बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जयपृथ्वी राजमार्ग अवरुद्ध, बझाङ जिल्लाभर यातायात सञ्जाल बिच्छेद

बिहीबार, २९ असार २०७४, १६ : ३०
बिहीबार, २९ असार २०७४

बझाङ, २९ असार । बझाङलाई अन्य जिल्लासँग जोड्ने एकमात्र जयपृथ्वी राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ आइतबारदेखि परेको लगातार वर्षका कारण मंगलबार मध्यराति राजमार्गको विभिन्न स्थानमा पहिरो खसेपछि यातायात पूर्णरुपमा अवरुद्ध हुन पुगेको हो । 

तमैल बजार नजिकै रहेको जाल्याबगरमा सबैभन्दा ठूलो पहिरो खसेको छ भने यस्तै तमैल बजारभन्दा माथि रहेको माल्ला लाग्ने भिरमा माथिबाट आएको पहीरोले पूरै सडक नै भासिएको छ । सो सडक सञ्चालन गर्न अझै समय लाग्ने देखिन्छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भन्नुभयो “यसबाहेक मटेला, देउरा, बगडगाउँलगायत थुप्रै ठाउँमा शाखा सडकबाट बगेर आएको हिलो राजमार्गमा थुप्रिएको छ । विभिन्न ठाउँमा गाडी फसेका छन् ।” 

सडक अवरुद्ध भएपछि बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा तथा बाहिरी जिल्लाका लागि छुट्ने सबै सवारीका साधन बसपार्क, तमैल बजारमा नै थन्किएकाले यात्रा गर्ने तयारीमा रहेका यात्रु ठाउँठाउँमा अलपत्र परेका छन् । यातायात सञ्चालन नभएपछि अस्पतालले अन्यत्र सिफारिश गरेका बिरामीलाई निकै समस्या भइरहेको जयपृथ्वी नगरपालिका–४ का नरेन्द्रजंग खातीले बताउनुभयो । 

उहाँले भन्नुभयो– आज चार दिनदेखि बाटो खुलेको छैन । केही सिकिस्त बिरामीका आफन्तले महँगो पैसा तिरेर बिरामीलाई बोकाएर भए पनि गाडी पाउने ठाउँसम्म पु¥याउन खोजिरहेका छन् । पैसा नहुनेलाई निकै समस्या भएको छ ।” बाटो अवरुद्ध भएपछि कतिपय यात्रु एक दुई दिन हिँडेरै भए पनि गाडी पाउने ठाउँतर्फ जान थालेको उहाँले बताउनुभयो । 

पहिरोका कारण जिल्लाको आन्तरिक यातायात सञ्जाल पनि बिच्छेद भएको छ । विभिन्न ठाउँमा पहिरो खसेर सडक बिग्रिएपछि जिल्ला भरका सबैजसो शाखा सडक पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चैनपुर मयाना, छविस मेल्लेख, सुर्मा दौलीचौर, विजगडा बुङ्गल, चैनपुर तल्कोटर खप्तड छान्ना सडकलगायतका शाखा सडकमा पनि चार दिनदेखि यातायात सञ्चालन हुन सकेको छैन । 

जिल्लाका विभिन्न ठाउँमा पु¥याउनका लागि धनगढी, महेन्द्रनगर र नेपालगञ्जबाट औषधि खाद्यान्न तथा दैनिक उपभोग्य सामान बोकेका गाडी पनि बैतडीको खोड्पेदेखि बझाङको भाडेबजारसम्म विभिन्न ठाउँमा रोकिएको कर्णाली रिर्भर साइड बस ना ४ ५ ख ६७३५ नं का चालक रण धार्मीले बताउनुभयो । 

हप्ता दिन पुग्न लाग्यो यातायात बन्द हुँदा सदरमुकाम चैनपुरलगायत जिल्लाका विभिन्न बजारमा तरकारी र फलफूलको अभाव हुन थालेको छ । छिटो यातायात सञ्चालन हुन नसके खाद्यान्न र औषधिको पनि अभाव हुने व्यापारीले बताएका छन् । 

लगातार पानी परिहरहेको र पहिरो पन्छाउन पर्याप्त मात्रामा डोजर नभएका कारण बाटो खुलाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै केही ठाउँमा पहिरोले सडक नै भत्काएकाले सडक पुनः सञ्चालन हुनेबारेमा यकिन गर्न नसकिने प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । “प्रयास गरिरहेका छौँ कहिले खुल्छ भनेर यसै भन्न सकिन्न । एक÷दुई दिन अझै लाग्न सक्ने उहाँको अनुमान छ ।” 

जयपृथ्वी राजमार्गको समानान्तर हुने गरी निर्माण गरिएका शाखा सडकका कारण बर्खायाममा समस्या हुने गरेको डिभिजन सडक कार्यालयका प्रमुख ललिजन खनालले बताउनुभयो । उहाँले राजमार्ग कार्यालयसँग कुनै सल्लाह नगरी बनाइएका सडकबाट खसेको माटो र पहिरोका कारण राजमार्गको अवरुद्ध हुने गरेको खनालको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप