बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–५ : उस्तै छ माइक्रोको दादागिरी

बुधबार, १६ जेठ २०७५, १३ : १६
बुधबार, १६ जेठ २०७५


स्थान – रत्नपार्क 
समय – साँझ ५ बजे
यातायात – माइक्रो बस

गत शुक्रबारदेखि रातोपाटी संवादाता अञ्जु तामाङ र फोटो पत्रकार सुवास श्रेष्ठले सरकारले सिन्डिकेट अन्त्यको घोषणापछि सार्वजनिक यातायातमा यात्रुले महसुस गरे–नगरेको जान्ने कोसिस गरेका छन् । 
पाचौँ रुटमा ‘रियालिटी टेस्ट’ गर्दा पनि सिन्डिकेट अन्त्यको खास असर देखिएन । तिनै बस, तिनै चालक, तिनै सह–चालक र उस्तै व्यवहार । 

न गाडी थपिएका छन् । न त यात्रुले यात्रामा पहिला भन्दा केही फरक र सजिलो महसुस गरेका छन् ।

विकल्प नसोची–नदिई गरिएको सिन्डिकेट अन्त्य नारा र प्रचारमा राम्रो देखियो, ‘ग्राउन्ड’ मा असर चाहिँ खास देखिएन् । 

हाम्रो उद्देश्य सिन्डिकेट अन्त्य गरेर गलत भयो भन्ने हुँदै होइन । सिन्डिकेट अन्त्यपछि यात्रुले सजिलैसँग यात्रा गर्न पाउने वातवरण तयार भयो कि भएन भनेर सरकारसम्म सन्देश पुर्याउनु हो । र, सहज यात्रा गर्ने वातवरण मिलाउन सरकारमाथि दबाब बनाउनु हो । 

रातोपाटी संवाददाता र फोटो पत्रकारले काठमाडौँका सबैजसो रुटमा ‘रियालिटी टेस्ट’ गर्ने छन् । 

‘रियालिटी टेस्ट’–१ मा शुक्रबार उनीहरूले टिचिङ अस्पताल महाराजगञ्जको बस स्टपबाट नयाँ बानेश्वरसम्म नेपाल यातायातको यात्रा गरेर ‘रियालिटी टेस्ट’ गरेका थिए । जहाँ नेपाल यातायातका यात्रुले सिन्डिकेटको अन्त्यपछि पनि यात्रुलाई कुनै फरक नपरेको बताएका थिए । 

आइतबार साझा यातायातको  ‘रियालिटी टेस्ट’–२ भएको थियो । संवादाता तामाङ र फोटो पत्रकार श्रेष्ठले आइतबार गोँगबुबाट ललितपुरको पुल्चोकसम्म साझा यातायात निकै भीड देखे । सिन्डिके अन्त्यपछि पनि यहाँ यात्रुहरूले सहज रूपमा यात्रा गन पाएका छैनन् । पहिला जस्तो थियो । अहिले पनि त्यस्तै अवस्था छ ।

‘रियालिटी टेस्ट’–३ अन्तर्गत सोमबार सिटी यातायातको यात्रा गरेर यात्रुसँग कुरा गरेका थिए । त्यहाँ पनि सन्डिकेट हटेपछि कुनै पनि परिवर्तन नभएको यात्रुहरूको भनाइ थियो । 

‘रियालिटी टेस्ट’–४ अन्तर्गत मङ्गलबार रातोपाटी संवादाता तामाङ र फोटो पत्रकार श्रेष्ठले अन्नपूर्ण यातायातका यात्रा गरेर यात्रुसँग कुराकानी गरेका थिए । रत्नपार्क भृकुटीमण्डप, माईतीघर, बबरमहल, नयाँबानेश्वर, तिनकुने, कोटेश्वर, पेप्सीकोला हुँदै काडाँघारीसम्म जाने अन्नपूर्ण यातायातमा उनीहरू (सोमबार साँझ ५ बजे) रत्नपार्कदेखि कोटेश्वारसम्म यात्रा गरेका थिए ।

उनीहरुले बिहानको यात्रुहरूसँग सिन्डिकेटको बारेमा बसमा नै यात्रा गरेर रिपोर्टिङ गर्दा खासै परिवर्तन नभेटिएको यात्रुहरूको गुनासो सुनिरहँदा साँझको यात्रामा  पनि सिन्डिकेटको बारेमा यात्रुसँग बुझ्ने प्रयत्न गरेका थिए । जहाँ पनि समस्या उस्तै देखियो । 

अहिलेसम्म सिन्डिकेट हटेपछि सार्वनिक यातायातमा परिवर्तन आए नआएको बारेमा ठूला सवारी साधनमा यात्रा गर्ने यात्रुसँगको कुराकानी हामीले समेटेका छौँ । 

‘रियालिटी टेस्ट’–४ सम्ममा उपत्यकाको ४ वटा रुट र ठूला सवारी साधनमा यात्रा गर्ने यात्रुहरूसँगको कुराकानी समेटेका थियौँ । 

‘रियालिटी टेस्ट’–५ अन्तर्गत आज माइक्रोमा यात्रा गर्ने यात्रुहरूसँगको कुराकानी समेट्ने छौँ । 

संवादाता र फोटो पत्रकारले रत्नपार्कदेखि बानियाँटारसम्म सञ्चालन हुने माइक्रोमा यात्रा गर्ने यात्रुसँग सिन्डिकेट अन्त्यपछि माइक्रोमा यात्रा गर्दा परिवर्तन आएनआएको बारेमा बुझ्ने कोसिस गरेका छन् । 
बेलुकाको समयमा घर जानका लागि निकै लामो समयदेखि लाइनमा बसिरहेका यात्रुसँग कुराकानी गरेका छन् । 

सिन्डिकेट पनि माइक्रोको यात्रामा पनि खासै परिवर्तन नआएको पाइएको छ । 

अब यात्रुको विचार उनीहरूकै शब्दमा  

मनमाया थपलिया 

म निकै समयपछि काठमाडौँ आएकी हुँ । बिरामी भएर तराईबाट उपचार गर्नका लागि आएकी हुँ । तराईबाट आउँदा सिटमा नै बसेको थिएँ । काठमाडौँको बारेमा भने मैले केही पनि मेलोमेसो पाएकी छैन । धेरै मान्छेको भीडभाड छ । तराईमा त यसरी धुलो, घाममा सेकिएर लाइन बस्नु पर्दैन थियो । यहाँ त लाइन बस्नुपर्ने रहेछ । गाडी कहिले आउने हो, टुङ्गो नै नहुने रहेछ । मजस्ता बिरामी मान्छे लाइन बस्न नपरे राम्रो हुन्थ्यो । 

विनोद पन्त 

मेरो बसाइ बानियाँटार हो । म अफिसको कामले रत्नपार्कतिर निस्केको थिएँ । अहिले घर जानलाई लाइन बसिरहेको छु । लाइन त यहाँ मात्रै हो । यदि लाइनमै आउने हो भने बानियाटारबाट यता आउने माइक्रोमा किन मान्छे उभ्याइन्छ ? यहाँ लाइनमा आधा घण्टादेखि एक घण्टा कुराउँछन् । फुल सिट मान्छे राख्नछन् । त्यसैगरी बानियाटारसम्म पुग्न पाए त राम्रा नि ।अनि अलि परपुगेपछि बाटोमा लगेर बेसकन मान्छे कोचार्छन् । सानो माइक्रो उभिनलाई निकै गाह्रो हुन्छ । सिटमा बस्नेलाई त थिचेर, ठेलेर केही बाँकी राख्दैनन् । माइक्रोबाट झर्ने बेलामा टन्न भारी बोकेर थाकेजस्तै हुन्छ । यो त एकछिन् आँखा छलेर दुनियाँलाई दुःख दिएको अर्थै भएन नि । टाउको टाउकोमा मान्छेको हात हुन्छन् । माइक्रोभित्र आँधी र भुमरी मडारिएजस्तै हुन्छ ।

एलिसा कार्की 

म बानियाँटारको माइक्रो कुर्दै लाइनमा बसेको आधा घण्टा भयो । बानियाटारमै टिचिङ गर्छु । आज काम परेका कारण यता आएकी हुँ । अहिले बानियाँटारका लागि सीमित मान्छे राख्छन् । तर पनि सिन्डिकेट हटेपछि हामी यात्रुले यो परिवर्तन भयो है भन्ने खालको कुनै परिवर्तन आएको छैन । तर अन्य ठाउँको कुरा गर्ने हो भने अधिकांश समय उभिएरै यात्रा गरिरहेको छु ।

देवेन्द्र गुरुङ

मेरो घर बानियाटार हो । म अहिले बी.बी.एस. दोस्रो वर्षमा अध्ययरत छु । 

मेरो कलेज ठमेलमा छ । मेरो कलेज ४ः३० मा छुट्छ । ठमेलबाट गाढी नपाउने हुनाले म हिँडेर रत्नपार्क आएको हुँ । सिन्डिके हटेपछि  खासै कुनै पनि परिवर्तन भएको छैन । 

झन् गाह्रो भएको हो कि जस्तो लागेको छ । मैले हिजो निकै बेरसम्म गाडी कुरेँ । निकैबेर गाडी आएन । बल्लतल्ल एउटा बस आयो । बसले बानियाटार जाने भनेर सबैलाई कोचेर लग्यो । अनि गोंगबुबाट छिराउने बेलामा पुलिसले समात्छन् भन्दै बस अघि बढाएन । माछा पोखरीमा लगेर झारिदियो । अनि सधैँ कलेजको ड्रेसमा हुन्छु । मैले कार्ड देखाएर १० रुपियाँ दिएको थर्काउँदै २० रुपियाँ माग्यो । पैसा पनि डलब दिनुप¥यो । घरसम्ममा पनि पुग्न पाइनँ । अनि के सिन्डिकेटको कुरा गर्नु ?
 

पढ्नुहोस्

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–१ : नेपाल यातायातमा यात्रुलाई सहज भयो त ?

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–२ : साझा यातायातमा यात्रुलाई केही सहजता भयो कि भएन ?

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–३ : सिटी यातायातका यात्रुले के महसुस गरे ?

सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–४ : ‘घरबाट निस्कन मन लाग्छ तर गाडीकै पीर लाग्छ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप