बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

महिनामा एक पटक यी बानी बदल्नुस्, अनि जम्मा गर्नुस् लाखौँ रुपियाँ

शनिबार, १२ जेठ २०७५, ०९ : ३६
शनिबार, १२ जेठ २०७५

महिनामा एक दिन मात्र आफ्नो जीवनशैलीमा केही परिवर्तन गर्नाले तपाईं लाखौँ रकम जम्मा गर्न सक्नु हुनेछ । भविष्यको आवश्यकतालाई ध्यानमा राखेर मानिस सानोतिनो वचत त गरि नै रहेको हुन्छ  । तर वचत गर्ने सही तरिका नहुँदा सोचेजस्तो रकम जम्मा गर्न सकिरहेको हुँदैन ताकि भविष्यका मुस्किल घडीको आवश्यकता पूर्ति होस् । यसको मुख्य कारण वचत गर्ने बेला सही तरिका नअपनाउनु नै हो । सामान्यतः मानिस वचत गर्ने क्रममा केही यस्ता गल्तीहरू गर्छन् जसको कारण ठूलो रकम जम्मा गर्नबाट चुकिरहेको हुन्छ । 

तपाईं यो जानेर अचम्ममा पर्न सक्नु हुनेछ, वचत गर्ने एक निश्चित समयमा तपाईं लाखौँ जम्मा गर्न सक्नुहुनेछ । जब तपाईंले यसका लागि अनुशासित ढङ्गले वचतमा ध्यान दिनुपर्छ । 
जस्तो कि सहर बजारमा बस्नेहरू प्रायः बिदाको दिन परिवार या साथीभाइका साथ फिल्म हेर्ने, घुमफिर गर्ने चलन फेसन नै बनेको छ । सामान्यत महिनामा चार दिन बिदा हुन्छ । ती चार दिनमध्येको एक दिन मात्र तपाईं फिल्म, घुमफिर, बाहिरको खानपान, सपिङ, धूमपान मध्यपान जस्ता गतिविधिबाट रोकिन सक्नुभयो भने पनि २० वर्षमा तपाईंको वचत रकम अनुमान गरेभन्दा धेरै माथि हुनेछ । 

सानो वचतबाट धेरै लाभ लिनको लागि तपाईं सेयरमा लगानी गर्न सक्नुहुन्छ । सेयर लगानीबाट आउने बोनस सेयरको भूमिका महत्वपूर्ण हुन्छ । बैङ्क तथा वित्तीय संस्थाहरूले बेला बेला ग्राहक आकर्षित विभिन्न अफरहरू आइरहेका हुन्छन् । बैङ्कले दिने फिक्स्ड डिपोजिट, विभिन्न प्रकारका वचत योजनाहरूमा तपार्इं आफ्नो रकम जम्मा गर्न सक्नुभयो भने राम्रो प्रतिफल पाउन सकिन्छ । नेपालमा अहिले हाइड्रोमा लगानीको अवसरलाई राम्रो आय गर्न सकिने क्षेत्रको रूपमा लिइएको छ र यसमा लगानी गर्नाले राम्रो प्रतिफल आउने विश्वास पनि छ । अझ म्युचुअल फन्ड सबैभन्दा उत्तम तरिका हो, जहाँ लगानी गर्न सानो सानो लगानी कर्ता सक्रिय रहन्छन् । म्युचुअल फन्डमा नियमित लगानी गर्नाले लामो समयमा तपाईंको लक्ष्य प्राप्ति हुन्छ । ताकि म्युचुअल फन्डबाट मिल्ने रिटर्न बजारमा देखापर्ने उतार चढावमा पनि भर पर्र्दछ । तर लामो समयसम्म गर्ने लगानीको प्रतिफल भने सोचेभन्दा धेरै राम्रो आउने विज्ञहरूले पनि सुझाव दिएका छन् ।
अब तपाईं यी पाँच तरिका अपनाउनुस्, जसले तपार्इंलाई लाखौँ नजिक पु¥याउन मद्दत गर्दछ । 
 

१. महिनामा एउटा शनिबार (बिदाको दिन) आफ्नो सवारी साधनको प्रयोग नगर्नुस्
यदि महिनामा एउटा मात्रै भए पनि शनिबारको दिन तपाईं घरमै बस्नुस् यसबाट तपाईंको शरीरले पनि आराम पाउँछ । साथैै तपाईंको वचत पनि हुन्छ । मानाँै कुनै एक शनिबार तपाईं घुम्न जाँदा वा कतै आफन्त वा साथीभाइकोमा जाँदा गाडी (सवारी साधन)को प्रयोग नगर्नुस् । यसो गर्दा इन्धन बराबरको रकम पनि वचत हुने अनि अन्य खर्च पनि रोकिने । सामान्यत तपाईंको उक्त दिन १ हजार वा कहिले सोभन्दा बढी पनि खर्च हुन सक्छ । यदि यो एक हजार मात्रै भए पनि तपार्इं बैङ्कमा जम्मा गर्नुस् वा कुनै सेयरमा लगानी गर्नुस्, यसबाट तपाईंले २० वर्षमा २ देखि ३ लाखसम्म न्यूनतम वचत गर्न सक्नुहुनेछ । त्यो बाहेक ब्याज वा सेयरको बोनससहितको रकम हिसाब गर्ने हो भने तपाईंले अझ धेरै प्रतिफल पाउनुहुनेछ । 
 

२. महिनामा एक दिन आफ्नो गाडी (सवारी साधन) अफिस नलैजानुस् 
तपाईं एक दिन मात्रै भए पनि सार्वजनिक यातायातको प्रयोग गर्ने बानी बसाल्नुस् । कि त एक दिन कार्यालयको दूरी हेरी पैदलै जान पनि सकिन्छ । दिन प्रतिदिन इन्धनको मूल्य बढिरहेको छ । गाडी, मोटरसाइकल, स्कुटरमा प्रयोग हुने इन्धन बराबरको रकम कतै लगानी गर्नु सक्नु हुनेछ । लामो समयसम्म यसो गर्नाले राम्रो रकम जम्मा गर्न सकिन्छ । 
 

३. महिनामा एक दिन फिल्म हेर्ने बानी छाडिदिनुस् 
बिदाको दिन प्रायः फिल्म हेर्न जाने बानी तपाईंमा छ भने यो बानीमा कम्तीमा एक दिन मात्रै भए पनि परिवर्तन गर्नुस् । तपाईं फिल्म हेर्नु हुन्छ भने हेर्न सक्नु हुन्छ, मात्र यति बदल्नुस् कि महिनामा एक दिन फिल्म हेर्न हलमा नजानुस् । मानौं तपाईंको तीन जनाको परिवार छ । एक पटक फिल्म हेर्न जाँदा कम्तीमा पनि तपाईंको ९ देखि १२ सय टिकटमा नै खर्च हुन्छ । यदि यो रकम तपाईं कतै वचत गर्न सक्नु हुन्छ । जस्तो सेयरमा, बैङ्कमा अथवा कुनै पनि तरिकाले बचत गर्नुस् । तपाईंले टिकटबापत मात्रै २० वर्षमा २ देखि ३ लाखसम्म न्यूनतम वचत हुन्छ । 
 

४. महिनामा एक पटक बाहिरको खाना नखानुुस् 
एक मध्यम वर्गीय परिवार लन्च या डिनर भन्दै सामान्यतः २ हजारदेखि ३ हजारसम्म खर्च गर्ने गर्दछ । तर तपाईं महिनामा एक दिन बाहिर खाना खान जानबाट बच्नुभयो भने तपाईं महिनामा खानामा मात्रै ३ हजार बचाउन सक्नु हुन्छ । यो हिसाबले तपाईं २० वर्षमा ७ लाख २० हजार जम्मा गर्न सक्नु हुनेछ ।
 

५. विना आवश्यकता सामान किन्न छाडिदिनुस्
आजकाल अनलाइन सपिङको चलन निकै बढेको छ । घरमै बसीबसी मोबाइलबाट नै सामान किनमेल गर्न सकिने भएकाले मानिस चाहिने नचाहिने सामान खरिद गरिरहेको हुन्छन् । घरीघरी आउने आकर्षक डिस्काउन्ट अफरहरूले पनि सामान किन्न उक्साइरहेको हुन्छ । जुन आवश्यक होस या नहोस् । अर्को जमाना क्रेडिट कार्डको पनि हो । क्रेडिट कार्डको धेरै फाइदा भए पनि हामी कुनै प्रवाह नगरी क्रेडिट कार्डको प्रयोग गरिरहेको हुन्छौँ । अब तपाईं यस्तो प्रकारले सामान किन्न र क्रेडिट कार्डको जथाभावी प्रयोग गर्नबाट जोगिनुभयो भने पनि महिनामा २ देखि ३ हजारसम्मको बचत गर्न सक्नुहुन्छ । अब यो रकम सही ठाउँमा लगानी लगाउन सकियो भने २० वर्षमा यसबाट न्यूनतम ७ लाखभन्दा बचत हुन आउँछ । अब यसलाई सही ठाउँमा लगानी गर्न सक्ने हो भने त्यसबाट आउने प्रतिफल अझ दोब्बर भएर आउँछ । 
अब तपाईंले माथिका यी तरिकालाई अपनाउनु भयो भने सोच्नुस् तपाईंले भविष्यमा आइपर्ने आर्थिक समस्यालाई कसरी सजिलै समाधान गर्न सक्नुहुन्छ । अनि आफ्ना बच्चाको पढाइ वा अन्य काममा लगानी लगाउन पनि सक्नुहुनेछ । यस्ता साना वचतबाट पनि लाखौं कमाउन सकिन्छ । यसैगरी तपाईं आफ्नो बच्चाहरूलाई पनि बचत गर्ने बानीको विकास गराउन सक्नुहुन्छ । आजको सानो बचतबाट भोलि ठूलो प्रतिफल मिल्ने भएकाले पनि बचत गर्ने बानीको विकास आजैैबाट गरौं ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप