शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिजुली चोर र विद्युत आयोजनाको काम नगर्ने ठेकेदारमाथि गृह र उर्जाको यस्तो ‘एक्सन’ (भिडियो)

बुधबार, ३० जेठ २०७५, १७ : २५
बुधबार, ३० जेठ २०७५

काठमाडौं–विद्युत चोरी नियन्त्रणका लागि सरकारले बिशेष कार्ययोजना सञ्चालन गर्ने भएको छ । गृहमन्त्रालयमा बुधवार गृहमन्त्री रामबहादुर थापा, उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको छलफलबाट बिद्युत चोरी रोक्न नयाँ कार्ययोजना बनाइएको हो । 

छलफलमा विद्युत चोरी नियन्त्रणलाई परिणममुखी बनाँउनका लागि प्रत्येक जिल्ला प्रशासन कार्यालय र विद्युत प्राधिकरण शाखाले समन्वय गरी संयुक्त रुपमा कार्ययोजना तयार पार्ने र बिद्युत चोरी गरेको पाइएमा बिद्युत कार्यालय र प्रहरी बिच समन्वय गरी कडा कारवाही गर्ने सहमति भएको छ । 

यस्तै जलबिद्युत आयोजनाहरुको निर्माण कार्यमा ढिलाई गर्ने, लापरवाही गर्ने आयोजनाहरुलाई उर्जा मन्त्रालयको अनुरोधका आधारमा गृह मन्त्रालयले कारवाही गर्ने सहमती पनि भएको छ । 

छलफलमा गृहमन्त्री थापाले सडक आयोजनमा मात्र नभई ट्रान्समिटर लाइन र बिद्युत आयोजनाको काममा जताततै ढिलाई भएको कारण ढिलाई गर्ने ठेकेदारमाथि पनि कारबाही थाल्ने बताएका छन् । 

यस्तै बिद्युत आयोजनका लागि आवश्यक जग्गा अधिग्रहणका लागि बिद्युत प्राधिकरण र जिल्ला प्रशासन कार्यालयहरुले आपसी समन्वय गरी तत्काल समस्या देखिएका स्थानमा समाधान गर्न निर्देशन दिने निर्णय भएको छ । 
यस्तै  जलबिद्युत आयोजना निर्माण स्थलमा सुरक्षाको प्रत्याभूतिका लागि आवश्यक अनुसार गृह मन्त्रालयमार्फत सुरक्षाकर्मी परिचालन गर्ने सहमती पनि भएको छ । 
 

बिद्युत आयोजना स्थलमा चन्दा मागे तत्काल खबर गर्न गृहमन्त्रीको निर्देशन 
यसैबिच छलफमा गृहमन्त्री रामबहादुर थापाले जलबिद्युत आयोजना स्थलमा कसैले चन्दा माग्न आए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् । चन्दाको बारेको गुनासो आँउने बित्तिकै गृहमन्त्रालयले तत्काल ‘एक्सन’ लिने बताएको छलफलमा सहभागी बिद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । 

छलफलमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले विद्युत चोरी हुने खास क्षेत्र छनौट गरेर ‘अप्रेशन’ गर्ने र त्यसले देशभरी नै एउटा सन्देश जाने उल्लेख गरे । उनले एउटा दुईटा घरलाई कारबाही गर्ने भन्दा पनि देशभरी नै सन्देश जाने किसिमले विद्युत चोरी नियन्त्रण अभियान सञ्चालन गर्न सुझाव दिएका थिए । यसका लागि एउटा बिषेश टोली नै बनाएर खटाउने उनले बताएका थिए ।  

बिद्युत प्राधिकरणले सबैभन्दा बढी बिद्युत चुहावट हुने क्षेत्र पहिचान गरी प्रहरीलाई जानकारी दिने प्राधिकरणका प्रवक्ता अधिकारीले जानकारी थिए । प्राधिकरणसँग कुन ठाँउमा कति बिद्युत चोरी हुन्छ भन्ने आँकडा पनि रहेकोले उनीहरुममाथि कारवाही गर्न समस्या नरहेको उनले बताए । बिद्युत चुहावट नियन्त्रण गर्न र आयोजनाको काम समयमा सक्नका लागि उर्जा मन्त्रालय र गृह मन्त्रालयले संयुक्त रुपमा काम गर्ने भएका हुन् । 
३ बर्षमा ५ प्रतिशत बिद्युति चुहावट घट्यो 
नेपाल विद्युत प्राधिकरणको आँकडा अनुसार गएको ३ बर्षमा ५ प्रतिशत विद्युत चुहावट घटेको छ । आर्थिक बर्ष २०७२÷७३ मा २५ दशमलव ७८ प्रतिशत चुहावट भएकोमा आर्थिक बर्ष २०७३÷७४ मा २२ दशमलव ५० र २०७४÷७५ को चैतसम्म २० प्रतिशत बिद्युत चुहावट भएको छ । 

चालू आर्थिक वर्ष ०७४÷७५मा प्रणालीमा रहेको चुहावटलाई २०.०६ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ । आँउदो ३ बर्षभित्र चुहावटलाई १५ प्रतिशतमा झार्ने प्राधिरकणको लक्ष्य छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप