शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोँगबुदेखि सिनामंगलसम्म ठूला बस चल्ने

मङ्गलबार, २९ जेठ २०७५, ११ : ०८
मङ्गलबार, २९ जेठ २०७५

काठमाडौँ - असार पहिलो हप्तादेखि गोँगबुदेखि सिनामंगलसम्म ५० सिट क्षमता भएका ठूला बस सञ्चालन हुने भएको छ । 

सामाखुशी यातायात व्यवसायी समितिले यात्रुको चाहना र आवश्यकतालाई हेरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको दिगो सार्वजनिक यातायात सेवामार्फत असार पहिलो हप्तादेखि १७ बस सञ्चालन गर्न लागेको हो । 

बस सञ्चालनसँगै नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्मका यात्रुलाई आवतजावतमा सहज हुनेछ ।

सामाखुशी यातायात व्यवसायी समितिका अध्यक्ष सानुकाजी प्रजापतिले रु सात करोड लगानीमा ५० सिट क्षमता भएका १७ ठूला बस सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । “असार पहिलो हप्ता १० बस र त्यसपछि सात बस सञ्चालनमा ल्याउँछौँ,”–उहाँले भन्नुभयो । 

सामाखुशी भएर चल्ने माइक्रोबसलाई अन्य स्थानमा स्थानान्तरण गरी सोही रुट हुँदै सिनामंगलसम्म नयाँ बस सञ्चालन गर्न लागेको समितिले जनाएको छ ।

सोही रुटमा नयाँ बस सञ्चालनका लागि एशियाली विकास बैंकले रु एक करोड ९० लाख अनुदान दिएको छ । सोही रुटमा ठूला बस सञ्चालन भएसँगै गोँगबुबाट रत्नपार्क भएर चल्ने २६ माइक्रोबस र सिनामंगल—रत्नपार्क भएर चल्ने ३५ टेम्पो स्थानान्तरण हुनेछन् । 

सरकारले पछिल्लो समय उपत्यकामा सवारीसाधन चलाउनका लागि प्राइमरी, सेकेण्डरी र टर्सरी रुट निर्धारण गरेको छ जसमा प्राइमरी र सेकेण्डरी रुटमा ठूला सवारीसाधन तथा टर्सरी रुटमा साना सवारीसाधन सञ्चालन गर्न पाइनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप