल देखायो । मैदानमा जित हासिल नगरेसम्म आराम नलिने स्वभाव जुन भाजपा देखिन्थ्यो, यो पटक काङ्ग्रेसमा देखियो ।

वरिष्ठ पत्रकार उर्मिलेखको विचारमा यो पटक राहुल गान्धीले राजनीतिक चतु¥याइँ देखाएका छन् र यो सफलताको श्रेय उनैलाई जान्छ । 

काङ्ग्रेसले यो पटक ठीकसँग लड्यो 

सामान्यता राजनीतिक दलले अदालतको ढोका ढक्ढक्याउन जाँदा उसले राजनीतिक खेलमा हार मानेको मानिन्छ । 

तर जब राजपालले बी.एस. येदियुरप्पालाई सरकार बनाउन आमन्त्रण गरे काङ्ग्रेसले मध्यरातमै सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुग्यो । ऊ येदियुरप्पालाई बहुमत सावित गर्नको लागि राज्यपालले दिइएको १५ दिनको समय घटाउन चाहन्थ्यो ।

अदालतमार्फत शपथ लिइसकेका येदियुरप्पाको खेल काङ्ग्रेसले उल्टाइदियो । सर्वोच्च अदालतले शुक्रबार काङ्गे्रसको दाबीमाथि मोहर लगाइदियो र बहुमत सावित गर्नका लागि २८ घण्टाको मात्र समय दियो ।

विधायक बचाउने कसरत

अदालतको यो फैसलापछि काङ्ग्रेसको सामु अर्को चुनौती तेर्सियो– आफ्ना विधायकहरू भाजपालाई भोट हाल्नबाट रोक्नु । यसमा पनि ऊ सफल भयो ।

जनता दलका ३७ विधायकहरू मुख्यमन्त्री पाउँदै थिए । त्यसैले उनीहरू अर्कोतर्फ जाने शङ्का कम थियो । तर मिडियामा काङ्ग्रेसका केही विधायकहरू भाजपाको पक्षमा भोट हाल्न सक्ने कुरा आइरहेको थियो ।

काङ्ग्रेसले यस्तो हुन दिएन । यसरी भाजपाले बहुमतका लागि आवश्यक आठ विधायकसमेत जुटाउन नसक्ने देखियो ।

यसपछि बी.एस. येदियुरप्पाले राजीनामा दिए ।

भाजपालाई झट्का

कर्नाटकमा कम सिट पाएर पनि काङ्ग्रेसले भाजपालाई कुर्सीसम्म पुग्नबाट रोकेर अमित शाहलाई ठूलो झट्का दियो ।

यो सफलतापछि सन् २०१९ मा हुन लागेको आम निर्वाचनमा भाजपा विरोधीहरूको गठबन्धनलाई उपाय सुझेको जस्तो देखिन्छ ।

बङ्गालकी मुख्यमन्त्री र त्रिणमूल कङ्ग्रेसकी नेत्री ममता बेनर्जीले कर्नाटक परिणाम पछि भावि दिनमा राजनीतिको रणनीति क्षेत्रीय आधारमा हुने गठबन्धनमा हुन सक्ने बताएकी छिन् ।

आजको दिनमा सन् २०१९ को आम निर्वाचनमा सबैभन्दा ठूलो पार्टी भाजापा नै हुने सम्भवना बढी छ । यस्तोमा यदि चुनाव अगाडि नै भाजपा विरोधी दलहरूको गठबन्धन बनेन भने तिनको सम्भावना झनै कमजोर हुन्छ ।

सन् २०१९ भन्दा पहिला भएको यो महत्वपूर्ण निर्वाचन परिणाम काङ्ग्रेसको खातामा गयो । चुनाव परिणाममा पछाडि परेर पनि उसले भाजपालाई मात दिन सफल भएको छ ।

राजनीतिमा साम, दाम, दण्ड, भेदको नीति चल्छ भने काङ्ग्रेसले ढिलै नै सही आफ्नो विरोधी भाजपा सिद्धहस्त रहेको यी रणनीतिहरू उसकै विरुद्ध उपयोग गर्न सुरु गरेको छ ।

(बीबीसी हिन्दीबाट)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप