शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी समृद्ध बनाउन सकिन्छ अमरगढी नगरपालिका

मङ्गलबार, ०८ जेठ २०७५, १३ : २०
मङ्गलबार, ०८ जेठ २०७५

डडेल्धुरासहित सात जिल्लावासी अमरगढी भएरै जानुपर्छ । अमरगढी भएरै बैतडी, बझाङ, दार्चुला जाने सडक एकातिर छ भने अर्कोतिर डोटी, अछाम, बाजुरा जाने बाटो छ । केआईसिं मार्ग अमरगढीबाटै छुट्टिन्छ भने दशरथ चन्द मार्ग पनि डडेल्धुरा भएरै जानुपर्छ । समग्र डडेल्धुरा ७ नम्बर प्रदेशको केन्द्रबिन्दु मानिन्छ । त्यसको केन्द्रमा अमरगढी रहेको छ । अमरगढी डडेल्धुराको सदरमुकाम पनि हो । अमरगढी नगरपालिकामा ११ वडा समेटिएका छन् । 

अमरगढी नगरपालिका प्रमुखमा विपिन ओझा निर्वाचित भएका थिए । ओझाले नगरप्रमुखको पदभार सम्हालेको वर्ष दिन पूरा भइसकेको छ । संघीय संरचनामा गएकाले मुलुकमा स्थानीय तहको अभ्यास पहिलोपटक हुँदै छ । ‘यसअघिका जनप्रतिनिधिले गरेका कामको सिको गर्दै अघि बढौं भन्ने अवस्था छैन,’ नगरप्रमुख ओझाको स्वीकारोक्ति छ, ‘तसर्थ, पहिलो वर्ष योजना तर्जुमाको वर्षका रूपमा लिएको छु । पहिलो वर्ष अध्ययन, अनुसन्धानको वर्षका रूपमा पनि लियौं । यो वर्ष गहिरो अध्ययन, अनुसन्धान गर्यौं भने अर्को वर्षदेखि प्रभावकारी कार्यान्वयनमा लाग्छौं ।’

पहिलो वर्ष योजना निर्माण, अध्ययन, अनुसन्धानसँगै विकास निर्माणका काम पनि भएका छन् । त्यसमध्ये सडकका काम धेरै भएका हुन् । सदरमुकामको नगरपालिका भएकाले पहिल्यै खनिएका सडकको स्तोरन्नतिका गर्दा पुग्छ । ११ वडामा तीन सय किलोमिटर सडक विस्तार भएको छ । ९० किलोमिटरजति खन्नुपर्नेछ । बाहिरी चक्रपथ निर्माणका लागि तयारी तीव्र पारिएको छ । डडेल्धुरा सदरमुकामका साँघुरा सडक फराकिलो बनाउने  चुनौती छँदै छन् । 

नगरवासीले नगरप्रमुखसँग वर्ष दिनमा सबैभन्दा बढी के मागे होलान् रु ‘नगरवासीले मन्दिर निर्माणका लागि बजेट धेरै मागेका थिए,’ सिंहदबारपरिसरमा भेटिएका नगरप्रमुख ओझाले सुनाए, ‘त्यसपछि खानेपानी र सडक मागेका छन् । यसैगरी, पुराना योजना अलपत्र पारेर नयाँ योजना माग्नेको कमी छैन । दुई/चार पैसा खेलाउन सकिने भएकाले नयाँ योजना माग्नेको ताँती थियो ।’

आधुनिक कृषि प्रणाली र गुणस्तरीय शिक्षासम्बन्धी कसैको माग नआएको उनको भनाइ छ । त्यसैले आगामी आर्थिक वर्ष शैक्षिक गुणस्तर आधारका रूपमा मनाउने योजना बनाएका छौं,’ संवत् २०६२ मा डडेल्धुरा शिक्षा क्याम्पस स्ववियु उपसभापति निर्वाचित उनले थपे, ‘त्यतिमात्रै होइन, फलफूल वर्षका रूपमा समेत मनाउने योजनाबद्ध योजना छ । त्यस्तै, युवालाई व्यवसायसँग जोड्ने कामलाई प्राथमिकतामा राखेका छौं ।’

अमरगढी नगरपालिकाभित्र दुई ठाउँमा सूचना प्रविधि केन्द्र स्थापना गरिँदै छ । नगरपालिकाले पाँच सय सटरसहितको ‘सपिङ कम्प्लेक्स’ निर्माणको डीपीआर तयार पार्दै छ । उसले सभागृह निर्माण गर्ने योजनासमेत बनाएको छ ।

आठ हजार दर्शक क्षमताको फुटबल रंगशाला र क्रिकेट रंगशालासमेत निर्माण गरिनेछन् । नगरका ११ वडामा ११ पशुपालन फर्म स्थापना गरेर किसानमैत्री काम थाल्नु छँदै छ ।

अमरगढी नगरपालिकालाई समृद्ध बनाउने आधार थुप्रै छन् । सदरमुकामको नगरपालिका भएकाले अमरगढीलाई समृद्ध बनाउन त्यत्तिकै सहज छ ।

अमरगढीभित्रै ऐतिहासिक अमरगढी किल्ला छ । उग्रतारा मन्दिर यहीं छ । न

गरमै रावलतुली गुफा र घनघस्या लेक छन् ।

सूचना प्रविधिमा ध्यान दिन सके अमरगढीलाई उदाहरणीय नगरपालिका बनाउन समय लाग्दैन । त्यसका लागि नगरप्रमुख ओझाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग दुईपटक भेट गरेका थिए । उनले पाँचवर्षे कार्यकालको कार्ययोजना देउवालाई सुनाए ।

कार्ययोजना सुनेपछि उनी सकारात्मक देखिए पनि व्यवहारमा रूपान्तरण भएन । 

अमरगढी नगरपालिकाका ६ वडाअध्यक्षसहित नगरप्रमुख र उपप्रमुखमा तात्कालिक एमालेसम्बद्ध निर्वाचित भए पनि कार्यपालिकामा बहुमत छैन ।

सामान्य मुद्दालाई आधार बनाएर वडाअध्यक्ष र कार्यपालिका सदस्यले ५१ दिन अमरगढी नगरपालिका तालाबन्दी गरेको थियो । त्यसो भएकाले सोचेजस्तो काम गर्न नसक्नु अस्वाभाविक होइन । 

संवत् २०६५ मा डडेल्धुरा शिक्षा क्याम्पस स्ववियु सभापतिमा निर्वाचित विपिन ओझाले अहिलेसम्म निर्वाचन हारेका छैनन् ।

०६७ मा तात्कालिक एमालेनिकट अनेरास्वुवियु केन्द्रीय सदस्यमा निर्वाचित ओझा ०७४ वैशाख ३१ गते अमरगढी नगरपालिका प्रमुखमा निर्वाचित भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप