शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

म्यासेडोनिया : तीन दशकदेखिको तिक्त विवाद अन्त्य, यस्तो नाममा भयो सहमति

सोमबार, ०४ असार २०७५, १४ : १८
सोमबार, ०४ असार २०७५

एजेन्सी–लगभग तीस वर्षपछि बाल्कन क्षेत्रको कठिनमध्ये एक विवाद आइतबार अन्त्य भएको छ ।

ग्रीस र मेसोडोनियका विदेश मन्त्रीहरूले ग्रीसको सीमा नजिक रहेको प्रेस्पा ताल छेउमा एक सहमतिमा हस्ताक्षर गरेका छन् ।

यसले म्यासेडोनियाको नाममा दुई देशबीच रहेको दशकौँ लामो विवाद अन्त्य गरेको छ । यस सम्झौताले शान्तिको एक नयाँ युग सुरुवात गरेको विश्वास गरिएको छ ।

सम्झौता अनुरूप भावि दिनमा म्यासेडोनियाको नाम ‘उत्तरी म्यासेडोनिया’ रहनेछ ।

ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रसले सम्झौतालाई “एक साहसी, ऐतिहासिक र दुवै देशको जनताका लागि अत्यावश्यक कदम” भने ।

म्यासेडोनिको नामको विवाद पूर्व युगोस्लाभियाको विघटन भएर त्यसको हिस्सा रहेको हालको म्यासेडोनियो एक अलग राष्ट्र भएदेखिनै सुरु भएको थियो । म्यासेडोनियाले सन् १९९१ सेप्टेम्बर ८ मा पूर्व युगोस्लाभियाबाट स्वतन्त्रता घोषणा गरेको थियो । त्यसअघिले सङ्घीय युगोस्लाभियाको यस हिस्सालाई ‘म्यासेडोनिया युगोल्साभ गणतन्त्र’ भनिन्थ्यो ।

यही विवादको कारणले ग्रीसले लामो समयदेखि म्यासेडोनियाको नाटो र युरोपेली सङ्घको सदस्यता बन्ने प्रक्रियालाई रोकिराखेको थियो ।

ग्रीसले म्यासेडोनिया नाम राखेर यस छिमेकी देशले म्यासेडोनिया नै नाम रहेको आफ्नो उत्तरी भूभागमाथि दाबी गरेको मान्दै आएको छ ।

विरोधबीच दुई देशका नेताहरूले अघिल्लो मङ्गलबार सहमति भएको घोषणा गरेका थिए । सोही सहमतिमा आइतबार दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा हस्ताक्षर भएको हो ।

आफ्ना विदेश मन्त्रीहरूले सम्झौतापत्रमा हस्ताक्षर गरिरहँदा ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रस र उनका म्यासेडोनियन समकक्षी जोरान जाइभले छेउमा बसेर अवलोकन गरेका थिए ।

यो सम्झौता पूर्ण रूपमा लागू हुनका लागि अझै पनि दुवै देशको संसदले अनुमोदन गर्नुपर्छ । साथै म्यासेडोनियाको सन्दर्भमा यो सम्झौता त्यहाँ हुने जनमत सङ्ग्रहबाट अनुमोदन हुनुपर्छ ।

दुवै देशका राष्ट्रवादीहरूले यो सम्झौताले आफ्नो पहिचानमा असर गरेको भनेर विरोध गरिरहेका छन् ।

यो सम्झौतामा म्यासेडोनियालाई धेरै छुट दिएको भनेर ग्रीसको संसदमा सिप्रसमाथि शनिबार अविश्वासको मत नै पेश गरिएको थियो । त्यस मतदानमा थोरै मतको अन्तरले मात्र उनको प्रधानमन्त्री पद बचेको थियो ।

संयुक्त राष्ट्रका म्याथु निमेट्जले तीन दशकदेखि यस सम्झौताका लागि मध्यस्थतता गरिरहेका थिए ।

यो सम्झौताअन्तर्गत संयुक्त राष्ट्रमा पूर्व युगोस्लाभ गणतन्त्र म्यासेडोनिया नाम रहेको म्यासेडोनियाको आधिकारिक नाम ‘सेभर्न म्याकेडोनिजा’ (यो स्लाभिक भाषाको उच्चारण हो) अर्थात अङ्ग्रेजीमा रिपब्लिक अफ नर्थन म्यासेडोनिया हुनेछ ।

यसको भाषालाई म्यासेडोनियन र यसका जनतालाई म्यासेडोनियन (गणतन्त्र उत्तरी म्यासेडोनियाका नागरिक) भनिनेछ ।

सम्झौता अनुरूप नाम परिवर्तनपछि यस देशलाई नाटो र युरोपेली सङ्घको सदस्यता लिनबाट रोकिरहेको ग्रीसले उक्त अवरोध परित्याग गर्नेछ ।

म्यासेडोनियाको संसद र जनमत सङ्ग्रहले समर्थन गरेमा त्यहाँको सरकारले आफ्नो संविधान संशोधन गर्नेछ । म्यासेडोनियाको संविधान संशोधन गर्नुपर्ने ग्रिसको प्रमुख माग रहेको छ ।

तर यस सम्झौताको विरोध गरिरहेका म्यासेडोनियाका राष्ट्रपतिले आफूले यसमा हस्ताक्षर नगर्ने बताएका छन् । 

यदि उनले संसदले अनुमोदन गरेको सम्झौतालाई हस्ताक्षर गर्न अस्वीकार गरे भने उक्त सम्झौता दोस्रो मतदानका लागि पुनः संसदमा जानेछ ।

यदि दोस्रो पटक पनि संसदले यसलाई पास गरेमा उनी उक्त विधयकलाई हस्ताक्षर गर्न बाध्य हुनेछ ।


यो सम्झौता लागू हुनका लागि ग्रीसको संसदबाट पनि अनुमोदन हुनु आवश्यक पर्छ, जुन कार्य आफैमा सजिलो हुनेछैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप