शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले त्यसो गर्नुभएन भने सबभन्दा ठूलो गल्ती हुन्छ : काङ्ग्रेस नेता डा. मिनेन्द्र रिजालको अन्तरवार्ता

शनिबार, १२ जेठ २०७५, ०८ : ५४
शनिबार, १२ जेठ २०७५

काङ्ग्रेस सांसद तथा नेता डा. मिनेन्द्र रिजाल प्रष्ट वक्ताका रूपमा चिनिन्छन् । कम्युनिस्ट सरकारले ल्याएको श्वेतपत्रदेखि नीति तथा कार्यक्रम र आगामी बजेटबारे उनले सङ्घीय संसदमा काङ्ग्रेसको तर्फबाट तर्कपूर्ण धारणा राख्दै आएका छन् । उनै नेता रिजालसँग सरकारको सय दिने अवधि, सरकारका लक्ष्य, योजना र सत्तापक्षबाट गरेका प्रतिबद्धतालाई काङ्ग्रेसले कस्तो र कसरी मूल्याङ्कन गर्दैछ भनेर रातोपाटीका लागि फणिन्द्र नेपालले प्रश्न गरेका छन् । 
 

कम्युनिस्ट नेतृत्वको सरकारले सय दिन पूरा गरेको छ, सरकारले यो अवधिमा गरेका काम कारवाहीलाई प्रमुख प्रतिपक्षले कस्तो मूल्याङ्कन गरेको छ ?

सरकारको खासै मूल्याङ्कन गर्ने ठाउँमा हामी पुगिसकेका छैनौँ । त्यसरी मूल्याङ्कन गर्ने कामै पो के गरेको छ र ? यो सय दिन त उसले कुरा गरेरै मात्र विताएको छ भन्दा पनि अतियुक्ति नहोला । कुरा धेरै गरेको छ, तर काम गरेर देखाउनेतर्फ खासै छैन । सरकारलाई हामीले पहिलेदेखि नै भन्दै आएका छौँ कुरा गर्न बन्द गर्नुस्, काम गर्नुस् भनेका छौँ । स्वेतपत्र ल्याउँदा अर्थमन्त्रीले राज्यको ढुकुटी रित्तो छ भन्नुभयो, अहिले नीति तथा कार्यक्रम ल्याउँदा ढुकुटीमा जति पनि छ भन्नुभयो । अर्को हुलाकी राजमार्ग ५ वर्षमा सक्ने भनिएको छ ।

मदनभण्डारी राजमार्ग बनाउने भनिएको छ । हुलाकी राजमार्ग छोडेर मदनभण्डारी मार्ग पूरा गर्नतिर लाग्दा हुलाकी राजमार्ग सफल नहुेन हो कि भन्ने शङ्का गर्ने ठाउँ छ । हिजो मध्यपहाडी राजमार्ग शुरु गर्दा  मधेश केन्द्रीत दलहरुबाट त्यसमा असन्तुष्टि व्यक्त भएको थियो । आज पनि त्यो नहोला भन्न सकिन्न । त्यसैले प्राथमिकताबाट हुलाकी राजमार्ग सरकारले बाहिर पार्छ कि भन्ने यो एउटा चिन्ता छ । एकातिर सरकार ढुकुटी रित्तो छ भन्छ, अर्कातिर ठुल्ठुला योजना देखाउँछ । यसमा दोहोरो चरित्र देखियो ।

सरकारले लिएका लक्ष्यहरू त नराम्रा हैनन् नि, किन तपाईंहरू राम्रो कुरालाई राम्रो भन्न सकिरहनुभएको छैन ?  

अहिले कसैले यहाँ उभिएर १५ वर्षभित्र अमेरिका जस्तै बनाउँछु नेपाल भन्यो भने त्यो पनि त खराब लक्ष्य त हैन नि । भन्नका लागि त कविता लेखे पुग्छ । नीति कार्यक्रम भनेको कविता होइन, नीति कार्यक्रम अलिकता चुनौतीपूर्ण हुनुपर्छ अलिकति जनताको आशा जगाउने हुनुपर्छ । उत्साहित र प्रोत्साहित गर्ने हुनुपर्छ । यसको अर्थ गर्न नसक्ने कुरा गर्नुभएन भन्ने हो । योजना राम्रा आउँछन् तर कार्यान्वयन हुँदैनन् । म व्यवस्थापनको विद्यार्थी हुँ । महत्वकाङ्क्षी योजना बोकेर आउने अनि योजना खराब भयो भन्न हुँदैन । उदाहरणकै लागि नवौँ योजना हाम्रै पालामा बनाइयो । यो लुकाउनुपर्ने कारण नै छैन । त्यसमा के लेखियो भने २० वर्षमा २० हजार मेगावाट बिजुली उत्पादन गर्छौं भनियो । आज २० वर्ष पुग्यो खै ? त्यो दस्तावेजमा पछाडिपटिट् २० हजार होइन, २२ हजार पनि भनियो । हामी यसरी गल्ती गर्दैछौं । यसकारण मैले के मात्रै भन्न खोजेको भने गर्ने हो भने काम गर्नलाई योभन्दा राम्रो समय कहिल्यै आउँदैन । सबैभन्दा राम्रो अवसर छ, राजनीतिक मुद्दा टुङ्गिएको छ । 

त्यसैले गर्न सक्ने काम गर्दै जाऊँ भनेर मैले बारम्बार भन्दै आएको छु । अर्को उदाहरण जलमार्ग बनाउने कुराको कसले विरोध गर्छ ? तर त्योभन्दा महत्वपूर्ण तमोरको जलासयुक्त आयोजना निर्माणमा जोड दिनुपथ्र्यो, जसले नेपालको सुख्खा मौसममा पनि लोडसेडिङ भोग्नुपर्दैन । विद्युत आयात गर्नुपर्दैन । हुन त जलमार्ग योजना मात्रै हो भनिएको छ । तर कतिपयलाई त जलमार्ग बनिहाल्छ भन्ने छ नि । सपना त देख्ने हो तर भुइँमा टेकेर मात्रै सपना देख्नुपर्छ भन्ने मेरो मान्यता हो ।

सपना देख्नु नै गलत हो र सपना नदेखी अर्थात योजना नै नबनाई त झन् लक्ष्यमा पुग्न सकिँदैन भन्ने मान्यता नै छ नि ? कि तपाईंहरू प्रतिपक्ष भएपछि आलोचना गर्नैपर्छ भन्ने मान्यतामा हो ? के दोहोरो आर्थिकवृद्धि दर र प्रतिव्यक्ति आय दोब्बर बनाउने कुरा योजनामा राख्नु गलत हो र ?

होइन, मैले नीति तथा कार्यक्रमप्रति टिप्पणी गर्दा तपाईंले भनेका कुरा राम्रा हुन् भनेर भनेको छु । अहिले नगरे कहिले गर्ने ? मैले यति मात्रै भनेँ ५ वर्षमा हामी त्यहाँ पुग्ने हो भने यो वर्ष के गर्ने त, अर्को वर्ष कति गर्ने त ? त्यसरी प्राथमिकीरण गरिदिएको भए हुन्थ्यो भनेको हो । १५ प्रतिशत कृषिमा वृद्धि गर्ने भनिएको छ । त्यसो हो भने ५ वर्षमा त्यति लगानी हुने र विकास गर्ने हो भने त्यसपछि कृषिबाट मानिस झिक्नै पर्दैन । त्यसकारण लक्ष्य र योजनामा प्राथमिकता दिएको र गम्भीर भएको पाइएन भनिएको हो ।

त्यसो हो भने सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले भन्दै आएको सुशासन र समृद्धि पूरा हुन सक्दैन भन्ने निष्कर्ष हो ?  

हैन, मेरो भूमिका के हो ? होसियारी गर्ने, चुनौती देखाइदिने हो नि । हाम्रो होसियारी र चुनौतीको सामना गर्ने सरकारले हो । हाम्रो खबरदारी र होसियारीले मात्रै उहाँहरूले सफलता लिन सक्नुहुन्छ भन्ने मेरो भनाइ हो । हामीले उहाँहरूको छेउमा बसेर ल गजब गर्नुभयो, जिन्दावाद भन्ने कि भूमिका पृथक बनाउने हो ? 


 

समृद्धि र सुशासनका लागि सरकारले लिएका कार्यक्रमलाई प्रतिपक्षले कस्तो–कस्तो सहयोग गर्न सक्छ त ? 

प्रधानमन्त्रीले लिएको लोकतन्त्रप्रतिको निष्ठालाई म सम्मान गर्छु तर एउटा कुरा उहाँका बेलाबेलाका अभिव्यक्तिप्रति चिन्ता छ । दोस्रो कुरा यस पटक जनताको मत पाएर जुन पोजिसनमा हुनुहुन्छ, त्यो सफलताका लागि बधाई पनि दिन्छु । तर उहाँको सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रतिपक्षले पनि समर्थन गरे हुन्छ अनि फेरि गएर प्रतिपक्षमा गएर बसे भइहाल्छ नि भन्नुभयो । अर्को केपी ओलीलाई भोट हालिस् हालिनस भनेर ड्राइभरले सोध्लान् ? घरमा सोध्लान् ? पनि भन्नुभयो यो घमण्ड देखाउनु हुँदैनथियो । 

भारतका लागि पहाडको एन्टी–इन्डियनिज्म भन्दा मधेसको प्रोइन्डियनिज्म घातक : अरुणकुमार सुवेदीसँगको अन्तरवार्ता

प्रधानमन्त्रीले खिसिट्यौरी गर्ने होइन, हिजो उहाँ एउटा ठाउँमा हुनुहुन्थ्यो, त्यो ठाउँबाट बोल्दा मान्छेहरूलाई रमाइलो पनि लाग्थ्यो तर आज झण्डै दुई तिहाइ भएको पार्टीको नेताका रूपमा देशको प्रधानमन्त्री हुनुभएको छ । त्यस्तो व्यक्तिले मलाई अब विपक्षी चाहिएन, विपक्षी हेर्न चाहान्न भन्ने ? मेरो बारेमा आलोचना र टिप्पणी गर्नेहरूलाई घरमा भात खान पनि समस्या पर्छ भन्नेजस्ता अभिव्यक्ति र भ्रम उहाँले त्याग्नुभएन भने मुलुक समस्यामा पर्छ । अहिले प्रधानमन्त्रीलाई जे पनि गर्न सकिन्छ भन्ने लागेको छ । जे पनि गर्न सकिने होइन, केही लक्ष्यहरूमा प्रष्ट भएर काम गरियो भने सफलता प्राप्त गर्न सकिन्छ । तर त्यसो गर्नुभएन भने सबभन्दा ठूलो गल्ती हुन्छ र त्यसबेला हामी आलोचना गर्नेहरूले नै उहाँलाई साथ दिनुपर्ने अवस्था आउनसक्छ ।

मधेस र केन्द्रबीच विभाजनको रेखा कोर्न मोदी सफल भए : झलक सुवेदीको अन्तर्वार्ता

सरकार र प्रधानमन्त्रीले बढी दम्भ देखाए, जसले अफ्ठ्यारो पार्न सक्छ भन्ने बुझाइ हो काङ्ग्रेसको ? 

असाध्यै ठूलो महत्वकाङ्क्षा लिएका प्रधानमन्त्री केपी ओली र प्रचण्डलाई भोलि उपलब्धि हाँसिल भएन भने सपना पूरा गर्न सकेनन् भने त्यो बेला उहाँहरूमा आउने निराशाबाट नेपाल सर्वसत्तावादी बाटोमा नधकेलियोस् । आफ्ना कुरा गर्नसक्ने तागत छ, तर गर्न नसक्ने कुरामा सपना नदेखाउनुस् । नीति कार्यक्रम अस्पष्ट छ, त्यो बजेटमा सच्याउनुस् । यदि त्यो भएन भने उहाँहरूको एक दुई वर्षको समय जान कुनै बेर लाग्दैन । केही उपलब्धि नभई जान्छ । त्यो बेलाको निराशामा यति ठूलो आन्दोलन, यति धेरैको ज्यान गएको तर उपलब्धि हुन सकेन भनेर दोष आफूतिर होइन, अरूतिरै देखाउन थाल्नुभयो भने त्यसबेला सर्वसत्तावाद जन्मन्छ । आफूले काम गर्दा अरूको हातखुट्टा, मुख बन्द गर्न थाल्नुभयो भने निश्चित रूपमा सर्वसत्तावादी बाटोमा जान्छ । हाम्रो चिन्ता त्यो हो, त्यसैले मैले बोलिरहेको छु, काङ्ग्रेसले बोलिरहेको छ, त्यो बाटोमा जानुहुन्छ भनेर भविश्यवाणी गरेको होइन । त्यस बाटोमा जाने खतरा छ, सचेत हुनुस् । नेपाल बनाउने अवसर छ । इतिहासमा कहिल्यै नभएको अवसर प्राप्त यसलाई सही सदुपयोग गर्नुस् । तर काम गर्ने शैलीले दोषी अरूलाई करार गर्ने देखिन्छ । त्यस्तो नहोस् भनेर हामीले कडा रूपमा सचेत गराइरहेका छौँ ।

तर काङ्ग्रेसले गराएको सचेत सरकारले आत्मसाथ गरेको अनुभव भएको छ ?

बोल्ने शैलीमा खासै परिवर्तन भएको पाइँदैन । त्यो हामीले खोजेको पनि होइन तर एउटा उदाहरण दिन्छु– श्वेतपत्रमा देखाएको नकारात्मक कुरा विनियोजन विद्येयकको सिद्धान्त र प्राथामिकताका केही सुधार भयो । नीति तथा कार्यक्रममा पनि हामीले अहिले गरेको टिप्पणीबाट बजेटमा सुधारियोस् भन्ने आशा गरेका छौँ । हाम्रा आलोचनालाई आत्मसाथ गर्दै बजेट धरातलमा उभिएर साँच्चै अर्थमा अवसरलाई सदुपयोग गर्ने हिसाबबाट सरकारले ल्याओस् भन्ने कामना हो ।

तानाशाहले यस्तै गजबको षडयन्त्र गर्छन् : काँग्रेस नेता मीन विश्वकर्मासँगको अन्तर्वार्ता

अहिलेको नीति तथा कार्यक्रम होइन, ठूलो सपिङ लिस्ट हो : डा. विमल कोइरालासँगको अन्तर्वार्ता

सरकार पक्षले अब सत्तापक्ष प्रतिपक्ष नभई मिलेर काम गरौँ भनेर गरेको प्रस्तावलाई काङ्ग्रेसले कसरी बुझेको छ । यदि कामै गर्ने हो भने मिलेर गर्न काङ्ग्रेस तयार हुन सक्दैन ?

यसमा हाम्रो तीनवटा भूमिका छ । मैले संसदमा पनि भनेको छु । पहिलो भूमिका हामीहरू सबै सँगै बसेर संविधान बनाएका हौँ । अहिले संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो पार ग¥याँै । तर , सङ्घीयतालाई परिभाषित गर्ने बेलामा हामीले भनेका समावेशी राजनीतको जग बनाउने बेलामा छौँ । तिनै तहमा निर्वाचन भए । जनताले प्रधानमन्त्री, सात मुख्यमन्त्री, ७५३ स्थानीय तहका प्रमुख उपप्रमुख मात्रै होइन, विकास खोजेको हो । त्यसैले संविधानलाई कार्यान्वयन गर्ने कुरामा हाम्रो साथ सहयोग नहुने भएन । प्राकृतिक स्रोतसाधन र वित्तीय आयोग बनाउने कुरामा सत्ता र प्रतिपक्ष हुँदैन भन्ने मेरो मान्यता हो । त्यो कुरा संसदमा पनि बोलेको छु । 

दोस्रो ५० वा सय वर्ष संसदीय वा लोकतान्त्रिक अभ्यास भएको मुलुक होइन हाम्रो । हामीले ०१६ सालबाट अभ्यास गरे पनि धेरै कठिनाइ भए, अहिले फेरि राम्रो काम गर्ने अवस्थामा पुगेका छौँ । त्यसैले बेलायत वा अमेरिकाको जस्तो सम्बन्ध हुँदैन । सत्ता र प्रतिपक्षको सम्बन्धको पनि परिभाषित गर्ने, सत्ता पक्षले कसरी व्यवहार गर्छ ? प्रतिपक्षले कसरी गर्छ ? यो परिभाषित गर्ने चरणमा छौँ ।

तेस्रो कुरा सामान्य रूपमा सत्तापक्ष र प्रतिपक्षको जुन सम्बन्ध हुन्छ, सत्तापक्षले कार्यक्रम लिएर आउने हो । त्यो कार्यक्रमका बारेमा यहाँ गर्न नसकिने ठाउँ छ भनेर हामीले एक्लै भए पनि भन्छौँ । लोकतन्त्रको यो सुन्दर पक्ष हो । खाँबो मैले बाङ्गो देखेँ भने, सरकारले नदेख्ला । मैले त्यो देख्दा त्यो अधिकार मेरो सुरक्षित हुनुपर्छ । प्रतिपक्षको काम त्यो हो । सरकारलाई हामीले मन नपर्ने कुरा ग¥यौँ भने उसलाई अझ सजगता हुने र होसियारीपूर्वक काम गर्न सहयोग पुग्छ । त्यसैले सत्ता र प्रतिपक्षको भूमिका नै सकियो भन्ने हैन । त्यो भनियो भने गलत हुन्छ । हुन त दार्शनिक रूपले हमी बेग्लाबेग्लै स्कुलबाट आएका हौँ । कम्युनिस्टको स्कुल र लोकतन्त्रवादीको स्कुलबाट । हामी प्रतिपक्षले सरकारलाई चनाखो गराएनौँ भने विपक्षको स्वर भएन भने, सरकारले आफ्नो काम ठीकसँग गर्दैन । जहाँसुकै पनि सत्ता पेलाहा हुन्छ, थिचोमिचो गर्न खोज्छ । त्यो थिचोमिचोमा भएन है भन्ने तागत नहुँदासम्म लोकतन्त्रले काम गर्न सक्दैन भन्ने मान्यता हो । त्यसकारण उहाँहरूले हामीलाई सत्तापक्षको लाममा उभ्याउन हैन कि शसक्त प्रतिपक्षका रूपमा उभियो भने सहयोग हुन्छ भनेर बुझ्नुभयो भने बेस हुन्छ ।


 

तपाईंले त्यसो भन्दै गर्दा अब काङ्ग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका ननिभाउने हो कि भन्ने चिन्ता पनि प्रकट भएको पाइन्छ नि ?

हामी रचनात्मक भूमिका निभाउन तयार छौँ, सक्षम छाँै । मैले अघि नै भने संविधानको कार्यान्वयनका सन्दर्भमा हामी सहयोग गर्न तयार छौँ । दोस्रो-संसदीय व्यवस्था, लोकतान्त्रिक व्यवस्था संस्थागत रूपमा सुदृढ नहुँदासम्म सत्ता र प्रतिपक्षको कतिपय स्थानमा मिलापको काम हुन्छ, त्यो पनि गर्छौं । तेस्रो-सरकार बलियो भएका बेला हामीले नडराई निर्भयतासाथ बोलेनौँ भने, भोलि कोही पनि मान्छे आफ्नो असहमति राख्न डराउने हुनसक्छ । त्यसकारण एउटा नागरिकको पनि अधिकार सुरक्षित गर्ने काम विपक्षको हुन्छ । त्यो भूमिका काङ्ग्रेसले निभाउँछ । 

नेकपाका केन्द्रीय सदस्य बिष्णु रिजालसँग भिडियो अन्तर्वार्ता


   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप