शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दिलबहादुर घर्ती बचाउन बेलायत र पोर्चुगलबाट १० लाख सहयोग

बिहीबार, ३१ जेठ २०७५, १३ : ५६
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं– अदालतले तोकेको ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन बेलायत र पोर्चुगलमा दश लाख भन्दा बढी रकम संकलन भएको छ ।

राप्ती समाज यूकेको नेतृत्वमा आठ लाख ७५ हजार पाँच सय ५५ र पोर्चुुगलमा रहेका नेपालीहरुबाट एक लाख ३९ हजार पाँच सय ४१ रुपियाँ संकलन भएको हो । बेलायतबाट उठेको सहयोग रकम बुधबार राप्ती समाज यूकेका अध्यक्ष हिक्मतसिं रोकाले दिलबहादुर घर्ती बचाउन ब्लड मनी संकलन मूल समिति र दिलबहादुरकी पत्नीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । 

पोर्तुगलबाट उठेको रकम पनि बुधबार नै पोर्तुगल निवासी सुवास पुनले अभियानलाई हस्तान्तरण गरेका छन् । बुधबार नै नन्द घर्तीमगरको पहलमा संकलित १६ हजार, अर्जुन तिवारीले १० र गंगा राईको पहलमा संकलित सात हजार समितिलाई हस्तान्तरण गरेका छन् । 

रोल्पा नगरपालिका–१०, रोल्पा घर भएका दिलबहादुर विगत दुई वर्षदेखि साउदीको जेलमा छन् । उनले चलाएका ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किँदा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको गल्ती देखाइ मृतकका परिवारलाई करिब ६५ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । पुनरावेदन अदालतले गत चैत २२ गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई ६५ लाख तिर्नैपर्ने भएको हो ।

दिलबहादुरको जीवन रक्षा तथा जेल मुक्त गर्न उपराष्ट्रपति पुत्र दिपेश पुनको नेतृत्वमा गठित ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ गठन भएको छ । यसैगरी स्वदेश तथा विदेशमा विभिन्न संघ संस्था तथा व्यक्तिहरुले सहयोग संकलन गरिरहेका छन् ।

राप्ती समाज यूकेका अध्यक्ष हिक्मतसिं रोकाले दिलबहादुर घर्तीको जीवन रक्षाका लागि बेलायतमा रहेका नेपालीहरुल दिल खोलेर सहयोग गरेको बताए । उनले सहयोगी सबैलाई धन्यवाद दिंदै दिलबहादुरलाई बचाउन सबैले सहयोग गर्नुपर्ने बताए । 

मूल समितिको नाममा खोलिएको खातामा २३ लाख भन्दा बढी रकम जम्मा भएको छ । ‘दिलबहादुरको जीवन रक्षाका लागि झण्डै ६५ लाख चाहिन्छ । ‘अहिलेसम्म खातामा २३ लाख जम्मा भएको छ,’ मूल समितिका सचिव जीवन रोकामगरले भने, ‘हाम्रो अभियान जारी छ । सहयोगी मनहरुको साथ र सहयोग छ ।’ वाईसिएल रोल्पाले झण्डै पाँच लाख उठाएको तर मूल समितिको खातामा नआएको, रोल्पा नगरपालिकाले १ लाख, सुनिल स्मृति गाउँपालिकाले ५० हजार, सुनछहरी गाउँपालिकाले ३० हजार दिने निश्चित भएको जानकारी दिए । 

उनले साउदी अरब, मलेसिया, जापान, कोरिया लगायतको देशमा दिलबहादुरको जीवन रक्षाका लागि सहयोग संकलन जारी रहेको बताए । दिलबहादुरको जीवन रक्षाका लागि सहयोग रकम जम्मा गर्न अभियानका मूल समिति संयोजक दीपेश पुन, सचिव जीवन रोकामगर र दिलबहादुरकी पत्नी मनिका बुढामगरको नाममा नेपाल राष्ट्रिय बाणिज्य बैंक, बालाजु शाखामा ११९००२८६०७१० नं. को खाता खोलिएको अभियानले जानकारी गराएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप