मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

हेम–सरिता फाउण्डेसनले गर्यो पुरस्कृत हुनेहरुको नाम सार्वजनिक

मङ्गलबार, २२ जेठ २०७५, २० : ४२
मङ्गलबार, २२ जेठ २०७५

काठमाडौं । हेम–सरिता फाउण्डेशन टेक्सास, अमेरिकाले पत्रकारिता तथा संगीत विधाबाट पुरस्कृत हुनेहरुको नाम सार्वजनिक गरेको छ । 

फाउण्डेशनले गठन गरेको पुरस्कार छनौट समितिले मंगलवार सन् २०१८ मा पुरस्कृत हुने पत्रकारिता तथा संगीत पुरस्कारको घोषणा गरेको हो । 

अमेरिकाको टेक्ससमा रहेको हेम–सरिता फाउण्डेसनले हरेक वर्ष प्रदान गर्ने पत्रकारिता र संगित पूरस्कार अन्तर्गत यस वर्ष टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पूरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेलाई पुरस्कृत गरिने भएको छ । 

सम्मानपत्रसहित दुई हजार अमेरिकी डलर बराबरको रकमको पूरस्कारबाट यस अघि जिवेन्द्र सिम्खडा, तीर्थ कोइराला, रविन्द्र मिश्र, हरि बहादुर थापा र राजन शर्मा सम्मानित भइसकेका छन् ।

यसैगरी टंकप्रसादरमादेवी साधना पूरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्वमहासचिव तथा कञ्चनजंघा एफ एम झापाका पत्रकार चन्द्र भण्डारीलाई पुरस्कृत गरिने भएको छ । सम्मानपत्र र पाँचसय अमेरिकी डलर बराबरको रकमसहित प्रदान गरिने यस पूरस्कारबाट यसअघि बरिष्ठ पत्रकार राजेश्वर नेपाली, मोहन भण्डारी, मदन ढकाल सम्मानित भैइसकेका छन् ।
 
यसैगरी पाँचसय अमेरिकी डलर बराबरको नगद र सम्मानपत्रसहित यस वर्षको टंकप्रसाद–रमादेवी प्रोत्साहन पूरस्कार थाहाखबर डटकममा कार्यरत दाङ निवासी देविका घर्ती मगरलाई पुरस्कृत गरिने भएको छ । यसअघि यो पूरस्कारबाट माधव विद्रोही, लिला बराल, लियाकत अलि सम्मानित भइसकेका छन् ।

यस वर्षको हेम–सरिता संगीत पूरस्कार बरिष्ठ कलाकार जे वी टुहूरेलाई गरिने भएको छ। नेपाली कला र संगीतका माध्यमबाट समाज परिवर्तनका लागि विशिष्ठ योगदान दिएबापत सम्मानपत्र सहित एक हजार अमेरिकी डलरसहित टुहुरेलाई पुरस्कृत गर्न लागिएको हो । यो पुरस्कारबाट यस अघि डाक्टर भोला रिजाल, प्रेमराजा महत, सपना श्री, वी वी अनुरागी, जीवन शर्मा, कृष्ण कँडेल र नारायण रायमाझी सम्मानित भएका थिए । 

पत्रकारिता पूरस्कार छनौटका निम्ती नेपाल प्रेस इन्ष्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाको संयोजकत्वमा जिवेन्द्र सिंखडा तथा फाउण्डेसनका प्रतिनिधि रहेको समिति गठन गरिएको थियो । संगीत पूरस्कारका छनौटका निम्ती प्रेमराजा महतको संयोजकत्वमा तीर्थ कोइराला, जिवेन्द्र सिंखडा र फाउण्डेसनका प्रतिनिधि रहेको समिति गठन गरिएको थियो। घोषणा गरिएका पुरस्कार यसै वर्षको हिउँदमा काठमाडौंमा प्रदान गरिने छ ।

अमेरिकामा रहेर व्यापार व्यवसायमा संलग्न हेम पाठक र सरिता पाठकले स्थापना गरेको हेम–सरिता फाउण्डेसनले काठमाडौंको उत्तरी क्षेत्रमा रहेको घुमारचोक स्थित उग्रतारा माध्यमिक विद्यालयको भवन निर्माणमा सहयोग गरी कक्षा आठ देखि दशसम्म निजी खर्चमा सञ्चालन गर्दै आएको छ । सोही क्षेत्रमा विपन्नहरुका लागि दशवटा आवास पनि निर्माण एवं जीविकोपार्जनका लागि कोष खडा गरी सामाजिक काम समेत फाउण्डेशनले गर्दै आएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप