शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वरिष्ठ लोकगायक बुद्धिकृष्ण लामिछाने सम्मानित

आइतबार, १३ जेठ २०७५, १७ : ०३
आइतबार, १३ जेठ २०७५

भक्तपुर– लोक गायक बुद्धिकृष्ण लामिछाने र वरिष्ठ संगीतकर्मी रोशन राजभण्डारी सम्मानित भएका छन् । भक्तपुर सांगीतिक समाजले आफ्नो प्रथम वार्षिक साधारणसभाको अवसर पारेर शनिबार लोक गायक लामिछाने र वरिष्ठ संगीतकर्मी राजभण्डारीलाई सम्मान गरेको हो ।

‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’, ‘पिंढीमा बसेर, मेरी आमा रुँदी हुन् मलाई सम्झेर’ जस्ता लोकप्रिय गीत गाएका लामिछाने र भक्तपुरका बरिष्ठ संगीतकर्मी राजभण्डारीलाई समाजको तर्फबाट बरिष्ठ गायक प्रेमध्वज प्रधानले दश–दश हजार नगदसहितको सुशील चालिसे साहित्य संगीत सम्मान प्रदान गरेका हुन् ।

उक्त सम्मानका साथै लोक गायक लामिछानेलाई कार्यक्रममा सहभागी विद्युतीय सामग्री व्यवसायी रोशन भोयद्यो र रुकेश रञ्जितले थप पाँच हजार नगद पुरस्कार दिएका छन् । नेपाल मोवाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याद्योले पनि समाजको लागि रु पाँच हजार सहयोग गरेका थिए ।

कार्यक्रममा लोक गायक लामिछानेको सम्मानमा गायक रोशन धौभडेलले लामिछानेका तीनवटा गीत गाए । त्यस्तै रोशन राजभण्डारीको सम्मानमा उनले संगीत भरेको एउटा गीत दृष्टि सुवेदीले गाइन् । कार्यक्रमका प्रमुख अतिथि प्रेमध्वज प्रधानको सम्मानमा कपिल कसपालले प्रधानको एउटा गीत गाएका थिए ।

उक्त अवसरमा बरिष्ठ गायक प्रधानले आफूहरुको जमानामा भन्दा अहिले गीत संगीतको क्षेत्रमा प्राविधिक रुपले धेरै सजिलो भएको बताए । तैपनि गीत संगीतमा साधना अति आवश्यक भएको उनको भनाइ थियो ।

‘गायकले आफ्नो एउटा गीत गाउँदा अरुको तीनवटा गीत सुन्नुपर्छ’, बरिष्ठ गायक प्रधानले भने, ‘गायकले आफ्नो गलालाई निखार्न दैनिक रियाज गर्न भुल्नुहुन्न । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले बुद्धिकृष्ण लामिछानेको सम्मान कार्यक्रममा सहभागी हुन पाउँदा खुशी व्यक्त गरे । कार्यक्रममा बरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी, बरिष्ठ गीतकार सुभाषचन्द्र ढुंगेल, भक्तपुर उद्योग बाणिज्य संघका सचिव राजु मृगेन्द्र जोशीले पनि आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा स्थानीय शिक्षासेवी प्रा.शिवप्रसाद मुनकर्मीले भक्तपुरका गायक गायिकालाई सम्मान गर्न अक्षयकोष स्थापनाको लागि भक्तपुर सांगीतिक समाजलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

साधारणसभाले प्रबिन शाहीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्ष कपिल श्रेष्ठ, सचिवमा अल्बर्ट बज्राचार्य, कोषाध्यक्षमा रोशन धौभडेल रहेका छन् । त्यसैगरी सदस्यहरुमा बिजय कायस्थ, बिवेक शाक्य, शम्भोचरण राजभण्डारी, सुमन रंजितकार, इन्दिरा लाछिमस्यू, मंगललक्ष्मी सिन्ताकल, श्रीजल मधिकर्मी, श्रीहरि दाहाल र महेश्वर बोहरा (मानस राज) रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप