बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तानमा युद्धविरामले शान्तिको आशा बढाउँदै

मङ्गलबार, ०५ असार २०७५, १२ : ३३
मङ्गलबार, ०५ असार २०७५

एजेन्सी– अफगानिस्तान सरकारले गएको शनिबार घोषणा गरेको तालिबानसँगको युद्धविरामलगत्तै तालिबानहरुले पनि आइतबार युद्धविराम घोषणा गरे । 

तर पनि उनीहरुले आइतबार राति सकिएको समयावधि बढाउन भने मानेनन् । सरकारले भने आइतबार राति सकिने अवधि थप तीन दिन बढायो । 

तालिबानहरु सरकारले जस्तै युद्धविरामको अवधि बढाउन अफगान सरकार र संयुक्त राष्ट्रसंघले आग्रह पनि गर्यो । तर उनीहरुले त्यस आग्रह बमोजिम काम भने गरेनन् । 

त्यस्तै, युद्धविराम भङ्ग भएको भनेर कतै विज्ञप्ति वा कुनै सूचना पनि सार्वजनिक गरेनन् । 

तर पनि उनीहरुले इदका लागि भन्दै तीनदिने युद्धविरामको घोषणा गरेको घटनालाई पनि अफगानिस्तानमा एक आश्चर्यजनक रुपमा आएको निर्णयको रुपमा लिइएको थियो । 

त्यसैले पनि अफगानिस्तानका राष्ट्रपति असरफ गनिले टेलिभिजन सम्वोधनमार्फत् तीन दिन युद्धविराम समय बढाउदा उनीहरुबाट पनि कुनै निर्णय आउने अपेक्षा गरिएको थियो । 

सरकारले यो समय बढाएर मङ्गलबारसम्म पु¥याएको छ र आजका दिनसम्म पनि अफगान नागरिकमा शान्तिको आशा मरेको छैन । बरु यसले आशा जगाएको बताइएको छ । 

अफगान अधिकारीहरुका अनुसार तालिबानले इदका लागि गरेको यो दुर्लभ युद्धविराम हो । यसअघि उनीहरुले यस पर्वमा कहिल्यै युद्धविराम गरेका थिएनन् । 

अफगान सरकारले युद्धविरामको अवधि बढाएकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि स्वागत गरेका थिए । साथै उनले तालिबानहरुलाई पनि युद्धविरामको समयावधि बढाउन आग्रह गरेका थिए । 

यो परिस्थितिसँगै अफगानिस्तानमा पछिल्लो समयमा आएर शान्तिको आशा जागेको विश्लेषण पनि गर्न थालिएको छ । 

त्यहाँका राजनीतिक विश्लेषक भन्छन्– तालिबानले यसरी इदको नाममा सन् २००१ मा उनीहरुले सशस्त्र विद्रोह सुरु गरेपछि पहिलो पटक युद्धविराम गरेकोले उनीहरुमा शान्तिप्रति झिनो भए पनि सकारात्मक सोँच रहेको देखिन्छ । 

राजनीतिक विश्लेषक गुलाम साखी ऐसानीले भने– अबको घटना के कसरी अघि बढ्छ भन्ने बारेमा अहिले नै अनुमान गर्न त गाह्रो छ, तर पनि आगामी दिनका लागि यसले केही नरम अवस्था भने देखाएको छ । 

अफगानिस्तानको पूर्वी भूभागमा पनि पहिलो पटक अफगान सरकारी फौज र तालिबान लडाकूहरुले नै एकै स्थानमा इद मनाएका तस्बिरहरु आएका छन् । 

इदको समयमा देखिएका यी व्यवहारहरुले उनीहरु एक आपसमै पनि पहिलेको तुलनामा केही नजिकिएको रुपमा लिइएको विश्लेषकहरुको भनाई छ । 

यसले परिस्थिति केही नरम होला कि भन्ने लागेको उनीहरु बताउँछन् । यो पछिल्लो समयमा इदमा दुवै तर्फबाट सामुहिक रुपमा आदानप्रदान गरिएको सद्भाव र अभिव्यक्त विचारहरुले उनीहरुमा यस अघिको तुलनामा थप नजिक ल्याएको पाइएको हो । 

राजनीतिक विश्लेषक गुलाम भन्छन्– बाहिर आएका तस्बिर, भिडियो र इद मनाइएका समाचारहरुको आधारमा हेर्दा पनि दुवै पक्ष युद्धबाट थाकेको र आपसमा नजिकिन खोजेको देखिन्छ । 

त्यसैगरी तालिबान लडाकू र यता सरकारी सुरक्षाकर्मीहरुले पनि युद्धविरामको अवस्था लम्ब्याइदिए हुन्थ्यो भन्ने लागेको उनीहरुको मानसिकता पाइन्छ ।

तालिबानको पूर्वी प्रान्त नान्गाहारमा इद मनाउन पुगेका बाबा नाम गरेका एकजना तालिबान कमाण्डरले यो युद्धविरामको अवस्था अझै केही समय लम्बाउन सकिएमा यसले हामीलाई पनि राहात मिल्थ्यो भन्छन् । 

उनले भने– यदि हाम्रा कमाण्डरहरुले अबदेखि सरकारी सुरक्षा फौजसँग लड्नु पर्दैन भनेर सधैँलाई युद्धविरामको घोषणा गरिदिने हो भने हामीलाई त्यसले झन राम्रो हुनेछ, हामी खुसी नै हुनेछौँ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप