शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकपका ती अविस्मरणीय १० गोल

सोमबार, २८ जेठ २०७५, १८ : ०१
सोमबार, २८ जेठ २०७५

एजेन्सी । केही समयअघि मात्र गेराथ बेलले च्याम्पियन्स लिगको इतिहासकै उत्कृष्ट गोलमध्ये एक गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेका थिए ।

रसियामा हुने विश्वकप फुटबलको काउन्टडाउन सकिनै लाग्दा फुटबल पारखीले त्यस्तै उत्कृष्ट गोलको प्रतिक्षा अब धेरै गर्नुपर्दैन । बहुप्रतिक्षीत प्रतियोगिता यही जुन १४ बाट शुरु हुँदैछ ।

यहाँ भने हालसम्म विश्वकपमा भएका सम्भवतः उत्कृष्ट १० गोललाई प्रस्तुत गरिएको छ :

१०. सइद अल–ओवाइरान (बेल्जिम ०–१ साउदी अरेरिबया) – जुन २९, १९९४

सइद अल–ओवाइरानले सन् १९९४ को संस्करणमा एकल प्रयासबाट उत्कृष्ट गोल गर्दै साउदी अरेबियालाई नकआउट चरणसम्म पुर्याएका थिए ।

आफ्नो हाफमा बल बटुल्दै तीव्र गतिका साथ विपक्षी टोलीका खेलाडीहरुलाई छलाउँदै उनले गोल गरेका थिए । 

९. माइकल ओवेन (अर्जेन्टिना २–२ इंग्ल्याण्ड, पेनाल्टीमा अर्जेन्टिना विजयी) – जुन ३०, १९९८

२० वर्षअघि १८ वर्षीय माइकल ओवेनले  आफ्नो नाम विश्व फुटबललाई चिनाएको गोल हो यो ।

एलन शिएररले गोल गर्दै खेल बराबरीमा ल्याएपछि माइकल ओवेनले डेभिड बेकह्यामको पासमा अर्जेन्टिनी हाफबाट विपक्षीहरुलाई छलाउँदै गोल गरेर टोलीलाई अग्रता दिलाए । 

यद्यपि अजेन्टिनाले बराबरी गर्दै पेनाल्टी सुटआउटमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो ।

८. एस्टबान क्याम्बियासो (अर्जेन्टिना ६–० सर्बिया एण्ड मोन्टिनेग्रो) – जुन १६, २००६

अर्जेन्टिनाका मिडफिल्डरले उत्कृष्ट टिम गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाएका थिए ।

२५ वटा पासपछि क्याम्बियासोले देब्रो खुट्टाले सशक्त प्रहार गर्दै गोल गरेका थिए ।

अर्जेन्टिना जीतसहित अन्तिम १६ मा प्रवेश गरेको थियो ।

७. डेनिस बर्गक्याम्प (होल्याण्ड २–१ अर्जेन्टिना) – जुलाई ४, १९९८

आर्सनलका पूर्व स्ट्राइकरले आफ्नो करियरमा थुप्रै अविस्मरणीय गोल गरे । यीमध्ये सबैभन्दा महत्वपूर्ण गोल उनले विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिनाविरुद्ध गरेका थिए ।

अन्तिम आठको खेलमा अर्जेन्टिनाविरुद्ध १–१ को स्थिति रहँदा फ्रांक डि बोएरले आफ्नो हाफबाट बर्गक्याम्पका लागि अर्जेन्टिनाको बक्समा बल पास गरेका थिए ।

डच फरवाडले उत्कृष्ट फस्ट टचसहित नियन्त्रण गर्दै रोबर्टो आयलालाई छलाउँदै गोल गरेका थिए ।

सोही गोलको मद्दतले बर्गक्याम्पले हल्याण्डलाई विश्वकपको सेमिफाइनलमा पुर्याएका थिए ।

६. म्याक्सी रोड्रिग्वेज (अर्जेन्टिना २–१ मेक्सिको–एक्सट्राटाइम) जुन २४, २००६

मिडफिल्डर म्याक्सी रोड्रिग्वेजले अतिरिक्त समयमा गोल गर्दै अर्जेन्टिनालाई क्वाटरफाइनलसम्म पुर्याएका थिए ।

खेलको शुरुवाती १० मिनेटमा दुई गोलपछि खेल अतिरिक्त ३० मिनेटसम्म पुग्यो ।

खेलको ९८ औँ मिनेटमा रोड्रिग्वेजले भलीबाट उत्कृष्ट गोल गर्दै मेक्सिकोलाई स्तब्ध बनाए ।

सोरिनले रोड्रिग्वेजलाई पास निकालेका थिए जसलाई चेस्ट गरेर नियन्त्रण गर्दै उनले जाली चुमाएका थिए ।

५. हामेज रोड्रिग्वेज (कोलम्बिया २–० उरुग्वे) – जुन २८, २०१४

फिफा पुस्कास अवार्ड जित्ने विश्वकपमा भएको एकमात्र गोल हो यो । 

रोड्रिग्वेजले दुई गोल गर्दै आफ्नो टोलीलाई क्वाटरफाइनलसम्म पुर्याएका थिए ।

ती मध्ये उनको पहिलो गोलले निकै चर्चा कमायो ।

उनले पासलाई कन्ट्रोल गर्दै २५ यार्ड टाढाबाट गोल गरेका थिए ।

सो प्रतियोगितामा ६ गोलसहित रोड्रिग्वेजले गोल्डन बुटको अवार्ड पनि जितेका थिए ।

४. पेले (ब्राजिल ५–२ स्वीडेन) – जुन २९, १९५८

ब्राजिलका लिजेन्ड पेलेले सन् १९५८ मा गरेको गोल यो सूचीको चौँथो स्थानमा पर्न सफल भएको छ ।

खेलमा अग्रता स्वीडेनले लिएको थियो । तर, ब्राजिलले खेलमा नियन्त्रण लिँदै खेलमा अग्रता लियो ।

पेलेको गोल ब्राजिलका लागि तेस्रो गोल थियो ।

क्रसफिल्ड पासलाई नियन्त्रणमा लिँदै उनले अन्तिम डिफेन्डरलाई छलाउँदै उत्कृष्ट गोल गरेका थिए ।

सो प्रतियोगितामा उनको अर्को गोलको मद्दतले ब्राजिलले विश्वकपको ट्रफी उचालेको थियो ।

३. म्यानुअल नेग्रेटे (मेक्सिको २–० बुल्गेरिया) – जुन १५, १९८६

बुल्गेरियाविरुद्धको अन्तिम १६ को स्पर्धामा म्यानुअल नेग्रेटेले देब्रे खुट्टाले सिसर किकमार्फत गरेको गोल धेरैको मानसपटलमा अझै ताजा छ ।

हालै फिफाले गरेको एक सर्वेक्षणमा यो गोल विश्वकपको उत्कृष्ट गोलको रुपमा चुनिएको थियो ।

२. कार्लोस अल्बर्टो (ब्राजिल ४–१ इटाली) – जुन २१, १९७०
यो पनि उत्कृष्ट टिमको गोलको नमूना थियो ।

राइट ब्याक कार्लोस अल्बर्टोले शक्तिशाली प्रहार गर्दै इटालियन गोलकिपर एनरिको अल्बार्टोसीलाई स्तब्ध बनाएका थिए ।

यसअघि ब्राजिलले ९ वटा पासिङ मुभ पूरा गरेको थियो ।

१. डिएगो म्याराडोना (अर्जेन्टिना २–१ इंग्ल्याण्ड) – जुन २२, १९८६
अर्जेन्टिनाका लिजेन्डले  सन् १९८६ को विश्वकप क्वाटरफाइनलमा इंग्ल्याण्डको दुई पटक मुटु तोडेका थिए ।

खेलको ५१ औँ मिनेटमा चिर्चित ‘ह्याण्ड अफ गड’ को मद्दतले पहिलो गोल गरेका म्याराडोनाले केही मिनेटपछि नै एकल खेलको उत्कृष्ट नमूना प्रस्तुत गरे ।

आफ्नो हाफमा बललाई नियन्त्रणमा लिँदै उनले इङ्ग्याण्डका आधा दर्जन खेलाडीहरुलाई छलाउँदै अन्ततः गोलकिपर पिटर सिल्टनसमेतलाई छलाएर गोल गरेका थिए ।

सो विश्वकप अर्जेन्टिनाले जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप