शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकतन्त्रवादी कम्युनिष्ट र शाकाहारी बाघ एउटै : देउवा

मङ्गलबार, ०५ असार २०७५, १६ : ४१
मङ्गलबार, ०५ असार २०७५

हेटौडा–नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टको हातमा लोकतन्त्र सुरक्षित हुन नसक्ने बताएका छन् । मकवानपुरको हेटौडामा आजबाट सुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्टहरु लोकतन्त्रवादी हुनै नसक्ने बताएका हुन् । 

‘कम्युनिष्टहरु लोकतन्त्रबादी हुन् भन्ने भ्रम बाघ साकाहारी हुन्छ भन्ने जत्तिकै हो’ देउवाको भनाई छ ।  उनले वर्तमान सरकार सर्वसत्तावादी चरित्र तर्फ उन्मुख भएको आरोप लगाउदै गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेको दावी समेत गरे ।

सभापति देउवाले पछिल्लो निर्वाचनमा पार्टीले पराजय भोग्नुको कारणबारे केन्द्रीय कार्य समितिमा गम्भीर र सुक्ष्म रुपले छलफल भएको भन्दै दुईटा ठूला कम्यूनिष्ट पार्टीहरुको चुनावी गठबन्धन नै हारको प्रमुख कारण भएको दोहोर्याए । 

उनले निर्वाचनमा एमाले र माओवादीको  गठबन्धनको सम्भावनालाई अनुमान गरेको भन्दै स्थानीय तहको पहिलो चरणको निर्वाचनमा केहि स्थानमा माओवादीलाई सहयोग गर्ने नीति लिँदा पार्टी भित्र र बाहिरवाट उत्पन्न  केहि जटिलता देखा परेको बताए ।

‘ठाउँ ठाउँमा अन्तरघात भएका गुनासा व्यापक छन् । अन्तरघात समेतका कुरा पनि पार्टी पराजयको कारण हुन् । यस विषयलाई पनि गम्भीरतापूर्वक हेर्न जरुरी छ’ लिखित भाषण पढेका देउवाले भने । 
उनले काङ्ग्रेसले एउटा लडाई हारेपनि मैदान नहारेको दावी गरे ।

‘यो संविधानका आधारभूत तत्व वा मूल विशेषताहरु नेपाली काग्रेसका आदर्शवाट निर्देशित छन । र यो संविधानको सफल कार्यान्वयनपनि हामीले नै गरेका छौ । यस अर्थमा हाम्रो बिचार जितेको छ । तसर्थ म साथीहरुलाई कमजोर मानसिकता होईन उच्च मनोबलका साथी अगडी बढ्न आव्हान गर्दछु’ देउवाको भनाई छ ।  

पार्टी भित्रबाट आएका असतुष्टिहरुबारे आफु जानकार रहेको भन्दै देउवाले त्यस्ता अभिव्यक्तिलाई आफुले स्वभाविक रुपमा लिएको बताए । ‘कतिपय कुराहरुलाई मैले  स्वभाविक रुपमा लिएको छु भने कतिपय कुरा अतिरंजित र अशोभनिय ढंगले पनि उठ्ने गरेका छन । पछिल्लो समयमा संविधानको निर्माण र कार्यान्वयन प्राथमिकताका विषय भएको हुदा मेरो र पार्टीको सम्पूर्ण ध्यान र उर्जा त्यस तर्फ केन्द्रीत भयो ।’ देउवाको भनाई थियो ।  

देउवाले केहि काम गर्न ढिलाई भएपनि महत्वपूर्ण काम अगाडी बढेको भन्दै आफ्ना लागि राष्ट्र, लोकतन्त्र र काग्रेस भन्दा प्रिय बस्तु अरु केहि नभएको बताए । उनले अहिले मुलुक थप संकटमा परेको छ भन्दै  सरकारको व्यवहार भाषणमा संघीयता र काममा कम्युनिष्टको जनवादी केन्द्रीयता तर्फ उन्मुख भएको बताए । के.पी ओलीको राष्ट्रवाद लम्पसारवादमा परिवर्तन भएकाले संविधानको संरक्षण गर्ने, देशलाई कम्युनिष्टको अधिनायकवादवाट जोगाउने जिम्मेवारी पनि काङग्रेसको काँधमा आएको देउवाले बताए 

उनले एकताबद्ध, संगठित र व्यवस्थित कांग्रेसले नै यी जिम्मेवारी बहन गर्न सक्ने भन्दै यस बारेमा आफु स्वयं गम्भीर भएको र सबै नेतालाई  गम्भीर हुन आग्रह गरे ।

संविधानले राज्यको शासकिय प्रबन्धमा परिवर्तन गरेको अवस्थामा पार्टीको बिधान परिवर्तन गर्न आावश्यक रहेकाले भन्दै उनले विधान संशोधन समिति गठन गरि विधान संशोधन गर्ने आश्वसन दिए । 

कार्यक्रममा बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवाले बारम्बार मिल्नुपर्छ र एकजुट हुनुपर्छ भन्ने गरेपनि व्यवहार त्यस्तो नभएको भन्दै देउवाको आलोचना गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप