बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँ घोषणापत्र जारी गर्दै सकियो विपद् जोखिम न्यूनीकरण सम्मेलन

बुधबार, ०६ असार २०७५, २० : ३७
बुधबार, ०६ असार २०७५

काठमाडौँ । विपद् जोखिम न्यूनीकरणसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँ घोषणापत्र जारी गर्दै आज यहाँ सम्पन्न भयो । 

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा कार्यरत विश्वका झण्डै १२ राष्ट्रका २०० भन्दा बढी विज्ञ सहभागी सम्मेलन विपद् जोखिम न्यूनीकरणका लागि घोषित विश्वव्यापी कार्य संरचनाका प्राथमिकतालाई क्रमैसँग कार्यान्वयन गर्न कार्ययोजना तयार गर्दै सम्पन्न भएको हो । 

कार्यसंरचनाले प्राथमिकतामा राखेका चार मुख्य विषयमा सरकारी, गैरसरकारी तथा वैज्ञानिक अनुसन्धान संस्थाबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने रहेको छ । सम्मेलनले लक्ष्य प्राप्तिका लागि कार्ययोजना तयार पारेको छ । 

विपद् जोखिम व्यवस्थापन, क्षति लेखाजोखाबाट संकटासन्नता लेखाजोखा, उद्धार तथा पुनःस्थापनाबाट जोखिम न्यूनीकरण गर्नेतर्फ अग्रसर हुने सम्मेलनको निष्कर्ष छ । गोरखा भूकम्पको २५ वर्षभित्र अर्थात् सन् २०४० भित्र सम्पादन गर्नुपर्ने गरी विपद् जोखिम न्यूनीकरणका नयाँ कार्यक्रमको विकास गरी कामको प्राथमिकीकरण र कार्यान्वयन गर्ने सम्मेलनको जोड रहेको छ । 

सम्मेलनले भूकम्प, बाढी पहिरो, आगलागीलगायत सबैखाले प्रकोपको व्यवस्थापन गर्न नेपाल सरकारको नेतृत्वमा १५ वर्षे थप नयाँ राष्ट्रिय कार्यक्रमको विकास गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । 

विपद्को समयमा खोज, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको कार्यलाई प्रभावकारी बनाउन सबै गाउँपालिका र नगरपालिकामा स्रोत केन्द्रको स्थापना गर्नुपर्ने र स्थानीय तहमा रहेका विपद व्यवस्थापन एकाइको प्रभावकारी कार्य सञ्चालन गर्न सम्मेलनले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । 

सम्मेलनले कम्तीमा पाँच प्रतिशत बजेट विपद् जोखिम न्यूनीकरणका लागि विनियोजन गर्न आग्रह गरेको छ । साथै विद्यमान संरचनालाई विपद्बाट जोगाउन सन् २०३५ सम्म रहेका ५० प्रतिशत विद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक भवनको प्रबलीकरण गर्ने गरी काम गर्ने सम्मेलनको निष्कर्ष छ । 

गृह मन्त्रालयको नेतृत्वमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) ले सम्मेलनको संयुक्त आयोजना गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले सम्मेलनले सबैखाले विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनमा दिशानिर्देश गरेको बताउए । नास्टमा भूकम्प प्रयोगशाला खोल्ने कुरा निकै महत्वपूर्ण भएको भन्दै उनले यसको कार्यान्वयन तत्काल हुने विश्वास व्यक्त गरे । 

निर्धारित समयमै पुनःनिर्माण सक्ने दाबी गर्दै प्रमुख कार्यकारी अधिकृत भुसालले नेपालको सफल पुनःनिर्माण विश्वलाई उदाहरण हुने विचार राखे । 

प्रतिष्ठानका उपकुलपति प्रा. डा. जीवराज पोखरेल सम्मेलनले ठूलो जिम्मेवारी सुम्पेको बताए । धेरै प्रकारका प्रकोपको जोखिममा नेपाल अब सुरक्षित भविष्य देख्न थालेको भन्दै उनले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा सम्मेलनले घोषणा गरेका प्रतिबद्धता कार्यान्वयन हुने विश्वास व्यक्त गरे । 

सम्मेलनको समापन गर्दै गृहसचिव प्रेमकुमार राईले हालै मात्र पारित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण ऐन र कार्ययोजना कार्यान्वयनमा सम्मेलनले निर्देश गरेको कार्ययोजना पूरक हुने बताए । 

केन्द्रदेखि स्थानीय तहसम्म बाध्यात्मक रुपमा लागू गरिने ऐनले विपद् जोखिम न्यूनीकरणका काम प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उनले विपद्सम्बन्धी ऐन पारित हुनु मुलुकको लागि उपलब्धि भएको बताए । विपद्का कारण समुदायस्तरमा हुनसक्ने क्षतिलाई न्यून गर्न सरकारले ठोस कार्ययोजना बनाउँदै गरेको जानकारी दिँदै सचिव राईले ऐन र कार्ययोजना कार्य संरचनासँग अन्तर्निहीत रहेको बताए । 

एनसेटका महासचिव डा आमोदमणि दीक्षितले सम्मेलन नेपाल आफैँले आयोजना गरेर विश्व समुदायलाई उदाहरण पेश गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप