केन्द्रीय संस्करण

देशलाई माया गर्ने १० प्रतिशत मात्रै नेता भए पनि देश समृद्ध बन्छ : प्रा. डा. विशाल सिटौला

person access_timeजेठ २७, २०७५ chat_bubble_outline0

नर्वेबाट समृद्धि र खुसी विषयमा विद्यावारिधि गरेका व्यक्ति हुन् डाक्टर विशाल सिटौला । विश्वकै विकसित देश नर्वेमा झण्डै ३० वर्ष बिताएका उनी सन् २००५ देखि नर्वेमै फुल टाइम प्रोफेसर पनि छन् । डेभलपमेन्ट स्टडिज अध्यापन गराउने गरेका यिनै प्राध्यापक नेपालका केही कलेजहरूमा पनि गेस्ट लेक्चरका रूपमा काम गर्ने गर्छन् । विकासोन्मुख देशका रूपमा रहेको नेपालमा अब कसरी समग्र विकास गर्न सकिन्छ र समृद्धि ल्याउन सकिन्छ भनेर हामीले छलफल गरेका छौँ । खासमा विकास र समृद्धिबीच के फरक छ र हामीले खोजेको विकास वा आर्थिक समृद्धि मात्रै हो कि समग्र समृद्धि आवश्यक छ त देशका लागि ? के भौतिक विकासले मात्रै मान्छेलाई खुशी बनाउन सक्छ ? वा ‘समृद्धि’ सामाजिक, आर्थिक र बौद्धिक विकाससँग पनि जोडिनेछ । प्रस्तुत छ, संवाददाता मदन ढुङ्गानालेप्रा. डा. विशाल सिटौलासँग गर्नुभएको कुराकानी । 

तपाईं खुशी र समृद्धि विषयमा विद्यावारिधि गर्नुभएको व्यक्ति । तपाईंले देख्नुभएको नेपालको समृद्धिको आधार के–के हुन्, यो कसरी सम्भव छ ?
तपाईंले जुन समृद्धि भन्नुभयो, हामी डेभलपमेन्ट स्टडिजको भाषामा पोजिटिभ सोसियल चेन्ज भन्छाँै । यदि तपाईं त्यसलाई समृद्धि मान्नुहुन्छ भने अरू विकासका आधारभूत कुराहरू त्यसको पनि सकारात्मक बाटोतिर परिवर्तन आउने कुराहरू छन् । नेपालका समृद्धिका आधारहरूमा  सबैभन्दा ठूलो आधार नेपालको प्राकृतिक सम्पदा नै हो । जुन प्रकारको प्राकृतिक सम्पदा र त्यसको सुन्दरता, भौगोलिक र जैविक विविधता अनि मानिसहरूमा जुन विविधता छ, त्यो विविधता समृद्धिको एउटा आधार हो । एउटा सानो क्षेत्रफलमा यति धेरै विविधता भएको देश पाउन गाह्रो पर्छ । यो देशमा आएर रमाएर जाने धेरै मान्छेहरू छन् संसारमा । यो देशलाई माया गर्ने मान्छेहरू संसारको धेरै देशहरूमा मैले काम गर्दा भेटेको हुनाले त्यो यहाँको समृद्धिको एउटा ठूलो आधार हो । 

अर्को आधार चाहिँ के हो भने हाम्रो देशको जुन विज्डम ट्रेडिसन छ अर्थात् आध्यात्मिक र सांस्कृतिक ज्ञान छ, यो पनि एउटा विशिष्ट छ यहाँ । किनभने नेपाल मात्रै एउटा त्यस्तो देश हो, जसमा बुद्ध दर्शन, सनातन दर्शन, तन्त्र आदि विविध विषयहरूको मिश्रण छ । यहाँको यस्तै खालको विज्डम ट्रेडिसनका कुराहरूलाई लिएर अहिले विषादै विषादले भरिएको संसारमा नेपालले यो विषादलाई हटाउने विज्ञान पनि दिन सक्छ । 

जस्तो उदाहरणका लागि अमेरिकाको नारोपा विश्वविद्यालयमा विगत ८ महिनादेखि कसरी भगवान बुद्धले दिएको तन्त्रहरूलाई प्याकेजिङ गरेर विश्वविद्यालयको तहमा, स्वास्थ्यको पाठ्यक्रममा प्रयोग गर्ने भनेर उनीहरू लागिपरेका छन् । अनि त्यो कामका लागि अर्बाैं खर्च भइरहेको छ । उदाहरणका लागि अमेरिकाको ९ प्रतिशत मानिसले योगा गर्न सुरु गरेका छन् अहिले, त्यो पनि अहिले हाम्रो एउटा आधार हो । 

यी दुई कुराहरूलाई राम्रोसँग बुझियो र हाम्रो यस्तो धनी संस्कृति, प्राकृतिक विविधता आदिबाट हामीलाई फाइदा छ । यसलाई बुझ्ने खालको नीति र कार्यक्रम ल्याउँदा देश माथि जान्छ भन्ने सोच आयो भने हाम्रो देश समृद्ध बन्न सक्छ ।

किनभने तपाईं जहाँ हुनुहुन्छ, त्यहाँबाट उठ्न सक्नुपर्छ । जस्तो कि तपाईं काठमाडौंमा लड्नुभएको छ, ओस्लोबाट उठ्छु भनेर हुँदैन । सारा कुरा आफ्नो मूल्य र मान्यतामा आधारित हुनुपर्छ । किनभने जस्तोसुकै समृद्धि आओस्, भौतिक विकास आयोस् तर तपाईंको मूल्य र मान्यता गुम्यो भने तपाईंलाई मजा आउँदो रहेनछ । किनभने म संसारको सबैभन्दा विकसित देश नर्वेमा ३० वर्ष बिताउँदा, मास्टरदेखि पिएचडी गरेर फुल टाइम प्रोफेसर भएर काम गर्दा देखेको यथार्थ हो यो । आफ्नो मूल्य र मान्यतालाई मिलाएर लाने खालको समृद्धि चाहिँ वास्तविक समृद्धि हो । तर खाली भौतिक र आर्थिक विकास मात्रै गरेर हाइपर इन्डिभिज्युलिस्टिक (एकात्मवादी) समाजको सिर्जना गरेपछि त्यसले पनि मजा ल्याउँदो रहेनछ । 

तर नेपाल र नेपालीले खोजेको समृद्धि चाहिँ कस्तो प्रकृतिको समृद्धि हो त ?
नेपालीहरू मात्रै होइन, विश्वका सबै मानिसहरूले जानी नजानी खोजेको समृद्धि भनेको खुसी र आनन्द नै हो । घर, गाडी आदि जस्ता भौतिक कुराहरू सानो पाटो मात्र हो । ‘खुशी’मा भएको अध्ययनले के देखाएको छ भने भौतिक सम्पत्तिले मानिसको ‘हाप्पिनेस इन्डेक्स’को १० प्रतिशतलाई मात्रै सम्बोधन गर्ने रहेछ । 

मानिसहरू बीचको सुमधुर सम्बन्ध मानिसहरू खुसी हुने पहिलो कारक हो । त्यसपछि भोलि जे होला राम्रै होला भन्ने जीवन दर्शन राख्ने वा ‘अप्टिमिज्म’ अर्को विषय हो । 

एउटा कमिन्टमेन्ट भएको व्यक्ति आयो र उसले सारा सिस्टमलाई मिलाउँदै गयो भने छिट्टै विकास हुन्छ देशको । नेपालीहरू जीवन मूल्यमै बाँच्न चाहन्छन् । त्यसकारण म सम्पूर्णरूपले आशावादी छु कि यो देशमा एउटा सकारात्मक र समृद्ध नेपाल बनाउने सपना लिएर जुन मान्छेहरू आएका छन्, उनीहरूले विगतबाट सिक्छन् र लगनशील भएर लागिसकेपछि देश बन्नलाई धेरै समय लाग्दैन । 

अरबमा गएर आएका मान्छेहरूलाई सोध्नुहोस्, नेपालजस्तो रसिलो देश संसारमा कहीँ पनि छैन । यसप्रतिको अहोभाव हुन त हामी कसैलाई सिकाउँदै सिकाउँदैनौँ । हामी यस्तो देशमा बसेका छौँ, जो अन्त कहीँ छैन भन्ने शिक्षा पनि चाहियो । 

हाम्रोजस्तो आध्यात्मिक धन र बौद्धिक संस्कृतिले धनी देशसँग संसारलाई हिलिङ र हेल्थ केयरमा लैजान सक्ने विज्ञान छ । अमेरिकीहरूले हाम्रो बुद्धत्वको कुरा सिकेर पाठ्यक्रम बनाएर विश्वलाई पढाइरहेको छ । तर हामी भने त्यसो गर्न सकिरहेका छैनौँ । हामीसँग जे छ, त्यसलाई उजागार गर्दा मात्रै हामी समृद्धिको बाटोतर्फ जान सक्छौँ । 

अरू देशको आर्थिक समृद्धिको मोडेल खोजेर वा आर्थिक विकास हेरेर मात्रै हुँदैन । जीवन दर्शन के हो, केलाई विकास भन्ने पनि हेर्नुपर्छ । 

तर सामान्य अर्थमा अहिले नेपालीहरूले बुझेको समृद्धि भनेको आर्थिक–सामाजिक रूपान्तरण नै हो भन्ने बुझाइ छ । त्यो समृद्धिको सम्भावनाचाहिँ कसरी हुन सक्छ त नेपालमा ?
हो, आर्थिक समाजिक रूपान्तरण पनि एउटा जरुरी विषय हो । किनभने हाम्रो देशलाई कतिपय विकासविद्हरूले विकासोन्मुख पनि नभनेर अविकसित देश नै भन्छन् । त्यसकारण आर्थिक वृद्धि पनि चाहिन्छ नै । 
सामाजिक रूपान्तरणका लागि सोचमा परिवर्तन आवश्यक छ । व्यक्तिगत रूपान्तरण नभई सामाजिक रूपान्तरण हुँदैन । सबैभन्दा पहिले आफ्नै देशलाई माया गर, आफ्ना सम्पदाहरूलाई माया गर र त्यसलाई उजागार गर भन्ने भाव आउनुपर्छ । 
त्यसकारण नेपाल सुहाउँदो विकास दिगो हुन्छ, त्यसमा मान्छे रमाउन पनि सक्छन् । तर खाली अर्काले हेरेर हामीले आर्थिक समृद्धि गर्न मात्र खोज्यौँ भने वास्तविक अर्थको समृद्धि आउन सक्दैन । 

त्यसका लागि पनि हाम्रा ५० लाख युवाहरू त्यत्तिकै विदेश गएका त होइनन् होला । यहाँ सामान्य जीवनयापन गर्न पनि नसकेर उनीहरू विदेशिएका होलान् नि त ?

हो, त्यसकारण ती युवाहरूले के सोच्नुपर्छ भने अब धेरै बाहिर जाने होइन । यहाँ केही व्यवस्थापन र सुशासनको कमीले रोजगारीको सिर्जना भइराखेको छैन । सीप विकासका तालिमहरू पनि हुन सकिरहेका छैनन् । रोजगारीका लागि आवश्यक सहायक व्यवस्थाहरू पनि राम्रा छैनन् । नीति निर्माताहरूको प्राथमिकता अन्यत्र मोडिएका कारण यसबारे राम्रो नीति नै आउन सकेको छैन । 

कर्म त बलवान छँदैछ, त्योभन्दा बढी बलवान समय छ । परिवारबाट अलग भएर, दुःख कष्ट खपेर २०–३० हजार कमाउन जो युवाहरू विदेशिएका छन् । उनीहरूले अब यहीँ केही गर्न सक्छौँ भन्ने सोच विकास गर्न जरुरी छ । त्यहाँभन्दा राम्रो, सम्मानित हिसाबले यहीँ हुनसक्छ भन्ने कुरा सरोकारवालाहरूले बुझाएर त्यसका लागि ‘फर्टायल ग्राउन्ड’ बनाउन सकियो भने देश समृद्ध बन्न समय लाग्ने छैन । 

अर्थात् आर्थिक विकासभन्दा पहिले शैक्षिक विकास बढाउन प¥यो भन्न खोज्नुभएको हो ? 
यो साथसाथै जानुपर्छ । किनभने शिक्षाले मान्छेलाई सोच र समझ दिन्छ । शिक्षा हासिल गरेपछि आफ्नो विकास आफै गर्नुपर्छ भनेर लाग्नुपर्छ । यसका लागि मान्छेले बाटाहरू खोज्नुपर्छ । 

हरेक व्यक्तिमा एक प्रकारको सोच, समझ जसलाई हामी स्किलफुल मिन्स भन्छौँ । बौद्धिकताले मात्रै मान्छेलाई खुसी पार्दैन । यही स्थानमा रमाएर सम्मानित भएर गर्न सक्छु भन्ने समझ मानिसहरूले गर्न थालिसकेपछि हुने विकास चाहिँ दिगो हुन्छ । खाली रेमिट्यान्समा आधारित विकास दिगो बन्न सक्दैन ।

अहिले हामीले भनिरहेको सामान्य समृद्धिहरू कृषि, उद्योग, ऊर्जा आदिबाट समृद्धि चाहिँ कत्तिको देख्नुभएको छ तपाईंले ? 
यो जस्तो सम्भावना भएको देश त छँदै छैन । ऊर्जामा यति धेरै सम्भावना भएको देश नै छैन । मैले भनेको विविधता त्यही त हो नि । यहाँ त मेवा फलाउँ भने पनि छ, स्याउ फलाउँ भने पनि छ, कागती फलाउँ भने पनि छ । यो देशमा के छैन ? जबकि नर्वेमा स्याउबाहेक अरू सबै विदेशबाट ल्याउनुपर्छ । तर पनि त्यहाँ त्यति धेरै विकास भएकै छ । 

चुनावमा त यो नेता उठ्यो, यो पार्टी आयो भनेर एउटा सुचित गरिन्छ अनि हामी हावामा भोट दिन्छौँ । तर वास्तवमा त्यो मान्छे देशलाई माया गर्ने मान्छे हो कि होइन, जनताका कुरा उसले राम्ररी सुन्छ कि सुन्दैन, उसले भन्ने र गर्नेमा फरक छ कि छैन, यिनीसँग नयाँ पुस्तालाई बाहिर जानबाट रोक्ने योजना छ कि छैन, त्यस्तो मान्छे हामीले छान्नुपर्छ । त्यस्तो व्यक्तिलाई एउटा ‘एजेन्सी पावर’ आइसकेपछि अनि त्यसले मात्रै मद्दत गर्न सक्छ । 

यहाँ चराका यति धेरै जातिहरू, पुतलीका यति धेरै जातहरू हुन्छन् । जस्तो तपाईं अस्ट्रेलियामा जानुस् न । त्यहाँ ‘रेन फरेस्ट’मा भएका पुतलीहरू जम्मा गरेर पर्यटन केन्द्र बनाएका छन् । हामीले किन गर्न नसकेको त्यो ? त्यसकारण त्यसका लागि एउटा सोच चाहिन्छ । हामी गर्न सक्छौँ भन्ने एउटा साहस, सोच चाहिन्छ । अनि देश समृद्ध हुन्छ । 

त्यसो हो भने साहस र दृष्टिकोण भएको नेता चाहिँ कहिले आउलान् र देश समृद्ध होला त ? 
नेताहरूलाई चुन्ने को हो ? हामीहरू त हो नि । 

विकास भनेको त नियमित प्रक्रिया पनि हो । आमूल परिवर्तन त तत्काल हुँदैन होला नि ?
हामीहरूले यत्रो लात खाइसकेपछि, अहिलेको राजनीतिक नीति र नेतृत्व अपूर्ण छ भनेर निन्दा गरेर बसिराख्नुभन्दा बरु हामी कहाँ चुक्यौँ र किन हामीले सही नेता चुन्न सकेनौँ भनेर आफैलाई प्रश्न गर्ने बेला भएको छ । अब हामी सुचित मात्रै होइन, सचेत हुने बेला आएको छ । 

चुनावमा त यो नेता उठ्यो, यो पार्टी आयो भनेर एउटा सुचित गरिन्छ अनि हामी हावामा भोट दिन्छौँ । तर वास्तवमा त्यो मान्छे देशलाई माया गर्ने मान्छे हो कि होइन, जनताका कुरा उसले राम्ररी सुन्छ कि सुन्दैन, उसले भन्ने र गर्नेमा फरक छ कि छैन, यिनीसँग नयाँ पुस्तालाई बाहिर जानबाट रोक्ने योजना छ कि छैन, त्यस्तो मान्छे हामीले छान्नुपर्छ । त्यस्तो व्यक्तिलाई एउटा ‘एजेन्सी पावर’ आइसकेपछि अनि त्यसले मात्रै मद्दत गर्न सक्छ । 

तर यस्तो व्यक्ति तेस्रो देशबाट ल्याउने त होइन, यही देशमा चाहिँ नभएको कि हामीले चुन्न नसकेको वा उनीहरूले पावर प्राक्टिस गर्न नपाएको त ?
हाम्रो पोलिटिकल सिस्टममा जनतालाई पर्याप्त सूचना पनि छैन । त्यो उम्मेदवार वा नेताका बारेमा उनीहरूलाई ट्र्याक रेकर्ड थाहा हुँदैन, उनीहरूलाई केही जानकारी नै हुँदैन । त्यसकारण त्यसका लागि हामीले नै गृहकार्य गर्नुपर्छ । हामीले बुद्धिमत्ता ढङ्गले सही नेतालाई छान्नुपर्छ । हरेक भोटको ठूलो मूल्य छ । त्यसकारण अरूलाई दोष लगाउनुभन्दा मैले चाहिँ के गर्न सक्छु भन्ने सोचियो भने मात्रै राम्रो मान्छे भेटिन्छ । 

तपाईंले सोचेजस्तो नेता आएर काम गर्न थाल्दा तपाईंले देख्नुभएको समृद्धि आउन चाहिँ कति वर्ष लाग्ला त ?
सबै मान्छे एकै पटक एकै हिसाबले परिवर्तन भएको मान्छे आउँदैनन् । वैज्ञानिक अनुसन्धानले के भन्छ भने सिस्टममा सकारात्मक परिवर्तन भएको देखिनलाई १० प्रतिशत जनता र नेता परिवर्तन भएको हुनुपर्छ । यदि १० प्रतिशत मात्रै सचेत र देशलाई साँच्चैको माया गर्ने नेताहरू आए भने त्यसपछि मिनिङफुल समृद्धि देशमा देखिन्छ । विज्ञानले भनेको कुरा यही हो र हामीसँग १० प्रतिशत पनि त्यस्ता नेताहरू छैनन् ।

तर सम्भव छ समृद्धि ?
जहिले पनि एकै तरिकाले चलाउँछु, मै चलाउँछु, म नै सधँैभरी राज गर्छु भन्दा समस्या भएको हो । एउटै व्यक्ति सधँैभरी विजयी भएर राज गर्न थाल्यो भने त्यो नास भएर जान्छ । राजनीतिक दल र व्यक्ति पनि त्यही हो । 

प्रत्येक चुनावमा राजनीतिक परिवर्तन र सत्ता परिवर्तन त भएकै छ त । फेरि पनि किन भएन त विकास ?
सत्ता परिवर्तनको कुरा छैन यहाँ, व्यक्ति परिवर्तन महत्वपूर्ण विषय हो । पार्टीले देश बनाउने होइन, व्यक्तिले हो । व्यक्तिको चिन्तनको क्षमता र उसको प्रतिबद्धताले हुने हो परिवर्तन । 

पार्टीको जतिसुकै राम्रो घोषणापत्र होस्, जतिसुकै राम्रो कार्यक्रम होस् । त्यसलाई कार्यान्वयन गर्ने राम्रो व्यक्ति भएन भने केही पनि काम गर्न सक्दैन । 

तर ०५२ सालका सांसद र अहिलेको सांसदहरू त फरक छन्, फेरि पनि किन भएन त विकास ?
फरक छन् र राम्रो विचारमा परिवर्तन (क्वालिटी अफ थिङ्किङ) आएको छ भने परिवर्तन आउन त केही समय लाग्छ नै । यस्तो विचार र नीति ल्याउन सक्ने सांसदहरू १० प्रतिशत मात्रै छन् भने पनि त्यसपछि बिस्तारै नीति निर्माणदेखि लिएर कार्यान्वयनमा त्यसको असर देखिन थाल्छ । 

देखिन चाहिँ कति वर्ष लाग्छ त ?
अहिले जति पनि युवाहरू विदेश गइरहेका छन्, उनीहरूलाई चाँडोभन्दा चाँडो र कम्तीमा पनि ५ वर्षभित्रै न्यूनीकरण गरेर यही देशको स्रोत परिचालन गरी यहाँ रोक्न सकिन्छ भन्ने मेरो विश्वास छ ।

मतलब ती युवाहरू यहीँ परिचालित भएमा देशमा समृद्धिको सुरुवात हुन्छ भनेर बुझ्दा भयो ?
त्यो त पक्का छ । त्यस्तै खालको क्रिएटिभ र करेजियस शक्तिले नै देशलाई माथि ल्याउने हो । युवाहरू जिम्मेवार र लगनशील भएर लागे, उनीहरूका लागि सहज वातावरण बनिदिइयो भने त देश हलक्क बढिहाल्छ नि । यो देश त स्वर्ग बन्न सक्छ । 

यही सरकारबाट त्यो सम्भावना देख्नुभएको छ त यहाँले ?
एउटा कमिन्टमेन्ट भएको व्यक्ति आयो र उसले सारा सिस्टमलाई मिलाउँदै गयो भने छिट्टै विकास हुन्छ देशको । नेपालीहरू जीवन मूल्यमै बाँच्न चाहन्छन् । त्यसकारण म सम्पूर्णरूपले आशावादी छु कि यो देशमा एउटा सकारात्मक र समृद्ध नेपाल बनाउने सपना लिएर जुन मान्छेहरू आएका छन्, उनीहरूले विगतबाट सिक्छन् र लगनशील भएर लागिसकेपछि देश बन्नलाई धेरै समय लाग्दैन । 


 

मदन ढुङ्गाना

रातोपाटीमा स्थानीय निकाय र समसामयिक विषयमा लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ