शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको सचिवालय बैठकद्वारा तीन समिति गठन, पार्टी कार्यालयबारे यस्तो निर्णय

सोमबार, ०७ जेठ २०७५, १३ : २९
सोमबार, ०७ जेठ २०७५

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संगठनात्मक विधानको परिपूर्ण हुने गरी नियमावली समिति बनाउने निर्णय गरेको छ । 
समितिमा महासचिव विष्णु पौडेल, नेताहरु देव गुरुङ, वेदुराम भुसाल र खिमलाल देवकोटा  रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

  यस्तै संगठनात्मक काम गर्न सहजीकरणका लागि पूर्वघटकका इन्चार्ज र सह इन्चार्जको समिति पनि बनाउने निर्णय भएको छ । 

यसैगरी सम्बन्धित पूर्वघटकका  जबस मोर्चाका  इन्चार्ज र मोर्चा प्रमुखको समिति बनाउने निर्णय पनि भएको श्रेष्ठले जानकारी दिए । समितिले जवसको एकताका लागि आवश्यक सुझाव दिने बताइएको छ । 

यसैबीच बैठकमा पार्टी कार्यालयका विषयमा पनि  छलफल भएको छ । दुई पार्टी कार्यालय कसरी प्रयोग गर्ने भन्नेमा दुई पार्टीका अध्यक्षलाई बैठकले जिम्मा दिएको छ ।  

यस्तै बैठकले  वैचारिक र सैद्धान्तिक दस्ताबेजलाई प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।  

यसअघि बिहान १० बजेका लागि बोलाइएको बैठक ढिला गरी सुरु भएको थियो । 

दुई पार्टीभित्र केन्द्रीय सदस्यको अन्तिम टुंगो लगाउने क्रममा सकस उत्पन्न भएपछि बैठक बस्न ढिलाई भएको थियो । 

बालुवाटारमा सचिवालय बैठकमा सहभागि हुन पुगेका नेताहरु आन्तरिक छलफलमा जुटेका थिए । 

 पूर्वएमाले र पूर्व माओवादीका सचिवालय सदस्यहरु केन्द्रीय सदस्यको  अन्तिम नामावली टुंगो लगाउन बैठक बसेका हुन् । बैठकले केन्द्रीय सदस्यको नामावली टुंगो लगाएको श्रेष्ठले जानकारी दिए । 

दुई पार्टी एकीकृत भएर बनेको नेकपाको ४४१ सदस्सीय केन्द्रीय समिति बनाउने तय भएको छ । जसमा एमालेबाट २४१ जना र माओवादीबाट २०० केन्द्रीय सदस्य रहनेछन् ।

बैठकमा दुई  अध्यक्ष केपी ओली र  प्रचण्डसहित  नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल,  माधव नेपाल, झलनाथ खनाल, विष्णु पौडेल,  वामदेव गौतम र इश्वर पोखरेलको सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप