बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुसमा मृत्यु जितेका थियगोले जित्लान् विश्वकप ?

आइतबार, ०३ असार २०७५, १२ : ०४
आइतबार, ०३ असार २०७५

काठमाडौँ । ब्राजिली टोलीमा सबैभन्दा धेरै चर्चा कप्तान नेयमारको छ । तर, पूर्वकप्तान तथा टोलीका भरपर्दा डिफेन्डर थियागो सिल्भा पनि समर्थकमाझ चर्चित नाम हो । 

उनी उत्कृष्ट खेलाडी हुनु त छँदै छ । त्यसबाहेक कुनै समय रुस बसेको हुनाले यहाँको मौसम, वातावरण र समर्थकसँग परिचित छन् । 

विश्वकप खेल्नका लागि यसपटक रुस आउँदा उनको मस्तिस्कमा १३ वर्षअघिका ती डरलाग्दा सम्झनाहरु घुमेको हुनुपर्छ । मस्को अस्पतालमा झन्डै टिबीका कारण उनको ज्यान गएको थियो । उनले ६ महिनासम्म एक्लै कोठामा बिताएका थिए । उनी फुटबलमा फर्कन सक्दैनन् कि भन्ने डर पनि थियो । यस्तो परिस्थितीमा दिनरात नभनी रुसी डाक्टरहरुले उनलाई बचाए । सिल्भाका लागि त्यो पुनर्जन्म नै थियो । 
३३ वर्षका सिल्भा अहिले आफ्नो करियरको उत्तराद्र्धमा छन् र आफु अझै व्यवसायिक छु भनेर प्रमाणित गर्न विश्वकप उनका लागि राम्रो अवसर हो ।  त्यसो भए कुनै समय सिल्भालाई मृत्युको मुखबाट जोगाउने रुसीहरुले अब उनको अन्तर्राष्ट्रिय करियर जोगाइदेलान् ?

थियगो सिल्भा कसरी मस्को पुगे भन्ने रोचक कहानी छ । उनलाई डायनामो मस्को क्लबले सन् २००५ को जनवरीमा पोर्चुगाली क्लब पोर्टोबाट किनेको थियो । २० वर्षका सिल्भा यतिबेलासम्म विश्व फुटबलमा नौलो नाम थिए किनकी उनले पोर्टोबाट पनि कुनै खेल खेलेका थिएनन् । उनी पोर्टोको रिजर्भ टिमबाट खेल्थे । तर डायनामो मस्को क्लबको टोली निर्माण गर्ने क्रममा एजेन्ट जर्ज मेन्डिसले उनलाई उदयिमान खेलाडी भनेर सिफारिस गरे । डायनामोले ४ मिलियन डलर खर्चेर उनलाई क्लबमा ल्यायो । 

डायनामोको ठूलो योजनाको सानो भागमात्रै थिए, सिल्भा किनकी क्लबका नयाँ अध्यक्ष एलेक्सी फेर्डोयचेभ लिगमा पैसाको बाढी ल्याउन चाहन्थे । उनी विश्वका उत्कृष्ट खेलाडीलाई रुस ल्याउने अभियानमा थिए । 
पोर्चुगिज कोस्टिन्हा, ब्राजिली डेरलिइ लगायत सन् २००४ को च्याम्पियन्स लिग विजेता टोली पोर्टोका ७ महत्वपूर्ण खेलाडीलाई क्लबले अनुबन्ध गरिसकेको थियो । अन्य स्टारहरुले भने रसियाली लिगलाई पत्याइसकेका थिएनन् । 

पोर्चुगलकै ड्यानीलाई छाड्ने हो भने रुसमा अरु सबै स्टार खेलाडी असफल भए । डायनामोको यो ठूलो प्रोजेक्टमा चल्न नसकेका खेलाडीमध्ये थियोग सिल्भा एक हुन् । खासमा उनले कहिल्यै टोलीका लागि खेल्नै पाएनन् । 

क्लबको प्रशिक्षणको जिम्मा ओलेग रोमान्टसेभले पाएका थिए । उनीसँग रुसी लिगका अन्य क्लबका तथा राष्ट्रिय टोलीलाई समेत प्रशिक्षण दिएको अनुभव थियो । अभ्यासका क्रममा थियगोले देखाएको खेल हेरेर रोमान्टसेभ निकै प्रभावित थिए । छोटो समयभित्रै थियगो विश्वकै उत्कृष्ट खेलाडी बन्ने रोमान्टसेभको भविष्यवाणी थियो । टिमका डाक्टर भने खासै खुसी थिएनन् किनकी थियगो चाँडै थाक्ने गर्थे । 

डायनामोले धेरै पैसा त खर्च गरेकोे थियो । तर, एउटा ठूलो गल्ती पनि गरेको थियो । खेलाडीहरुलाई मेडिकल चेक नै नगरी हतारमा क्लब भित्र्याइएको थियो र थियागो गम्भिर बिरामी भए । सुरुवातमा मेडिकल टिमले अत्याधिक चिसोका कारण थियोगो बिरामी परेको अनुमान लगाएको थियो । तर लेक लाग्ने, खोकी लगायतका लक्षणहरु बढ्दै गए ।

केही दिनपछि मात्रै थियोगोलाई उपचारका लागि क्लिनिक पठाइयो र त्यहाँ थाहा भयो उनलाई टिबी भइसकेको थियो । त्यसपछिका ९ महिना उनले यही रोगसँग जुध्नुप¥यो । ‘यदी यो रोग पत्ता लाग्न अझै केही साता लागेको भए तिम्रो मृत्यु भइसक्ने थियो,’ थियगोलाई डाक्टरले भनेका थिए । 

यसरी मृत्यु ट¥यो । तर फेरि खेलमा फर्कने आशा धमिलो हुँदै थियो । किनकी मेडिकल टिमले उनको दाहिने फोक्सोको धेरै भाग काट्नुपर्ने सल्लाह दिएको थियो । यस सल्लाहलाई थियोगोले अस्वीकार गरे । अस्पताल बसाईको समय निकै मुस्किल थियो । तर आफ्ना आमा–बाबु र प्रेमिका उनलाई कुर्नका लागि मस्कोमै आएर बस्न थालेपछि केही सहज महसुस गरे । 

डायनामोले सिल्भाको उपचारमा लागेको सबै रकम खर्च ग¥यो । तर, उनलाई टोलीका राख्नेबारे सोचेन किनकी थियगोका कारण अन्य खेलाडीमा टिबीको संक्रमण सरेन भन्ने विषयले नै डायनामोको व्यवस्थापन खुसी थियो । अस्पतालबाट निस्किएपछि यी डिफेन्डरले आपसी सहमतिमा डायनामोसँगको सम्झौता भंग गरे । त्यसपछि उनी ब्राजिल फर्किए । फुटबल छाड्ने निर्णय गरे । तर, आमाले फेरि यही खेलमा लाग्न प्रेरणा दिइन् । 

त्यसपछि उनले ब्राजिलकै फ्लुमिनेन्सबाट कमब्याक गरे । छोटो समयमै यस क्लबको महत्वपूर्ण खेलाडी बने । डायनामोका पूर्व प्रशिक्षक रोमान्टसेभको भविष्यवाणी सही हुन जो लेखिएको थियो, सिल्भालाई सन् २००९ मा एसी मिलानले किन्यो । विस्तारै उनी विश्वकै उत्कृष्ट डिफेन्डरमध्येका एक बने । 

मिलानले सन् २०११ मा इटालियन सिरिए उपाधि जित्दा थियागो टोलीका प्रमुख खेलाडी थिए । त्यसैले अर्को वर्ष क्लबले उनलाई पेरिस सेन्ट जर्माइनमा बेच्दा फ्यानहरु स्तब्ध बनेका थिए । तर, ४२ मिलियनमा पिएसजी गएका सिल्भा त्यहाँ भने त्यति सफल हुन सकेनन् । जति सफल हुने आशा उनीसँग गरिएको थियो । सन् २०१७ को च्याम्पियन्स लिगमा बार्सिलोनाले पिएजसी विरुद्ध ६–१ को जित निकालेको खेल नै सिल्भाको करियर उत्तराद्र्धमा पुगेको संकेत थियो । 

अन्तर्राष्ट्रिय खेल 

अन्तर्राष्ट्रिय खेलमा सिल्भा त्यति सफल हुन सकेका छैनन् । सन् २०१० को विश्वकपमा उनलाई लुसियो र जुआनपछि वैकल्पिक खेलाडीका रुपमा राखिएको थियो । ४ वर्षपछि घरेलु मैदानमा भएको विश्वकपमा उनले टोलीको कप्तानी नै गरे । तर, चिलीबिरुद्धको अन्तिम १६ को खेलमा टाइब्रेकरमा पेनाल्टी प्रहार गर्न अस्विकार गरेपछि उनको कप्तानीको आलोचना भयो । कप्तानसँग नै आत्मविश्वास नभएको भन्दै फ्यानहरु स्तब्ध बने । कोलम्बिया विरुद्धको क्वाटरफाइनलमा पहेँलो कार्ड खाएपछि प्रतियोगितामा उनको पहेँलो कार्डको संख्या २ पुग्यो । खासमा उनले फल गर्नु नपर्ने अवस्थामा फल खेलेर कार्ड खाएका थिए । त्यसैले उनको यस मूर्खतापूर्ण कदमको पनि आलोचना भयो । जर्मनी विरुद्धको सेमिफाइनलमा उनी थिएनन्, जहाँ ब्राजिल ७–१ ले पराजित भयो । 

यस विश्वकपपछि थियागोलाई टोलीले कहिल्यै पूर्ण रुपमा विश्वास गरेन । लुइस फिलिप स्कोलारीको सट्टा डुंगाले टोलीको प्रशिक्षण थाले । त्यसपछि थियागो टोलीमा परेनन् । सन् २०१६ को कोपा अमेरिकामा उनी सहभागी थिएनन् । प्रशिक्षक टिटेले विश्वकप छनोटका ५ खेलमा उनलाई अवसर दिए र त्यसमध्ये २ खेलमा मात्रै उनी सुरुवाती ११ मा थिए । 

प्रशिक्षक टिटेले सेन्ट्रल डिफेन्समा सिल्भाको सट्टा मार्र्किन्होस र मिरान्डालाई पहिले अवसर दिन्छन् । त्यसैले ३३ वर्षका थियगोले बेञ्चमा बस्नुपर्ने पनि हुनसक्छ । 

तर, पनि समयचक्र र भाग्यको खेल कसलाई थाहा हुन्छ र ? थियागोका लागि मस्को विशेष शहर हो । सन् २००५ मा मृत्यु नजिक पुगेका थियगोले पुनर्जन्म पाएपछि आफ्नो करियरलाई यादगार बनाएका छन् । अनि त्यही फर्किएका छन् । जहाँ उनले आफ्नो जीवनकै डरलाग्दो अनुभव सङ्गालेका थिए । के यही देशमा उनले आफ्नो जीवनको सबैभन्दा ठूलो उपलब्धि हासिल गर्लान् ?


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप