शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौडामा काङग्रेस सभापतिहरुको भेला : केन्द्रले दियो ७ बुँदे निर्देशन

मङ्गलबार, ०५ असार २०७५, १० : ४७
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं । पार्टीको विधान संशोधन, आगामी महाधिवेशन, संगठन निर्माण र वर्तमान राजनीतिक विषयमा छलफल गर्न काङ्ग्रेस जिल्ला सभापतिहरुको भेला मकवानपुरको हेटौंडामा सुरु हुँदैछ । 

पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार ११ बजेपछि उद्घाटन गर्ने भेला तीन दिनसम्म चल्ने काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

गुटउपगुट र आन्तरिक किचलोमा रुमल्लिएको काङ्ग्रेस सभापतिहरुको भेलाले पार्टीलाई एकढिक्का बनाउन सहयोग गर्ने नेताहरुले दावी गरेका छन् । 

यद्यपी यो भेलामा गत निर्वाचनमा पार्टीले बेहोरेको हारको सभापति शेरबहादुर देउवाले जिम्मेवारी नलिएकाले उनलाई जिम्मेवारी लिन दवाव दिने र त्यसो गर्दा पनि नभए सबै जिल्ला सभापतिहरुले जिम्मेवारी लिएको घोषणा गर्ने तयारी समेत गरेका छन् । 

पार्टी संगठनमा कमजोर देखिदै आएका देउवा र पछिल्लो समय आफ्नो समुहको गतिविधि सक्रिय बनाउँदै आएको पौडेलपक्षबीच विवाद देखिने भएपछि पार्टी केन्द्रले नै सवै सभापतिहरुलाई विधानमा गर्नुपर्ने संशोधन वा परिमार्जन, संगठन सुदृढिकरण रणनीति, स्थानीय, प्रदेश र संघीय तहमा पार्टीको भुमिका, प्रतिपक्षको रुपमा पार्टीले खेल्नुपर्ने भूमिकालगायतका विषयमा केन्द्रीत रहेर छलफल गर्न सात बुँदे सर्कुलर जारी गरेको छ ।

भेलामा ७७ वटै जिल्लाका सभापति र केन्द्रीय कार्यसमितिका सदस्य गरी ३ सय जनाको सहभागिता रहने जनाईएको छ । भेलाको पहिलो दिन सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले मात्रै सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनसत्र लगत्तै मंगलबारबाटै बन्द सत्र सुरु हुने प्रवक्ता शर्माले जानकारी दिए छलफलमा जिल्ला सभापतिहरुले केन्द्रीय कार्यालयले पठाएको सर्कुलरको आधारमा जिल्लामा भएका रिपोर्टिङ अवगत गराउने छन् । 

भेलामा बुधबारबाट ७ प्रदेशमा विभाजन गरेर एजेण्डागत रुपमा समुहगत छलफल हुने र असार ७ गते छलफलको निष्कर्षसहित घोषणापत्र जारी गर्दै राष्ट्रिय भेला सम्पन्न हुने प्रवक्ता शर्माले जानकारी दिएका छन् ।
यो भेलाले पार्टीको नेतृत्व र विधानमा समेत हेरफेर गर्न सुझाव दिने भएकाले काङ्ग्रेसजनले चासोका साथ हेरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप