शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नमुनाले फेशन शोमा भित्र्यायो मुनालदेखि हिम चितुवासम्मका १६ जीवजन्तु

सोमबार, ०७ जेठ २०७५, ११ : १८
सोमबार, ०७ जेठ २०७५

भनिन्छ, फेसन सिर्जना गर्नेहरुका लागि सीमितता हुँदैन । फेसनमा देखिने नयाँ प्रयोग, अकल्पनीय शैलीहरु यसैको उपज हो । गत शनिबार बेलुकी आठ बजे पछिको समयमा बौद्धस्थित हायात रिजेन्सी होटलमा देखा परेका दृष्यहरु पनि यस्तै थिए ।

१६ वटा पहिरनका स्वरुपहरुको भव्यता, तिनमा देखिएको अनुपम कला, सीप र मिहेनत प्रशंसनीय थियो । ती सबै पहिरनका स्वरुपहरु प्रभावित थिए  लोपोन्मुख र खतराको सूचीमा परेका जीव जन्तु, वनस्पती, पंछीलगायतका जीवनबाट ।

हमालयन मुनाल, इन्डियन फ्याइङ फक्स ब्याट, रेनबो लोरिकेट, सारस क्रेनदेखि स्नो लियोपार्ड, व्हाइट ब्याट फ्लावरसम्म बाट प्रेरित भएका पहिरनका स्वरुपहरुले सो फेसन कार्यक्रमको भव्यतामा थपेको थियो । प्रसंग हो नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङमा स्नातकको पढाईमा अध्ययनरत १३ औं ब्याचका ६३ जना विधार्थीहरुको अन्तिम परिक्षाको महत्वपूर्ण पाटोका रुपमा प्रस्तुत भएको सेरा डि स्टिलिष्टा शीर्षकमा संचालन भएको फेसन शोको ।

विद्यार्थी डिजाइनरहरु स्वयंले आयोजना एवं व्यवस्थापन गरेको सो ग्राजुएसन फेसन शोमा अन्य चार वटा सिक्वेन्स पनि प्रस्तुत गरिएका थिए । कार्यक्रमको प्रमोशनका लागि फोटोशुटमा प्रयोग भएका पहिरनका मोडलहरु सहित नमूना कलेजका संस्थापक प्रिन्सीपल एवं अग्रणी नेपाली फेसन डिजाइनरका रुपमा परिचित ज्ञानी शोभा तुलाधरको रनवेमा उपस्थिति संगै अगाडि बढेको उक्त फेसन शो रोजिन शाक्यको कोरियोग्राफीमा संचालन भएको थियो । 

फेसन शोमा दश जना युवा मोडलसहित तीन दर्जन भन्दा बढी मोडलहरुले ¥याम्पमा ओहोर दोहोर गरेका थिए । कार्यक्रममा यस वर्ष मिस नेपाल विजेताहरुको पनि विशेष उपस्थिति रहेको थियो ।

फेसन शोको प्रारम्भमा हाकु पटासी फ्लेवरबाट प्रभावित पहिरनहरु बाट भएको थियो । त्यस पछि अहिले प्रचलनमा रहेको कलर ब्लकिङ शैलीबाट प्रभावित रंगीन पहिरनहरुको आकर्षण थियो । गोल्ड एण्ड ग्लिटर सिक्वेन्समा भने फ्लोर लेन्थ गाउन, ब्लेजर तथा डिनर ज्याकेट, कोट आदिको सुनौला रंगमा ग्लिटर मिश्रित पहिरनहरुको प्रधानता थियो ।

ट्रान्सफोरमेसन सिक्वेन्स अलिक् पृथक थियो । जसमा प्रारम्भ मोडलहरु स्कर्ट लगायतको छोटा पहिरनमा देखिएका थिए भने तिनै पहिरनहरु अन्ततः फ्लोर लेन्थ पहिरनहरुमा बदलिएका थिए । ट्रान्सफोरमेसन स्टाइलबाट एउटै पहिरन शैलीमा दुई स्वरुपको नमूनालाई डिजाइन एवं मोडलहरुले आकर्षक एवं मनमोहक तरिकाले प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप