शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अधुरो यात्रा जिन्दगीको

शनिबार, ०२ असार २०७५, ०९ : ०५
शनिबार, ०२ असार २०७५

- दीपक वाग्ले   

म वर्षौंदेखि ती नशालु नयनहरूको प्रहार सहन नसकेर नशामा लडखडाउँदै थिएँ । चट्टानी पहाडको उखडबाखड गोरेटोहरू मसँग परिचित भएकाले मलाई राम्ररी साथ दिएझँै लाग्दथ्यो । सोच्दै थिएँ,‘समय बदलिने बित्तिकै मानिस मात्र बदलिँदा रहेछन्, साथ छोड्दा रहेछन् अनि रङ फेर्न थाल्दछन् तर यो प्रकृति सदा महान् छ ।’ म रल्लिँदै घुम्तीतिर मोडिँदै थिएँ, तत्क्षण कसैले मलाई हेरेको अनुभव भयो। मेरो सामुन्ने कुनै अपरिचित जस्तै लाग्ने परिचित मुहार देखापर्न थाल्यो । मबाट अघि बढाइसकेका पाइलाहरू रोक्दै ऊ केही भन्न थाली ।

किन मार्दैछौ आफूले आफैलाई यसरी ? उनको स्वर कम्पित भयो।
अब ज्युनुको के अर्थ ? ज्युनका लागि आधार चाहिँदो रैछ। धड्कन चाहिँदो रैछ। जिन्दगी निभेको दियो जस्तै एकपलमै उजाडिएर अन्धकारमय भयो। थाहा छैन अघिसम्मको उज्यालो कहाँ गयो ? कसले लग्यो ? अब त्यो दियोको यादमा म कसरी बाँच्ने ? जति बाँच्छु बेहोसीमा बाँच्छु, नशामा बाँच्छु, घृणामा बाँच्छु तर म पीडामा बाँच्न सक्दिनँ।’
किन जिन्दगीको अस्तित्वलाई व्यर्थै खेर फाल्दैछौ ?
तिमी मेरो सबथोक थियौ। अब तिमी मसँग छैनौ। तिमिलाई गुमाएँ, त्यसैले सबैथोक गुमाएँ । अब बाँकी रहेको जिन्दगी, जिन्दगी नै होइन। यो त केवल भ्रमहरूको प्रतीक्षा हो । यस्तो प्रतीक्षा जहाँ कोही कसैको पर्खाइमा बस्छन् जिन्दगीभर जब कि आउँने कोही हुँदैनन्। 
के चाहन्छौ तिमी जिन्दगीसँग ?
जे चाहे त्यो मिलेन। त्यसैले अब चाहने कुनै चाहना छैनन्।

तिमी मेरो यादमा व्यर्थै जिन्दगी बर्बाद गर्दैछौ। मैले सोचेको पनि थिइनँ कि तिमी यस्तो हुनेछौ भनेर। छिः तिमीलाई भेटेको त्यो दिन यदि कहिल्यै नआइदिएको भए।

मलाई गर्व छ, मैले कसैको जिन्दगी बर्बाद गरिनँ । आफ्नो जिन्दगीलाई बर्बाद गर्ने अधिकार मसँग थियो । हो जिन्दगीमा कहिलेकाही नितान्त नसोचेको भइदिन्छ । आखिर सपना सबै पूरा हुँने भए मानिसको अस्तित्व नै कहाँ रहन्छ र ? यहाँ कैयौं सपनाहरू घाइते भएर त्यही प्राणत्याग गरिरहेको हुन्छ, जहाँबाट कसैले सपना देख्न थाल्छन् । छोडिदेऊ ती अतितका कुरा जो निरन्तर बगिरहेको त्रिशूली जस्तै अब चाहेर पनि कहिल्यै फर्केर आउँदैन। त्यसलाई बग्न दिनुपर्छ चाहे सम्झनामा होस् वा आँशुमा । बरु भन तिम्रो हालखबर के छ। खुसी त छौ नि।’
म खुसी छु र सुखी पनि। भनेको मान । समय अझै बाँकी छ। तिमी नयाँ जिन्दगी सुरु गर।’

मलाई हाँसो लाग्यो। वर्षौंदेखि लुप्त मुस्कान एकाएक फर्किएर आयो।मलाई आफैले आफैलाई गिज्याएको भान भयो। बिस्तारै हासो आँखाबाट निस्कन थाल्यो। ‘यो जिन्दगी नै बोझ भइसक्यो ।अब म यसैमा खुसी छु । खुसी हुनलाई केही पाउनै पर्छ भन्ने छैन । नपाउँदै केही गुमाउँदा पनि खुसी मिल्ने रहेछ। म यसैमा खुसी छु।यो जिन्दगीको यात्रा पूरा नगरी म हराउँन चाहन्छु र मलाई थाहा छ, घाइते मन बोकेर बाच्नेहरू सबै हराउन चाहन्छन् । त्यो अनन्त गहिराइमा जहाँ कसैले खोज्ने आट नगरोस् र खोज्नेले भेट्ने आश नगरोस् ।

-सिन्धुली

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप