मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

राजधानीमै लामो दूरीका सवारी साधन पाउन मुस्किल

आइतबार, ०६ जेठ २०७५, १९ : ०७
आइतबार, ०६ जेठ २०७५

काठमाडौँ– यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन नसक्दा सडकमा सवारी साधन पाउन मुस्किल हुन थालेको यात्रुको गुनासो छ ।  विभागले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन कुनै काम नगरेको सडकमा सवारी साधन कुरिरहेका रामचन्द्र सिम्खडाले बताए । सरकारले एकाधिकार हटाएपछि काठमाडौँमै सवारी साधन पाउन नसकिएको उनको भनाइ छ । 

यातायात समिति खारेजीमा परेपछि समयसारिणी बन्द भएको छ । यसअघि समितिले राखेका कर्मचारीले समयसमयमा सवारी साधन गुडाउने गरेका थिए । हाल काठमाडौँका छोटो मार्गमा सवारी साधन पर्याप्त पाइन्छ । लामो मार्गमा भने सवारी साधन पाउन घण्टौँ कुर्नुपर्छ । बिहान बेलुकीको समय तालिकासमेत छैन । यसका कारण बिहानै चाँडो र बेलुकी अबेरसम्म त सवारी नपाएर हिँड्नु परेको दक्षिणकालीकी यात्रु रश्मिला पौडेल बताउछिन् । 

सार्वजनिक यातायात सुधारका पक्षमा आवाज उठाउँदै आएका रामबहादुर थापा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालय तानेपछि समस्या भएको बताउँछन् । “यातायात एकाधिकार (सिन्डिकेट) लाई निरन्तरता दिन महानिर्देशकको सरुवा गरिएको हो, अन्यथा सुधारका पक्षमा काम गरेर सार्वजनिकरुपमा स्याबासी पाएका महानिर्देशकको सरुवा किन गरियो ?”, उनले भने । 

यातायात व्यवस्था कार्यालयले ‘रुट परमिट’ दिए बाहेकका स्थानमा पनि पछिल्लो समय सवारी साधन चल्न थालेका छन् । यसको अनुगमन गर्न नसकिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले बताए । यस्ता गुनासा आउन थालेकाले अनुगमन गर्ने तयारी भएको उनले सुनाए । 

मन्त्रालयले गठन गर्ने भनी सार्वजनिक गरिएको कार्यदलले प्रतिवेदन दिएपछि यातायात क्षेत्रका धेरै समस्या समाधान हुने विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप