मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय मिडियाले ल्याए नेपाली सेनालाई विवादमा, भने-संयुक्त सैन्य अभ्यास चीन विरुद्ध

बुधबार, ३० जेठ २०७५, २१ : २०
बुधबार, ३० जेठ २०७५

काठमाडौं भारतको पिथौरागढमा जेठ १६ गतेदेखि सञ्चालन भएको नेपाली सेना र भारतीय सेना बीचको संयुक्त ‘अभ्यास सूर्यकिरण-१३’ मंगलबार समापन भएको छ । 

तर, भारतीय मीडियाले यो सैन्य अभ्यास चीन विरुद्ध भएको भनेर प्रचार गरिरहेका छन् ।

भारतीय न्यूज च्यानल एवीपी न्यूजले राती ८ : ३० बजे प्रशारण गरेको समाचारमा सैन्य अभ्यास चीन विरुद्ध भएको दावी गरेको हो । 

त्रिदेशीय सीमा नजिक भएको यो सैन्य अभ्यास खास रहेको भारतीय सैन्य अधिकारीहरुले बताएको एवीपी न्यूजको भनाई छ ।

दोक्लाम विवादले भारत र चीनवीच तनाव बढाएको थियो ।

पछि वार्ताबाट दुई देशले यसको हल गरेका थिए । 

नेपाली सेनाले बुधवार विज्ञप्ती जारी गरेर अभ्यासमा प्रतिविद्रोह तथा प्रतिआतंकवाद र विपद् व्यवस्थापन सम्बन्धि विषयहरु समावेश गरिएको उल्लेख गरेको थियो । 

भारतको मिजरममा २०६७ सालबाट पहिलो पटकसुरु भएको यस्ते संयुक्त अभ्यास हाल एक–एक वर्षको अन्तरालमा नेपाल र भारतमा सञ्चालन हुने गर्दछ । तर, भारतीय मीडियाले चाहिँ यसलाई चीन विरुद्ध भनेर प्रचार गरेपछि नेपाली सेनाको सैन्य कुटनीति विवादमा आउने खतरा छ । 

अभ्यासमा नेपाली सेनाकोतर्फबाट ‘गोरख बक्स गण’का प्रमुख सेनानी तिलक बहादुर थापा क्षेत्रीको कमाण्डमा ३०० फौज ९१ सेक्सन महिलासहित र भारतीय सेनाकोतर्फबाट ‘१३ जम्मुकस्मिर राइफल्स’का महा सेनानी निपुन कृष्णनको कमाण्डमा ३०० फौज सहभागी भएका थिए । 

नेपाली सेनाको तर्फबाट संयुक्त अभ्यासको पर्यवेक्षकको रुपमा गएका मध्य पश्चिम पृतनापति उपरथी राजेन्द्र कार्की र भारतीय सेनाको तर्पmबाट उत्तर भारत एरिया हेर्डक्वाटर्सका चिफ अफ स्टाफ उपरथी नीरज वर्माले ‘अभ्यास सूर्यकिरण—१३’ को संयुक्त रुपमा समापन गरेका थिए ।

सम्वोधनको क्रममा उनीहरुले यस्ता अभ्यासबाट दुई देशका सेनाको पेशागत ज्ञान अभिवृद्वि भई दुई देशको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए । 

भारतीय मीडियाको यस्तो दावी ठीक यो बेला आएको छ, जतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्देछन् । 

प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनेछन् । 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ । 

परराष्ट्र मन्त्रालयका अनुसार ओलीले चीनका वरिष्ठ नेताहरुसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्रीले नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत समूहलाई बेइजिङमा सम्बोधन गर्नेछन् ।

भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नेछन् ।

त्यहाँ उनले तिब्बतका प्रान्तीय नेताहरुसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असार १० गते आइतबार स्वदेश फर्कनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप