बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

'निर्माण ढिलाइले विराटनगरमा डुबान समस्या हुनसक्ने'

मङ्गलबार, ०५ असार २०७५, ०८ : ०३
मङ्गलबार, ०५ असार २०७५

विराटनगर - विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यापारिक मार्ग विस्तार आयोजना छ लेनको काममा भइरहेको ढिलासुस्तीले विराटनगरमा डुबान समस्या हुनसक्नेमा चिन्ता व्यक्त गरेका छन् । 

विराटनगर महानगरभित्र निर्माण भइरहेको आयोजनाअन्तर्गत बनेका सडक र नालीको सोमबार गरिएको अनुगमनका क्रममा उनले यस्तो चिन्ता व्यक्त गरे । 

आयोजनाले बनाएका सडक र नालीसँग जोडिएका सबै शाखा बाटा क्लियर नहुँदा पानी जम्ने र विराटनगर जलाशयमा परिणत हुने खतरा बढेको छ । वर्षात्को समय नजिकिँदै जाँदा उत्पन्न समस्या समाधानका लागि उचित विकल्प निकाल्न आवश्यक भएकाले अनुगमन गरिएको प्रमुख पराजुलीले जानकारी दिए ।

उनले वर्षात्को समयअगावै निर्माणाधीन सडकको काम सम्पन्न गर्न र अवरोध आएका नाला तत्काल सफा गर्न सम्बन्धित ठेकेदारलाई निर्देशन दिएका छन् । 
विभिन्न स्थानमा विकास निर्माणका क्रममा उत्पन्न समस्या प्रति नगरवासीले अत्यधिक चिन्ता लिन थालेपछि प्रमुख पराजुलीले अनुगमन कार्यलाई तीव्रता दिएका हुन् । 

प्रमुख पराजुलीले विराटनगर महानगरपालिकाअन्तर्गत दूधफार्म, आयल निगम, कञ्चनबारी, बरगाछी र मुनालपथमा भइरहेका निर्माण कार्यको स्थलगत निरीक्षण गरे भने अनुगमनमा सम्बन्धित कम्पनीका ठेकेदार, प्रदेशसभा सदस्य केदार कार्की तथा वडाअध्यक्ष विनोद बस्नेत र प्राविधिकलगायतको सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप