शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ममाथि विश्वास गर्नुभएकोमा धन्यवाद : सन्दीप

सोमबार, ०७ जेठ २०७५, ०९ : ५९
सोमबार, ०७ जेठ २०७५

काठमाडौँ । नेपाली युवा खेलाडी सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छाप छोड्न सफल भएका छन् ।

प्रतियोगिताको अन्त्यतिर मात्र खेल्ने मौका पाएका सन्दीपले आफूले खेलेका तीन खेलमा नै विश्वको ध्यान खिच्न सफल भएका हुन् ।

शुरुवाती छनौट चरणमा उनी शीर्ष पाँच इकोनोमिकल बलरका रुपमा रहे । उनले तीन खेलमा प्रतिओभर ६.८३ रनको औसतले मात्र रन खर्चिए । ब्याट्सम्यानहरुको खेल मानिने टी–२० मा यो औसतलाई राम्रो मानिन्छ ।

३ खेलमा १२ ओभर बलिङ गरेका सन्दीपले ८५ रन खर्चेर ५ विकेट लिए । उनको स्ट्राइक रेट अद्भूत १४.४ को रह्यो । मुम्बईविरुद्धको अन्तिम खेलमा मात्र उनले ३ विकेट लिन सफल भए ।

आइपीएलकै प्रदर्शनका कारण उनी आइसीसीको विश्व ११ टोलीमा समेत समावेश गरिएका छन् । 

जब सन्दीपलाई टोलीमा समावेश गरियो, उनी आबद्ध क्लब दिल्ली डेयरडेभिल्स प्रतियोगिताको रेसबाट बाहिरिसकेको थियो । त्यसैले, उनी समावेश भएपछि तीन खेलमध्ये दुई खेलमा जीत हासिल गरे पनि यसले टोलीको भविष्यमा कुनै प्रभाव पार्न सकेन । दिल्ली क्वालिफायरमा छनौट हुन सकेन ।

सन्दीपले दिए धन्यवाद
आइपीएलको यात्रा समाप्त भएपछि सन्दीपले आफ्नो क्लब दिल्ली डेयरडेभिल्सलाई धन्यवाद दिएका छन् ।

उनले भनेका छन्, ‘ममाथि विश्वास गरेर मलाई आइपीएल खेल्ने मौका दिनुभएकोमा धन्यवाद ।’

सन्दीपले यसबाट आफूले धेरै नयाँ कुरा सिक्न पाएको र  एक्सपोजर पाएको पनि जिकिर गरे ।

‘यो अद्भूत यात्रामा मसँगै उभिनुहुने र यसलाई सम्भव तुल्याउन हुने सबैलाई धन्यवाद,’ उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप