बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–२ : साझा यातायातमा यात्रुलाई केही सहजता भयो कि भएन ?

आइतबार, १३ जेठ २०७५, १२ : ५८
आइतबार, १३ जेठ २०७५

सिन्डिकेटको अन्त्यपछि सार्वजनिक यातायातमा केही सुधार आएको छ कि छैन ?

गत शुक्रबारदेखि रातोपाटी संवाददाता अञ्जु तामाङ र फोटो पत्रकार सुवास श्रेष्ठले सार्वजनिक यातायातमा यात्रुले सहजता महसुस गरे–नगरेको जान्ने कोसिस गरेका छन् ।

उनीहरूले काठमाडौंका सबैजसो रुटमा ‘रियालिटी टेस्ट’ गर्ने छन् ।

शुक्रबार उनीहरूले टिचिङ अस्पताल महाराजगञ्जको बस स्टपबाट नयाँ बानेश्वरसम्म नेपाल यातायातको यात्रा गरेर  ‘रियालिटी टेस्ट’ गरेका थिए, जहाँ नेपाल यातायातका यात्रुले सिन्डिकेटको अन्त्यपछि पनि यात्रुलाई कुनै फरक नपरेको बताएका थिए ।

‘रियालिटी टेस्ट’अन्तगर्त आज रातोपाटी संवाददाता  तामाङ र फोटो पत्रकार  श्रेष्ठले साझा यातायातको यात्रा गरेर यात्रुहरूसँग कुराकानी गरेका छन् ।

गोंगबुबाट ललितपुरकाे पुल्चोकसम्मको यात्रामा उनीहरूले साझा यातायातमा निकै भीड देखे ।

कुराकानीमा यो पनि प्रस्टै भयो, यो रुटमा सिन्डिकेटको अन्त्यपछि पनि यात्रुहरूले केही सहजता पाएका छैनन् ।
 
 

मिति : जेठ १३
समय : बिहानको ९ः३० देखि १०: ३० सम्म
स्थान – गोंगबुदेखि  ललितपुर पुल्चोकसम्म

यातायात – साझा यातायात
 

महेश पौडेल


म महाराजगञ्जस्थित नारायण गोपाल चोकमा सवारी साधनको प्रतीक्षामा बसेको २० मिनेट भन्दा बढी नै भयो ।

सिन्डिकेट हेटेपछि सार्वजनिक सवारी साधनमा कुनै पनि परिवर्तन पाएको छैन, उस्तै हो ।

सवारी साधन त नआएको होइन तर चढ्न सक्ने अवस्था नै छैन ।

सारै भीड छ । अफिस समयमा सिट पाउने कुरा कल्पनाभन्दा पनि बाहिरको भयो । यो समयमा उभिएर जाने साधन पनि भेटिन्न ।

पेसाले म कानुन व्यवसायी हुँ । मैले दैनिक कामकाजका लागि सार्वजनिक यातायात प्रयोग गरेको ०३८ सालदेखि हो ।

अहिले आएर भोग्दा यात्रा यति धेरै सकस होला भन्ने लागेको थिएन ।

सिन्डिकेट खारेजीपछि केही परिवर्तन होला भन्न आशा थियो तर सवारी साधनको सङ्ख्या नबढाई समस्या समाधान होला जस्तो लागेन ।

शान्त चौधरी


म बसुन्धाराबाट जवालाखेलका लागि साझा यातायातमा चढेको हुँ । उमेर ढल्केर होला उभिन गाह्रो भएको छ नानी ।

कपाल सेतै फुलिसकेका ६२ वर्षका चौधरीले बसुन्धारादेखि जवालाखेलसम्म झण्डै १ घण्टाको यात्रा उभिएरै पार गरे ।

मलाई सिन्डिकेटको बारेमा खासै थाहा छैन तर यात्राका क्रममा हामी जस्ता वृद्धवृद्धालाई सहज हुनुपर्ने हो ।

सुष्मा प्याकुरेल


म दैनिक साझामै यात्रा गर्छु ।   

टिचिङ हुँदै जवालाखेल जाने साझा एक मात्रै सार्वजनिक सवारी साधन हो ।

आज पनि सिट पाइनँ ।

उभिएर यात्रा गर्नका लागि पनि निकै ठेलामठेल र भीड छ ।    

सिन्डिकेट खारेज गरेपछि पनि कुनै पनि परिवर्तन भएको छैन ।

यो गर्मीमा म दैनिक उभिएरै जान्छु ।

नागरिकलाई फाइदा पु¥याउँछ भन्ने सिन्डिकेटले अहिलेसम्म कुनै पनि परिवर्तन भएको पाइनँ ।

टीकाराज काफ्ले


म गोंगबुबाट थापाथलीको कामका लागि हिँडेको हो ।

यात्रुको सहज यात्राका लागि बल्लतल्ल साझा यातायत आयो । त्यसमा पनि निकै भीड हुन्छ ।

यात्रको क्रममा सिटमा बस्न पाउनेभन्दा धेरै पटक उभिएरै यात्रा गरेको छु ।

सिन्डिकेट खारेज गरेपछि हामी सार्वसाधरणले पाउने दुःख यस्तै त हो नि, राज्यले के गर्छ र ?

सरकारले भनेजस्तो परिर्वतन अहिलेसम्म भएको छैन ।

राजन जोशी


म नारायणगोपाल चोकबाट जवालाखेलका लागि हिँडेको हुँ । म त्रिभुवनविश्व विद्यालयमा अध्ययन गराउँछु ।

सिन्डिकेट कुरामा हटे पनि व्यवहारमा लागू भएको छैन ।

यसका लागि अझै सवारी साधनको सङ्ख्या बढाउन जरुरी छ ।

सेवा नै दिने हो भने साना गाडीलाई हटाउनुपर्छ ।

ठूला गाडीमा सिटको व्यवस्था नभए पनि सजिलोसँग उभिर यात्रा गर्न पाउनुपर्छ ।

सिन्डिकेट हुँदा र नहुँदा मैले कुनै पनि परिवर्तन पाएको छैन ।

हटेको छ भन्ने विश्वास मात्रै हो, व्यवहारमा लागू भएको छैन ।

नेत्रप्रसाद भुसाल


स्याङ्जाबाट छोरीको उपचारका लागि आजै आएको हुँ ।

रातभर गाडीकै यात्राबाट आउँदै छु ।

सारै भीड रैछ ।

बिरामी छोरीलाई बसाउन बल्ल बस्ने सिट पाएँ ।

काठमाडौँमा भन्दा बरु स्याङ्जामा अलि सहज छ ।

 

याे पनि छुट्याे कि !

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–१ : नेपाल यातायातमा यात्रुलाई सहज भयो त ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप