शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१० वर्षपछि भारतले बन्द गर्ने घोषणा गर्यो विराटनगरको विवादित फिल्ड अफिस

मङ्गलबार, ०८ जेठ २०७५, २० : ४४
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौँ । विराटनगरमा रहेको एउटा विवादीत क्याम्प अफिस बन्द हुने भएको छ । 

भारत सरकाले उक्त क्याम्प अफिस बन्द गर्ने घोषणा गरेको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपाल सरकारलाई यसबारेमा जानकारी दिएको बताएका छन् ।

प्रवक्ताले भनेका छन्, : 

‘कोशी नदीमा आएको बाढीपछि उत्पन्न परिस्थितिको सामना गर्न सन् २००८ मा भारतीय दूतावासको क्याम्प अफिस खोलिएको थियो ।

जुन उद्देश्यका साथ सो क्याम्प अफिस खोलिएको थियो, त्यो पूरा भएको छ ।

भारत सरकारले उक्त क्याम्प बन्द गर्ने र त्यहाँको कर्मचारीलाई स्थानान्तरण गर्ने जानकारी दिइसकेको छ ।

यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा आफ्ना समकक्षीलाई सुनाएका थिए ।

नेपालका प्रधानमन्त्रीले यो निर्णयप्रति प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभएको छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैशाख २८ र २९ मा नेपाल भ्रमण गरेका थिए ।

सोही बेला उनले विराटनगरको फिल्ड अफिस हटाउने आश्वसन दिएको भारतीय विदेश मन्त्रालयको भनाई छ । 

उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वपधानमन्त्री प्रचण्डले पनि मोदीसँगको भेटमा बिराटनगरको फिल्ड अफिस हटाउन आग्रह गरेका थिए । 

मोदीको भ्रमण सकिएको एकसातापछि जेठ ५ गते प्रधानमन्त्री केपी शर्माले ओलीले विराटनगरमा रहेको भारतीय दूतावास मातहतको फिल्ड अफिस हटने बताएका थिए । 

विराटनगरको भारतीय फिल्ड अफिस जुन उद्देश्यका लागि बनाइएको थियो, त्यो पूरा भइसकेको छ ।’ पार्टी एकीकरणपछि संसदीय दलको पहिलो बैठकलाई शनिबार सम्बोधन प्रधानमन्त्री ओलीले भनेका थिए, ‘खासमा त्यो अफिस पहिला नै हट्नुपर्दथ्यो, अब छिट्टै हट्छ ।’

भारतीय दूतावासको फिल्ड अफिस हटाउने विषयमा पटक पटक माग उठेको थियो । 

फिल्ड अफिसले संवेदनशिल सूचना संकलन गरेर काठमाडौंस्थित भारतीय दूतावासमा पठाउने गरेको आरोप लाग्ने गरेको थियो । 

२०६५ भदौमा आएको बाढीले कोशी ब्यारेज भत्काएको थियो । त्यसपछि नेपालका सवारी साधानले भारतीय भूमि प्रयोग गर्नुपर्ने अबस्था आएको थियो । त्यसका लागि पास दिन भारतीय दूताबासले फिल्ड अफिस स्थापना गरेको थियो । 

त्यसबेला स्थापना भएको फिल्ड अफिस बन्द गराउन पटक पकट प्रयास भएपनि भारतले हटाएको थिएन । 

नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए । 

केही दिन अगाडि सो कार्यलय अगाडि अज्ञात समूहले बम विस्फोट गराएको थियो ।

घटनामा विप्लवको पार्टीको हात रहेको आंशका गरिएको थियो ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप