बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रेकिङ व्यवसायमा ‘कालो धन्दा’ :  विदेशीलाई बिरामी बनाएर रकम असुली !

बुधबार, २३ जेठ २०७५, १७ : २६
बुधबार, २३ जेठ २०७५

काठमाडौं– विदेशी पर्यटकलाई  जानाजान  बिरामी बनाएर केहि ट्रेकिङ व्यवसायीहरुले कमाउ धन्दा गरिरहेको उजुरीबारे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले छानबिन सुरु गरेपछि सो क्षेत्रमा हंगामा भएको छ  । 

 नेपालको विभिन्न पर्यटकीय क्षेत्रमा पदायात्रा तथा पर्वतारोहणमा जाने पर्यटकलाई बिरामी बनाएर व्यवसायीले कमाउ धन्दा  गरेकोबारे उजुरी परेपछि मन्त्रालयले छानबिन समिति  बनाएको छ । 
 पदयात्राका क्रममा   बिरामी नपर्ने अवस्था भएपनि  विभिन्न उपाय अपनाएर  पर्यटकलाई बिरामी बनाई हेलिकप्टरबाट उद्दार गर्ने र सो बापत बीमा दाबी गरी व्यवसायीहरुले कमाउ धन्दा थालेको उजुरी मन्त्रालयमा परेको थियो । 
 

यसबारे  पर्यटन व्यवसायीभित्र समेत बहसको विषयमात्रै भएन   तत्कालिन पर्यटनमन्त्री रहेका जितेन्द्र देवलाई केहि व्यवसायीले ध्यानाकर्षण समेत गराएका थिए । तर, उनले सो बारे छानबिन गर्न चासो नदेखाएपनि अहिले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा रवीन्द्र अधिकारी आएसँगै चासो देखाउँदै छानबिन समिति  बनाएका हुन् । 

 मन्त्रालयले सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएर छानबिनलाई अघि बढाएको छ । 

समितिले पर्यटकलाई लेक लाग्नेलगायतका स्वास्थ्य समस्या तथा अन्य विपदको उद्दारको नाममा ट्रेकिङ–ट्राभल्स कम्पनी, हेलिकप्टर सेवा प्रदायक  संस्था र अस्पतालसमेतको मिलेमतोमा फर्जी विवरणहरु तयार गरी बीमा रकम दाबी गर्ने र ठगी हुने गरेकोबारेमा आवश्यक  छानबिन गरी असार १५ भित्र प्रतिवेदन तयार पार्नेछ । 

पर्यटनमन्त्री अधिकारीले ट्रेकिङ व्यवसायीको बदमासीका कारण देशकै बद्नाम हुने अवस्था आउन खोजेको भन्दै  यस्ता  कम्पनीहरुमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउने बताएका थिए । उनले त्यस्तो गलत धन्दा गर्नेहरु सिधै जेल जाने र  इजाजत समेत खारेज गर्ने बताउँदै आएका छन् । 

व्यवसायीहरुको बदमासीका कारण नेपालका लागि विदेशी बीमा कम्पनीहरुले बीमा समेत गर्न आनाकानी गर्न थालेको खबरहरु बाहिर आइरहेको बेला मन्त्रालयले चालेको कदमलाई महत्वका साथ हेरिएको छ । 
यसो त   केही पर्यटकले यस्तो गलत धन्दा गर्ने कम्पनीबारे उजुरी गरेपछि उनीहरुलाई ट्रिप एडभाइजरीले कालोसूचीमा राखेको थियो । तर कालोसूची छल्दै  फेरि नयाँ कम्पनी खडा गरेर उनीहरुले पर्यटकलाई ठग्ने धन्दा चलाइरहेका छन् । 

रातोपाटीलाई प्राप्त जानकारी  अनुसार नेपाल पर्यटन बोर्डका पूर्व सदस्य र टानका वर्तमान र पूर्व कार्यसमितिका केही पदाधिकारी यस्तो धन्दामा संलग्न छन् । 

पर्यटकहरुलाई लेक लाग्ने लगायतका स्वास्थ्य समस्या तथा अन्य विपतको उद्धारको नाममा ठगी गरेर कमाएको पैसाले अहिले केहि पर्यटन व्यवसायीले आर्थिक हैसियतमै कायापलट गरेका छन् । 

यस्तै व्यवसाय चलाउनेमा ठमेलमा कार्यलय रहेको फ्लाइट कनेक्सन इन्टरनेशनल  नामक ट्राभल्स एजेन्सी अग्रस्थानमा रहेको छ । 

स्रोतका अनुसार फ्लाइट कनेक्सन इन्टरनेशनल  ट्राभल्स एजेन्सीका सञ्चालक श्याम सुन्दर कँडेलले विदेशी पर्यटकलाई फर्जी बिरामी बनाएर उद्दारको नाममा ठगी गर्दै आएका छन् । 

एयर डाइनेष्टी हेलिकप्टरमा समेत लगानी गरेका उनको कम्पनीले  विदेशी पर्यटकले पर्वतारोहणको लागि विदेशमा गरिआएको बीमाबाट रकम असुल्न नक्कली बिल बनाई बीमा कम्पनीलाई ठग्ने कार्य गर्दै आएको एक ट्रेकिङ गाइडले रातोपाटीलाई बताए । 

 उनका अनुसार विदेशी पर्यटकहरु नेपाल भित्रिएलगत्तै पर्वतारोहणमा आफ्नो गाइडलाई साथ लगाएर पुग्दै नपुगेको ठाउँमा पुगेको भनि बिरामी भएको बहानामा हेलिकप्टरमार्फत उद्दार गर्ने र  आफैं सन्चालक रहेको स्वाकन इन्टरनेशनल अस्पतालमा भर्ना गराई उद्दार र उपचारको नाममा फर्जी बिल बनाएर बीमा भुक्तानी लिँदै आएका छन् । 

यसैबीच कँडेलले राज्य र कानून भन्दा माथि कोहि पनि नभएको बताएका छन् । उनले आफूले राज्यको कानून र परिधिभित्र रहेर सञ्चालन गरेको भन्दै तोकिएकै मापदण्डअनुसार व्यवसाय गरिरहेको बताए ।    नेपालको कूल ग्राहस्थ उत्पादको करीब ७ प्रतिशत हिस्सा ओगट्ने पर्यटन क्षेत्रमा हुने गरेको यस खालको  गलत धन्दाले पर्यटन क्षेत्र नै बद्नाम हुने पर्यटन व्यवसायीहरु नै बताउँछन् ।  

गलत धन्दा चलाउनेहरुविरुद्ध रहेका केहि पर्यटन व्यवसायीले अब मन्त्रालयले नै छानबिन समिति बनाएसँगै यथार्थ विषय बाहिर आउने अपेक्षा गरेका छन् । 

यसैबीच कँडेलले राज्य र कानून भन्दा माथि कोहि पनि नभएको बताएका छन् । उनले आफूले राज्यको कानून र परिधिभित्र रहेर सञ्चालन गरेको भन्दै तोकिएकै मापदण्डअनुसार व्यवसाय गरिरहेको बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप