बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घरभन्दा अपार्टमेन्टमा क्रेज : बैंकहरुले दिए सहुलियतमा ऋण, कुन बैंकको कति छ ब्याजदर ?

मङ्गलबार, ०५ असार २०७५, १४ : ३१
मङ्गलबार, ०५ असार २०७५

काठमाडौँ । हाउजिङ तथा अपार्टमेन्टमा सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । पछिल्लो समयको बढ्दो व्यस्थताका कारण आम मानिसहरु आफैले भन्दा पनि आफूले चाहेको डिजाइनमा तयारी अवस्थाको घर तथा अपार्टमेन्ट खरिद गर्न चाहने एक्स्पोमा लागेको भीडले पनि प्रष्ट पार्छ । 

प्रोपर्टी एक्स्पोका संयोजक विपिन चित्रकारले अघिल्ला बर्ष भन्दा यस बर्ष अपार्टमेन्टमा मानिसहरुको बढी आकर्षण रहेको बताएका छन् । उनले अहिलेसम्म ५० भन्दा बढी हाउजिङ बुकिङ भइसकेको जनाएका छन् । मेलाको चौथो दिनसम्म ६० हजारले मेला भ्रमण गरिसकेका मेला संयोजक  चित्रकारले बताए । असार १ गतेदेखि शुरु भएको प्रोपर्टी एक्स्पोमा बुकिङ गर्नेले ३७ लाख मै अपार्टमेन्ट पाउनेछ । एक्स्पोको आज अन्तिम दिन हो । 

सिभिल होम्सको ४ दिनमा १४ वटा घर तथा अपार्टमेन्ट बुकिङ भइसकेको छ ।  सिभिल होम्सकी म्याजेनर कर्पोरेट सेल्स कामना थापाले अघिल्लो वर्षको एक्स्पोमा भन्दा यस बर्ष बढी ग्राहकको चाप बढेको बताउँछिन् । सिभिल  होम्सले ४५ लाखमा बेच्ने गरेको अपार्टमेन्टलाई मेला अवधिभरका लागि विशेष छुट सहित ३७ लाखमा दिइरहेको छ । मेलामा आफ्ना आपार्टमेन्ट र घरहरु नै सबैभन्दा सस्तो भएको थापाको दाबी पनि छ । यसको घर भने साढे एक करोड रुपैयाँमा पाइने उनले बताउँछिन् । सिभिल होम्सका घर तथा अपार्टमेन्ट बुकिङ गर्नेले सोही ठाउँमा बुकिङका लागि १० प्रतिशत रकम भुक्तानी गर्नुपर्छ । 
यता हात्तीबनमा रहेको क्लासिक टावरले पनि मेलामा बुकिङ गर्नेलाई ३ प्रतिशत नगद छुट दिएको छ । यसले ७५ लाख  देखि १ करोड २५ लाखसम्मका अपार्टमेन्टहरु बिक्रि गरिरहेको छ । यस्तै पद्मा कोलोनीले पनि मेलामा बुकिङ गर्नेलाई ५ प्रतिशत नगद छुट दिएको छ । तर, यसले ४० प्रतिशत रकम एक महिनाभित्र तिर्नुपर्ने प्रावधान राखेको छ । 

निकै भिड देखिएको डाउन टाउनको स्टलमा पनि धमाधम बुकिङ गर्नेहरु बढिरहेका छन् । डाउन टाउनले पनि एक्स्पोमा बुकिङ गर्नेलाई ३ प्रतिशत नगद छुट दिएको छ भने फर्निसिङ पुर्ण भएको घर पनि उपलब्ध गराएको छ । डाउन टाउन रेसिडेन्सीमा ३ प्रतिशत नगद छुट भएपनि अपार्टमेन्टमा भने ५ प्रतिशत छुट दिएको छ । यसले ५८ लाख देखि २ करोड ८० लाख सम्मका पेन्ट हाउसहरु उपलब्ध गराउनेछ । त्यसका लागि एक्स्पोमै बुकिङ गरेको हुनुपर्ने सेल्स मार्केटिङ अफिसर शुष्मा राइले बताइन । 

बैंकहरुको घरकर्जामा १०.३३ प्रतिशत देखि साढे १३ प्रतिशतसम्म ब्याज 

बैंकहरुले पनि सर्वसाधारणको आफ्नै घर तथा अपार्टमेन्ट बनाउने सपना पुरा गरिदिन सहुलियत ब्याजदरमा घर कर्जा उपलब्ध गराइरहेका छन् । एभरेष्ट बैंकले १०.३३ प्रतिशत देखि १०.८३ प्रतिशतसम्ममा घर कर्जा उपलब्ध गराउने जनाएका छन् । एभरेष्ट बैंकका प्रतिनीधि निरज श्रेष्ठले ५ वर्षको लागि लिएको ऋणका लागि १०.३३ प्रतिशत ब्याज र १५ वर्ष भन्दा बढी अवधिका लागि लिएको ऋणका लागि १०.८३ प्रतिशतसम्म ब्याज लिने बताए । उनले यो अफर असार १५ गतेसम्म रहने बताए । यसले प्रोसेसिङ चार्ज भने ०.७५ प्रतिशत लिनेछ । 

यता सनराइज बैंकले भने  साढे १३ प्रतिशतमा घर कर्जा दिइरहेको जनाएको छ । सुरक्षित घर कर्जा योजना अन्र्तगत उसले सेवा चार्ज भनेर ०.७५ प्रतिशत लिनेछ । यस्तै सिभिल बैंकले भने बेस रेटमै कर्जा उपलब्ध गराउने जनाएको छ । उसको बेस रेट अहिले १२.३६ प्रतिशत छ । उसको ५ देखि ३५ वर्षसम्मको अवधिको घरकर्जा हो । यस्तै एनएमबी बैंकको भने १३ प्रतिशत ब्याजदरमा होमलोन उपलब्ध हुने जनाएको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप