शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बैंकलाई थप सार्वजनिक निष्कासनका लागि स्वीकृति

आइतबार, ०३ असार २०७५, १८ : २४
आइतबार, ०३ असार २०७५

काठमाडौँ– सरकारी स्वामित्वको वाणिज्य बैंक, नेपाल बैंक लिमिटेडलाई थप सार्वजनिक निष्कासन(एफपिओ) का लागि स्वीकृति दिइएको छ ।  नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता रु २८० मा एफपिओ निष्कासनका लागि स्वीकृति दिइएको हो । रु एक सय आधार मूल्यको शेयरमा रु १८० प्रिमियम थप गरी सार्वजनिक निष्कासनका लागि यही असार १ गते स्वीकृति दिइएको बोर्डका प्रवक्ता निरज गिरिले जानकारी दिए । 

बैंकले रु चार अर्ब ९५ करोड १७ लाख ६० हजार २४० बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता शेयर बिक्री गर्नेछ । बैंकको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । एनएमबी बैंक लिमिटेडको एफपिओ बिक्री भइरहेको बेला बोर्डले पुनः नेपाल बैंकलाई समेत एफपिओ बिक्रीको स्वीकृति दिएको हो । 

नेपाल राष्ट्र बैंकले यसै असार मसान्तसम्म चुक्ता पूँजी रु आठ अर्ब पुर्याउन दिएको निर्देशनअनुसार नेपाल बैंकले थप निष्कासन गर्न लागेको हो । बजारमा सो बैंकको शेयर मूल्य प्रतिकित्ता रु ३१० रहेको छ । 

दोहोरो अंकले घट्यो बजार 

धितोपत्र बजार भने दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार नेप्से परिसूचक १४.०७ अंकले घटेर एक हजार २३३.२३ बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.१ बिन्दुले घटेर २५८.७१ बिन्दुमा पुगेको छ । 

स्टककाअनुसार आज कूल १५८ कम्पनीको ६ लाख ६४ हजार ५२१ कित्ता शेयर रु २४ करोड ५० लाख ५३ हजार ७७० मूल्यमा खरिद बिक्री भएको छ । 

आज होटल उपसमूहको मात्रै शेयर बढेको छ । सो उपसमूहको शेयर २८.९५ बिन्दुले बढेको हो । यस्तै बैंकिङ १२.५१, विकास बैंक १२.९९, जलविद्युत् २७.०५, वित्त ६.५२, बीमा ७२.४, उत्पादन ७.२३, अन्य ९.१३ र माइक्रोफाइनान्स उपसमूहको शेयर २०.७६ बिन्दुले ओरालो लागेको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप