बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–३ : सिटी यातायातका यात्रुले के महसुस गरे ?

सोमबार, १४ जेठ २०७५, १३ : ४९
सोमबार, १४ जेठ २०७५

स्थान – जोरपाटी
समय – ९ः४०
यातायात – सिटी यातायात

गत शुक्रबारदेखि रातोपाटी संवाददाता अञ्जु तामाङ र फोटो पत्रकार सुवास श्रेष्ठले सरकारले सिन्डिकेट अन्त्यको घोषणापछि सार्वजनिक यातायातमा यात्रुले सहजता महसुस गरे–नगरेको जान्ने कोसिस गरेका छन् । उनीहरूले काठमाडौंका सबैजसो रुटमा ‘रियालिटी टेस्ट’ गर्ने छन् ।

शुक्रबार उनीहरूले टिचिङ अस्पताल महाराजगञ्जको बस स्टपबाट नयाँ बानेश्वरसम्म नेपाल यातायातको यात्रा गरेर  ‘रियालिटी टेस्ट’ गरेका थिए, जहाँ नेपाल यातायातका यात्रुले सिन्डिकेटको अन्त्यपछि पनि यात्रुलाई कुनै फरक नपरेको बताएका थिए ।

आइतवार ‘रियालिटी टेस्ट’ भएको थियो साँझा यातायातको । संवाददाता  तामाङ र फोटो पत्रकार श्रेष्ठले आइतवार गोंगबुबाट ललितपुरको पुल्चोकसम्मको साझा यातायातको यात्रामा निकै भीड देखे । सिन्डिकेट अन्त्यपछि पनि यहाँ यात्रुहरुले सहज रुपमा यात्रा गर्न पाएका छैनन्, पहिला जस्तो थियो, त्यस्तै अबस्था छ । 

‘रियालिटी टेस्ट’अन्तगर्त सोमवार अर्थात आज रातोपाटी संवाददाता  तामाङ र फोटो पत्रकार श्रेष्ठले सिटी यातायातको यात्रा गरेर यात्रुहरूसँग कुराकानी गरेका छन् । नामगेल, जोरपाटी, बौद्ध, चावहिल, गौशला, रातोपुल, कमलपोखरी, पुतलीसडक, बागबजार, रत्नपार्क हँुदै कालिमाटीसम्म सञ्चालन हुने सिटी यातायातमा हामी उनीहरु जोरपाटीदेखि चढे । 

बसमा सिट पाउने त सम्भावना नै भएन । रिपोर्टिङका लागि निकै हम्मेहम्मे पर्यो । भिडभाड थियो गाडी । सिन्डिकेट हटेपछि पनि सिटी यातायातको सेवामा कुनै पनि परिवर्तन भएको पाइएन । 

जोरपाटीदेखि रत्नपार्कसम्मको यात्रा निकै सकसपूर्ण देखियो । अझैसम्म यात्रुले सार्वनजिक यातायातमा सहजता पाएका छैनन् भन्ने कुरा सिटी यातायातमा पनि देखियो ।

अब यात्रुकै कुरा पढ्नुहोस्

आरती मैनाली

केको परिवर्तन पाउनु नि ।

केहीछिन् अघि बसमा दुई हात समाएर झुन्डिएको तपार्इंले पनि देख्नुभयो होला ।

हिजो नयाँ बस्तीबाट पुलती सडकसम्म निलो माइक्रो चढेको २५ रुपियाँ लियो ।

अस्ती—अस्ती त २० रुपियाँ लिने गरेको थियो ।

म पुतली सडकको कन्सलटेन्सीमा काम गर्छु ।

धेरैजसो उभिएर जान्छु ।

घर आउने समयमा बस नपाउँदा पुतलीसडकदेखि कमलपोखरीसम्म हिँडेर आउने गर्छु ।

सिट पाउने त परैको कुरा हो, उभिएर जान पनि बस पाइन्न ।

गुल्फाम अन्सारी

म अहिले ब्रिज कोर्सको तयारी गरिरहेको छु ।

त्यसका लागि बौद्धदेखि बागबजार हिँडेको हुँ ।

तर सिन्डिकेट हुँदा र नहुँदामा कुनै फरक पाएको छैन । पहिलाभन्दा अहिले झन् गाह्रो भएको छ ।

रूपक कुँवर

म पनि ब्रिज कोर्सकै तयारी गर्दै छु । चावहिलदेखि सिटी यातायातमा झुन्डिएर बागबजार जाँदै छु ।

सिन्डिकेट हटेपछिको कुरा गर्ने हो भने नोटिस गर्ने खालको कुनै पनि परिवर्तन मैले पाइनँ ।

झुन्डिएर यात्रा गर्नुपर्छ । दैनिक समस्या जस्ताको त्यस्तै छ । नभएको परिवर्तनको कुरा गरेर फाइदा छैन ।

निमा शेर्पा

म बौद्धदेखि सिटी यातायातमा चढेको हुँ । 

२० मिनेटको पर्खाइपछि बल्ल बस आयो ।

त्यो पनि भिडाम भिड थियो ।

तोकेको समयको आसपासमा पुग्नका लागि ३० देखि ४५ मिनेट पहिला नै घरबाट निस्कनुपर्छ ।

म पीके कलेजमा थेसिसका लागि जान लागेको हुँ ।

सार्वजनिक यातायातमा यात्रा गर्न निकै गह्रो छ, सधैँ झण्डिनुपर्ने ।

कुनै कुनै बसमा त सहचालकले यात्रुलाई गर्ने व्यहार पनि राम्रो हुन्न ।

बौद्धदेखि पुतलीसडकसम्मको भाडा २२ रुपियाँ हो तर मलाई २५ रुपियाँ लिन्छ ।

भाडा दर देखाऊ भन्दा पनि देखाउन मान्दैनन् ।

उनीहरूले मागेको जति भाडा दिएन् भने बसबाट झारिदिन्छन् ।

तँलाई मन लाग्दैन भने बस नचढ्दा हुन्छ भन्छन् ।

सार्वजनिक यातायातमा यात्रा गर्दा धेरै पकट सहचालकसँग झगडा गर्नुपरेका छ ।

सिट त झुक्किएर केहिलेकाहीँ मात्र पाइनछ ।

आज पनि उभिएरै यात्रा गर्नुपरेको छ ।
 

पढ्नुहोस्

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–१ : नेपाल यातायातमा यात्रुलाई सहज भयो त ?

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–२ : साझा यातायातमा यात्रुलाई केही सहजता भयो कि भएन ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप