शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकाका एक हजार भूकम्पपीडितलाई काठ वितरण

आइतबार, १३ जेठ २०७५, १७ : २५
आइतबार, १३ जेठ २०७५

–अच्युत रेग्मी 

काठमाडौँ– द टिम्बर कर्पोरेशन अफ नेपालले काठमाडौँ उपत्यकामा ४८ हजार ३० क्युफिट काठ वितरण गरेको छ ।  वि.सं २०७२ वैशाख १२ मा क्षति भएको ९९४ घर पुनःनिर्माणका लागि कर्पोरेशनले काठमाडौँ, भक्तपुर र ललितपुरमा उक्त काठ वितरण गरेकामा काठमाडौँमा १४ हजार ७७०, भक्तपुरमा २६ हजार १५० र ललितपुरमा सात हजार ९१० क्युफिट काठ वितरण भएको हो । 

कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले काठमाडौँमा ३९६, भक्तपुरमा ६६८ र ललितपुरमा २४० घर पुनःनिर्माणका लागि काठ माग भएकामा काठमाडौँमा २९९, भक्तपुरमा ५३२ र ललितपुरमा १६३ घर पुनःनिर्माणका लागि काठ वितरण गरिसकिएको जानकारी दिए । 

वि.सं २०७२ माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पपीडितका लागि काठ उत्पादन र व्यवस्थापन निर्देशिका–२०७२ लाई स्वीकृत गरेपछि कर्पोरेशनले गत वर्षको जेठ २९ गतेदेखि उपत्यकाका भूकम्पपीडित तथा सम्पदा निर्माणका लागि काठ वितरण कार्य शुरु गरेको हो । 

निर्देशिकाको परिच्छेद–५ को दफा ११ मा भूकम्प प्रभावित संरचनाका लागि काठ उपलब्ध गराउन, लगत तयार गर्न, आवश्यक काठ वन विभागसँग माग गर्न, काठ वितरण र सुरक्षाको व्यवस्था मिलाउन तथा काठ वितरणको अनुगमन गर्न भूकम्प प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहने व्यवस्था गरिएको थियो । 

यस्तै कर्पोरेशनले सम्पदा पुनःनिर्माणका लागि काठमाडौँ, भक्तपुर, ललितपुर, दोलखा, नुवाकोट, गोरखालगायतका जिल्लाका लागि झण्डै नौ हजार क्युफिट काठ वितरण गरिसकेको महाप्रबन्धक लौडारीले बताए । सम्पदालाई भने मागबमोजिम नै काठ उपलब्ध गराउँदै आएको कर्पोरेशनले जनाएको छ । 

उपत्यका बाहिरका भूकम्प प्रभावित जिल्लामा भने सम्बन्धित जिल्ला वन कार्यालयबाट नै काठ उपलब्ध हुँदै आएको छ । 
कर्पोरेशनले भूकम्पपीडितलाई भूकम्पको रातो कार्ड, नागरिकता, पुनःनिर्माण प्राधिकरणसँग भएको सम्झौता, जग्गाधनी प्रमाणपूर्जा र घर निर्माणको नक्सा हेरेर प्रतिक्युफिट रु दुई हजार ७४० मा काठ उपलब्ध गराउँदै आएको छ । कर्पोरेशनले प्रतिपरिवार अधिकतम ५० क्युफिट काठ वितरण गर्दै आएको छ । 

“घर पुनःनिर्माणका लागि चाहिने काठ लिनका लागि जिल्ला वन कार्यालयमा आएको निवेदन अध्ययन गरेर जिल्ला वन कार्यालयले काठ उपलब्ध गराउँदै आएको छ ।”, वन विभागका सूचना अधिकारी शान्तमाया श्रेष्ठले बताइन् । 

भूकम्प प्रभावित जिल्लालाई हालसम्म सामुदायिक वनले मात्र छ लाख ५८ हजार ६४५ क्युफिट काठ उपलब्ध गराएको वन विभागले जनाएको छ । यस्तै सिन्धुपाल्चोकका भूकम्पपीडितलाई जिल्ला वन कार्यालयले २५ हजार क्युफिट काठ वितरण गरेको उनले जानकारी दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप