शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्स : सशक्त टोली, गलत प्रशिक्षक !

मङ्गलबार, २९ जेठ २०७५, १७ : ४६
मङ्गलबार, २९ जेठ २०७५

जुलिएन लरेन्स/फ्रेन्च फुटबल लेखक

विश्वकप नजिकिँदै गर्दा सबैले आ–आफ्नो अनुमान लगाउने खेल शुरु गर्न थाल्नछन् । विश्वकप कसले जित्ला ? यसपाली कसको पल्ला भारी ?

यस्तोमा फ्रान्ससँग यो विश्वकपमा सबैभन्दा शक्तिशाली टोलीमध्ये एक छ । तर, धेरैले यो टोलीले विश्वकप जित्नेमा विषयमा भने धेरै आश्वस्त छैनन् ।

प्रशिक्षक डिडिएर डेस्च्याम्पसले अलेक्सान्डर लाकाजेट, किङ्सले कोम्यान, एड्रियन राबियोट र एन्थोनी मार्सियालजस्ता चर्चित खेलाडीलाई टोलीमा समावेश नगरेको कुराले पनि प्रष्ट हुन्छ, उनीसँग कति धेरै विकल्पहरु थिए ।

उनले डिमिट्री पायेट र लरेन्ट कोसियल्नीलाई चोटका कारण गुमाए पनि उनीहरुको स्थानमा आएका बिल फेकिर र एडिल रामी पनि नराम्रा खेलाडीहरु होइनन् ।

यसका बावजुद पनि धेरैको अनुमान छ, कुनै न कुनै चरणमा फ्रान्स रसियामा स्पेन, ब्राजिल वा जर्मनीबाट पराजित हुनेछ ।

सन् २०१४ को विश्वकपमा क्वाटरफाइनलमा बेहोरेको हार र सन् २०१६ को युरो कपको फाइनलको यात्रासम्म फ्रान्सले धेरै प्रगति गरेको छ । उसँग एक से एक प्रतिभावान खेलाडीहरु भए पनि रसिया जाँदै गर्दा टोलीसामु उत्तरभन्दा धेरै प्रश्नहरु खडा भएका छन् ।

के डेसच्याम्पस् गलत प्रशिक्षक हुन् ?

खेलाडी वा प्रशिक्षकको रुपमा डेस्च्याम्पसबारे फ्रान्समा एउटा सोच हाबी रहेको छ, उनीलाई जहिले भाग्यले साथ दिन्छ ।

तर, सन् २०१२ मा फ्रान्सको टोलीको नेतृत्व सम्हालेपछि भने उनको भाग्यले धेरै साथ दिन छाडेको देखिन्छ ।

सन् २०१६ को युरोकपमा फ्रान्सको नाम कुँदिने धेरैको अनुमान थियो । फ्रान्सलाई कप्तानको रुपमा सन् १९९८ को विश्वकपमा जीत दिलाए पछि उनीसँग घरेलु मैदानमा देशलाई अर्को ठूलो ट्रफी दिलाउने अवसर थियो । 

तर, पोर्चुगलसँगको फाइनल खेलमा डेस्च्याम्पसले धेरै गल्ती गरे । उनको टोलीले खेलमा नियन्त्रणामा राखे पनि उनले आवश्यकताभन्दा बढी सजग भएर खेल खेलाए । जसको परिणाम हार बेहोर्नुपर्यो ।

के उनले आफ्नो कला गुमाइसके ? यो कुरा भनी हाल्न चाँडो होला । खेलाडीहरु अझै उनलाई विश्वास गर्छन् । तर, यस्ता केही घटनाहरु भएका छन् जसमा उनको निर्णय कमजोर देखिएको छ र उनी प्रश्नको घेरामा परेका छन् ।

सन् २०१७ को जुनमा स्वीडेनविरुद्ध भएको विश्वकप छनौटको खेलमा उनले गलत विकल्पहरु चुने । उनले फर्ममा रहेका एनगोलो कान्टे, ओसमान डेम्बेले र कायलिन एमबापेको स्थानमा ब्लेसी माटुइडी, मोउसा सिसोको र डिमिट्री पायटलाई खेलाए । 

फ्रान्सले खेल हार्यो र प्रशिक्षकले आफ्नो विश्वसनियता गुमाए ।

गत सेप्टेम्बरमा अर्को विश्वकप छनौटमा लक्जम्बर्गलाई पराजित गर्न नसक्दा डेस्च्याम्पस्ले फेरि गलत खेलाडी छनौट गरे ।

तत्काल प्रतिक्रिया जनाउन नसक्ने उनको असक्षमताका कारण गत मार्चमा फ्रान्सले २–० को अग्रता गुमाउँदै कोलम्बियासँग ३–२ गोलअन्तरले पराजित हुन पुग्यो ।

‘मेरो मूल्याङ्कन र अध्ययनको आधारमा मैले विकल्पहरु छान्ने गर्छु,’ आलोचनापछि स्पष्टिकरण दिँदै उनले भनेका थिए, ‘मैले छनौट गर्ने खेलाडीहरुको जिम्मा म लिन्छु ।’

डेस्च्याम्पस फ्रान्ससँग सन् २०२० सम्मका लागि अनुबन्धित छन् तर उनलाई थाहा छ यो विश्वकप फ्रान्सका लागि कति महत्वपूर्ण छ । सन् १९९८ मा आफू कप्तान हुँदा विश्वकप जितेयता कै सबैभन्दा शक्तिशाली अहिलेको फ्रान्सको टोलीलाई मानिएको छ । अब प्रशिक्षकको रुपमा उनीसँग फेरि विश्वकप जित्ने अवसर छ ।

फ्रान्सको फुटबलको इतिहास हेर्दा मैदानमा एक कुशल नेतृत्व रहँदा फ्रान्सले राम्रो सफलता हासिल गर्ने गरेको छ ।

सन् १९५८ को विश्वकपमा रेयमन्ड कोपाले फ्रान्सको नेतृत्व गर्दै तेस्रो स्थान दिलाएका थिए । त्यस्तै, मिचेल प्लाटिनीको पुस्तामा फ्रान्स सन् १९८२ तथा १९८६ को विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो भने सन् १९८४ को युरोकप जितेको थियो ।

सन् १९९८ र २००६ को बीचमा जिनेदिन जिदानले फ्रान्सलाई थप सफलता दिलाए ।

कोपा–प्लाटिनी र जिदानपछि फ्रान्सलाई अघि बढाउन नयाँ उत्तराधिकारी चाहिएको छ । यसका लागि एउटा मात्र पात्र रहेका छन् ।

‘अब पाउल पोग्बाले नेतृत्व लिने बेला आएको छ,’ आर्सनलका पूर्व फरवार्ड तथा सन् १९९८ मा डेस्चयाम्पसका समकक्षी रोबर्ट पिरेज भन्छन्, ‘उनी भन्छन् उनी यो भूमिका र जिम्मेवारी लिन तयार छन् । यो उनको समय हो । यसका लागि उनी अब परिपक्व भइसकेका छन् ।’

उनका अनुसार यो विश्वकपमा फ्रान्सलाई पोग्बा आफ्नो खेलमा उत्कृष्ट हुनुपर्ने आवश्यकता छ । ‘एमबापे र डेम्बेलेजस्ता खेलाडीलाई अर्को तहसम्म पुग्न उनले नेतृत्व प्रदान गर्नुपर्छ ।’

‘तर, उनीमात्र एकल नेतृत्वकर्ता होइन । टोलीमा ह्युगो लोरिस, राफायल भरान, माटुइडी र एन्टोनियो ग्रिजमानजस्ता सिनियर खेलाडी पनि रहेका छन् । गत विश्वकपमा सबैभन्दा उत्कृष्ट युवा खेलाडी घोषित भएका पोग्बा यतिबेला प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेलाडीको उपाधि जित्ने दाउमा पोग्बा छन् ।

त्यसो भए मोनाकोबाट किर्तिमानी साढे १६ करोड पाउण्डमा पेरिस सेन्ट जर्मेन पुगेका एमबापेको के हुन्छ ? 

पिरेज भन्छन्, ‘उनी १९ वर्षका मात्र छन् । उनीसँग अझै धेरै समय बाँकी छ । उनलाई अहिले अझै दबाब दिनुहुँदै । उनको यो पहिलो ठूलो प्रतियोगिता हो मलाई विश्वास छ । उनले राम्रो प्रदर्शन गर्नेछन् ।’
सन् २००६ को विश्वकपपछि जिदानले सन्यास लिएपछि फ्रान्सको टोलीमा नेतृत्वकर्ताको अभाव छ । तपाईंसँग चतुर वा सशक्त खेलाडी होलान् तर मैदान र मैदानबाहिर नेतृत्वकर्ता बन्नु फरक कुरा हो ।

किन २०१६ पछि कुनै प्रगति भएको छैन ?

युरो २०१६ डेस्च्याम्पस् र उनको टोलीका लागि निकै हृदयविदारक कुरा थियो । यो प्रतियोगिताले फ्रान्सलाई फेरि शीर्ष स्थानमा पुर्याउने अपेक्षा थियो ।

आशाहरु ठूला थिए । तर, फाइनलमा पोर्चुगलसँग हार ठूला झड्का थियो र त्यसको ह्याङओभर निकै लामोसम्म चलिरहेको छ ।

डेम्बेले, कोरेन्टिन टोलिसो र एम्बापेजस्ता खेलाडीहरुको उदयका बावजुद सन् २०१६ पछि फ्रान्सको टोलीमा कुनै प्रगति भएको छैन । 

युरोकपमा जर्मनीलाई हराउनेदेखि ग्रिजमान चम्कने जस्ता सकारात्मक कुराहरुलाई लिएर टोली सन् २०१६ को झड्काबाट पार पाउनुपर्नेमा टोली अझ अस्तव्यस्त बनेको छ ।

सायद उनीहरुले प्रगतिलाई सजिलो रुपमा लिए वा उनीहरुले यसलाई बेवास्ता गरे ।

विश्वकपका ती अविस्मरणीय १० गोल

या उनीहरु उद्देश्वविहीन बने ?

फ्रान्स फुटबलका अध्यक्ष नोएल ले ग्राइटले यसपटक यो विश्वकपमा फ्रान्सको लक्ष्य सेमिफाइनल पुग्ने रहेको बताएका छन् । उपाधि जित्ने लक्ष्य चाहीँ किन नलिने ? किन सेमिफाइनलसम्म मात्र ?
यसमा मुख्य खेलाडीहरुको अस्थिर प्रदर्शन पनि समस्या बनेको छ ।

रणनीतिकरुपमा डेस्च्याम्पस् सबैभन्दा राम्रो फर्मेसनको खोजीमा छन् । के सन् २०१६ मा सफल भएको ४–४–२ मा अडिने वा विश्वकपका लागि टोलीलाई सुहाउँदो ४–३–३ को फर्मेसन प्रयोग गर्ने ? 
यो कुरा प्रशिक्षकले नै निर्धारण गर्नुपर्ने रहेछ ।

डेस्च्याम्पस् सन् २०१६ पछि केही अघि बढ्न खोजेको संकेत पनि देखिएका छन् । जस्तो कि उनले सन् २०१६ को टोलीमध्येबाट मात्र ९ जना खेलाडीहरुलाई यसपटकको टोलीमा समावेश गरेका छन् – ह्युगो लोरिस, स्टीभ मन्डान्डा, सामुयल उम्टिटी, अडिल रामी, पोग्बा, कान्टे, माटुइडी, ग्रिजमान र ओलिभर जिरु ।

यदी यो परिवर्तन मात्र काफी छ कि छैन भन्ने चाहीँ हेर्न बाँकी छ ।

के सन् १९९८ को ब्याचबाट फ्रान्सले केही सिक्न सक्छ ?

२० वर्षअघि १२ जुलाई मा फ्रान्सले आफ्नो भूमिमा विश्वकप जितेको थियो, पहिलोपल्ट । त्यसयता फ्रान्सको फुटबल टोलीको यात्रा निकै उतारचढावको रह्यो । यसमा सन् २०००, २००६ र २०१६ सफल रह्यो भने सन् २००२, २००४, २००८ र २०१० मा निकै खराब रह्यो ।

डेस्च्याम्पले टोलीमा बोलाइएका धेरै खेलाडीहरुसँग सन् १९९८ को र फ्रान्स ब्राजिलबीचको फाइनलको सम्झना बाँकी छ । डेस्च्याम्पसुले ट्रफी उचाल्दा एम्बापे त जन्मेकै थिएनन् । तर, उनले पनि त्यो फाइनल सायौँ पटक टिभीमा हेरेका होलान् ।

सन् १९९८ को पिढीलाई उत्तराधिकारी चाहिएको छ । र, त्यो यो सन् २०१८ को टोली बन्न सक्छ । अपेक्ष ठूलो छ, दबाब पनि त्यस्तै ।

‘यो पिढीका लागि यो बोझ बन्नुहुँदैन,’ विश्वकप विजेता विक्नेटे लिजाराजु भन्छन् ।

‘हामीले २० वर्षअघि जितेको भन्दैमा उनीहरुमाथि जित्नै पर्ने दबाब थप्नुहुँदैन,’ उनले भने, ‘त्यसलाई प्रेरणाको रुपमा चाहीँ लिन सकिन्छ ।’

जिदानपछि २० वर्षपछि विश्वकप जित्नु पोग्बा र यो फ्रान्सको टोलीका लागि विशेष हुनसक्छ ।

यसका लागि केही समस्याहरु समाधान गर्नुछ, प्रश्नहरुको उत्तर दिनुछ । उनीहरु विश्वकपको दाबेदार टोलीको शीर्ष स्थानमा नहुन सक्लान् ।

तर, फ्रान्समा भनिन्छ, केही असम्भव भने छैन ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप